टी–२० विश्वकप फाइनलमा बनेका रेकर्ड

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

१०औँ संस्करणको टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि जित्यो । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भारतले एकपक्षीय फाइनल बनायो । ब्याटिङ र बलिङमा भारत अब्बल रहँदा न्युजिल्यान्ड यसै पक्षमा पछाडि रह्यो । जसका कारण दोस्रोपटक फाइनल स्थान बनाउँदा पनि न्युजिल्यान्डले उपाधि जित्न असमर्थ रह्यो । भारत र न्युजिल्यान्डबिचको उपाधि भिडन्तपछि बनेका रेकर्डहरू यस्ता छन् । 

घरेलु मैदानमा पहिलोपटक च्याम्पियन
टी–२० विश्वकपको नवौँ संस्करणसम्म कुनै पनि घरेलु टोलीले विश्वकप उपाधि जित्न सकेन । तर, यसपटक आयोजक भारतले घरेलु मैदानमा विश्वकप उपाधि जित्यो । पहिलोपटक विश्वकपमा घरेलु मैदानमा ट्रफी जित्ने भारत नै पहिलो राष्ट्र बन्यो । यसैगरी, भारतले उपाधि रक्षा गर्ने तथा सर्वाधिक तीनपटक विश्वकप जित्ने रेकर्डसमेत आफ्नो नाममा लेखायो । भारतपछि विश्वकपमा इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपटक विश्वकप जितेका छन् । 

फाइनलमा २५० रनमाथि योगफल
विश्वकपको फाइनलमा पहिलोपटक पहिलो ब्याटिङ गरेको टोलीले २५५/५ को प्रदर्शन गरेको थियो । दोस्रो ब्याटिङ गर्ने टोलीले पहिलोपटक दुई सय ५० रनमाथिको लक्ष्य पाएको यो नै हो । गत संस्करणमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको थियो । भारतले आफ्नै रेकर्ड यसपटक भंग गरेको छ । विश्वकप इतिहासमा सबैभन्दा कम लक्ष्य पनि भारतले दिएको थियो । सन् २०१४ को विश्वकपमा भारतले पहिलो ब्याटिङ गरी श्रीलंकालाई १३१ रन प्रस्तुत गरेको थियो । श्रीलंकाले चार विकेट गुमाएर १३४ रन बनाएको थियो । 

जितको अन्तर धेरै 
भारतले न्युजिल्यान्डलाई ९६ रनले हराउँदै अर्को रेकर्ड राख्यो । सन् २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले निराश बनाएको थियो । विश्वकपको पहिलो संस्करणमा भारतले पाकिस्तानमाथि रोमाञ्चक पाँच रनको जित निकालेको थियो । समग्र १०औँ विश्वकपमा धेरै रनको जित अन्तरमा नामिबिया ९३ रनले पराजित भएको थियो । यसैगरी, आइतबार सकिएको विश्वकपमा भारतले लगातार तीन खेलमा २५० रनमाथिको योगफल खडा गर्न सफल भयो । फाइनलमा भारतका जसप्रित बुमराह दोस्रो स्पेल गर्ने बलर बने । उनले फाइनलमा उत्कृष्ट स्पेल राखेका हुन् । बुमराहले चार विकेट लिन १५ रन खर्चेका थिए । यसअघि सन् २०१२ मा श्रीलंका अजन्था मेन्डिसले वेस्ट इन्डिजविरुद्ध १२÷३ को प्रदर्शन गरेका थिए । मेन्डिसले उत्कृष्ट बलिङ गरे पनि श्रीलंका वेस्ट इन्डिजसँग पराजित भयो । 

नकआउटमा छिटो अर्धशतक
न्युजिल्यान्डविरुद्ध भारतले आक्रामक ब्याटिङ गरेको थियो । ओपनर अभिषेक शर्माले सुरुमा सञ्जु सामसनभन्दा धेरै बल खेलेका थिए । उनले केवल १८ बलमा अर्धशतकीय इनिङ्स खेले । टी–२० विश्वकपको नकआउट चरणमा कम बलमा अर्धशतक खेल्ने अभिषेक पहिलो ब्याट्सम्यान बनेका छन् । यसै विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकलाई नौ विकेटले हराउँदा फिन एलेनले १९ बलमा अर्धशतक लगाएका थिए । यसैगरी, दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डका ज्याकोब वेथेलले पनि भारतविरुद्ध १९ बलमै अर्धशतकीय इनिङ्स खेलेका थिए । उनीहरूको रेकर्ड अभिषेकले फाइनलमा तोडेका छन् । 

पावर प्लेमा ९८ रन
विश्वकपको फाइनलमा पावर प्लेमा विनाविकेट क्षति ९८ रन बन्यो । भारतका ओपनर अभिषेक र सञ्जुले सुरुको पावर प्लेमा सो रन बटुलेका हुन् । जुन एक रेकर्ड रह्यो । यसअघि सन् २००९ को फाइनलमा पाकिस्तानमा कमरान अकमल र साहिब हसनले श्रीलंकाविरुद्ध पावर प्लेमा ५० रन जोडेका थिए । विश्वकपको फाइनलमा ओपनरका रूपमा सर्वाधिक रन बनाउने सञ्जु नै बने । उनले न्युजिल्यान्डविरुद्ध ८९ रन बनाएका थिए । विश्वकपमा अभिषेकले चार अर्धशतकीय इनिङ्स खेले । 

लगातार ८० रनमाथि बराबरी
टी–२० विश्वकपमा दोस्रोपटक लगातार तीन खेलमा ब्याट्सम्यानले ८० रनमाथि जोड्ने रेकर्ड बराबरी गरेका छन् । भारतका ओपनर सञ्जुले श्रीलंकाली पूर्वखेलाडी महेला जयवद्र्धनेको रेकर्ड बराबरी गरेका हुन् । सञ्जुले सम्पन्न विश्वकपको सुपर ८ मा जिम्बावे, सेमिफाइनल र फाइनलमा ८० रनमाथिको योगफल जोडेका थिए । जयवद्र्धनेले सन् २०१० को विश्वकपमा लगातार तीन खेलमा ८० रनमाथि बटुलेका थिए । 
 

सुझावित समाचार