कांग्रेस सभापति थापा राजीनामा दिने मनस्थितिमा

उपसभापति शर्मासहित आफूनिकट बुद्धिजीवीहरूसँग परामर्श, एक–दुई दिनमै निर्णय सुनाउने

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनमा ‘सर्मनाक’ पराजयसँगै कांग्रेस सभापति गगनकुमार थापाले परिस्थितिको समीक्षा थालेका छन् । उनले सोमबार उपसभापति विश्वप्रकाश शर्मा तथा पार्टीका पदाधिकारीहरू र आफूनिकट बुद्धिजीवीहरूसँग परामर्श थालेका छन् । विशेष महाविधेशनपछि सभापति निर्वाचित भएर चुनावमा होमिएको र पार्टी हारको नैतिक दायित्व लिनुपर्ने निष्कर्षसहित थापाले राजीनामा गर्ने मनस्थिति बनाएको नेताहरूलाई सुनाएका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ कुल १६५ सिटमध्ये कांग्रेसले जम्मा १८ सिट जितेको छ । सभापति थापासहित सबै पदाधिकारी र वरिष्ठ नेताहरूले निर्वाचन हारेका छन् । 

‘सभापतिले पार्टीको अनपेक्षित परिणामको नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा गर्ने इच्छा सुनाउनुभएको छ । यसक्रममा उहाँले उपसभापति शर्मासहित पदाधिकारी र निकटस्थ बुद्धिजीवीहरूसँग एक्लाएक्लै छलफल गरिरहनुभएको छ,’ थापानिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘सभापति थापाले एक–दुई दिनभित्रै चुनावी समीक्षा र आफ्नो निर्णय सुनाउने सम्भावना छ ।’ यद्यपि, उनीनिकट नेताहरूले अहिले नै राजीनामा दिनु उपयुक्त नभएको भन्दै केन्द्रीय कार्यसमिति बैठक बोलाएर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । 

‘पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेर चुनावको समीक्षा गर्ने कुराकानी भइरहेको छ । सभापतिसहित सबै नेताहरूले त्यहीँ समीक्षा गर्नेछौँ र आगामी समयका लागि निर्णय लिनेछौँ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने । स्रोतका अनुसार सभापति थापाले पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा दिने र उपसभापति शर्मालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर नियमित महाधिवेशन गर्ने प्रस्ताव राख्ने विकल्पमा पनि समीक्षा गरिरहेका छन् । उनीनिकट एक नेताले भने, ‘उहाँले राजीनामा घोषणा गर्ने होइन, यदि इच्छा नै हो भने केन्द्रीय कार्यसमिति बैठकमा राजीनामाको प्रस्ताव राख्नुपर्छ, केन्द्रीय समितिले स्वीकार गरेछ भने ठिकै छ, स्वीकार भएन भने उहाँले जिम्मेवारीबाट पन्छिन मिल्दैन भनेका छौँ ।’

पार्टीको विशेष महाविधेशनको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भने निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै समीक्षा गर्नुपर्नेमा जोड दिन थालेका छन् । देउवानिकट नेता एवं नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले भनेका छन्, ‘विशेष महाधिवेशनको औचित्य त समाप्त भयो, तर यसले एउटा कुरा छर्लंग देखायो राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ ।’

 विशेष महाधिवेशनसँगै १ माघमा थापा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । निर्वाचित भएको ५० दिनको समयमा प्रतिनिधिसभा निर्वाचनमा जानुपरेका कारण समयको अभावले कांग्रेस बदलिएको सन्देश दिन नसकिएको निकटवर्ती नेताहरूको धारणा छ । उपसभापति शर्माले गत साता सार्वजनिक दुईवटा भिडियो सन्देशमा पार्टीले चुनावमा व्यहोरेको हारको कारक वर्तमान नेतृत्व नभएर निवर्तमान नेतृत्वले पनि जिम्मा लिनुपर्ने र सँगै समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् । 

सुझावित समाचार