न्युजिल्यान्डका क्रिकेटर जिमी (जेम्स) निशमले नेपाल प्रिमियर लिग (एनपिएल)को टिम पोखरा एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट हटाएका छन्। आइतबार उनले ‘कुल, पे योर प्लेयर्स’ भन्दै पारिश्रमिक अझै नपाएको संकेत गरेका थिए।
आइतबार भएको टी–२० विश्वकपमा भारतविरुद्धको खेलमा निसमले एकै ओभरमा तीन विकेट लिएका थिए। जसको प्रशंसा गर्दै पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। जसमाथि कमेन्ट गर्दै निसमले पारिश्रमिक दिन भनेका थिए। जुन अहिले उनले हटाएका छन् ।
निसमको कमेन्टपछि क्रिकेटप्रेमीहरूले पोखराप्रति चित्त दुखाएका थिए।
घटना के हो ?
निसम यो वर्षको एनपिएलमा पोखरा एभेन्जर्सबाट खेलेका थिए। नेपालको झन्झटिलो कानुनी प्रक्रियाका कारण अहिलेसम्म उनले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन्। नेपाल क्रिकेट संघका एक अधिकारीका अनुसार विदेशी खेलाडीलाई पारिश्रमिक दिनेसम्बन्धी फाइल अझै नेपाल खेलकुद परिषदमा अल्झिएको छ।
पोखरा एभेन्जर्सले ग्लोबल आइएमई बैंकमार्फत भुक्तानी दिने प्रक्रिया अघि बढाएको थियो। त्यसका लागि राष्ट्र बैंकले अनुमति दिनुपर्ने थियो। राष्ट्र बैंकले त्यसमा राष्ट्रिय खेलकुद परिषद्को सहमति खोज्यो । यसरी विभिन्न निकायबिच तालमेल नहुँदा विदेशी खेलाडीको पारिश्रमिकमा ढिलाइ भएको हो। खेलकुद परिषद्बाट अझै राष्ट्र बैंकमा पत्र नजाँदा भुक्तानी प्रक्रिया लम्बिएको हो ।
सोही अन्सन्तुष्टि निसमले आइतबार इन्स्टाग्राम पोस्टमा कमेन्टमार्फत पोखेका हुन्। पछि वास्तविकता बुझेपछि उनले कमेन्ट हटाएका छन्।
पोखरा एभरेन्जर्सका मालिक सुबोध त्रिपाठीले पनि सरकारी निकायहरूको प्रक्रियागत ढिलाइकै कारण विदेशी खेलाडीको पारिश्रमिक भुक्तानीमा ढिलाइ भइरहेको बताएका छन्।