चित्रबहादुरको जिल्ला : न जोगियो विरासत र न जोगियो जमानत

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपाली राजनीतिक इतिहासमा चर्चित पात्र हुन् । उनको फरक छविका कारण नेपाली राजनीतिमा उनले उठाएका मुद्दालाई चर्चाकै रूपमा लिने गरिन्थ्यो । संसद् होस् वा सडक जहाँ पनि चित्रबहादुर आफ्ना मुद्दाप्रति अडान राख्दै आएका पात्र हुन् । 

अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धनको साथ पाएर बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचन भई संसद् छिरेका केसी भने यसपटक निर्वाचनमा होमिएनन् । उनले आफ्ना विश्वासपात्र कृष्णप्रसाद शर्मा अधिकारीलाई टिकट दिएर पठाए आफू समानुपातिकमा बसे । केसीले पाठकलाई जिताउनका निम्ति बागलुङमा मात्र नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन नै गरे ।

 जनमोर्चाले आधार इलाका मान्दै आएको बागलुङमा  निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चाबिच गठबन्धन भएको थियो । क्षेत्र नम्बर १ मा आफ्ना विश्वासपात्र अधिकारीलाई सघाउनका निम्ति उनको पार्टी राजमोले क्षेत्र नम्बर २ मा नेकपाका ज्ञामनाथ गैरेलाई सघाउने निर्णय गर्याे र निर्वाचनमा होमियो । तर, देशभरि चलेको रास्वपाप्रतिको नागरिकको जनविश्वास भनौँ या हुरीले बागलुङ १ लाई पनि छोयो । रास्वपाका उम्मेदवार सुशील खड्काले निर्वाचन जिते । 

जित निकाल्ने आसमा थिए, तर जमानत पनि जोगाउन सकेनन् 

नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धीको रूपमा रहेको यस क्षेत्रमा रास्वपाले आफ्नो बाजी मारेसँगै राजमोका उम्मेदवार चौथो मात्र बनेनन् उनको जमानत नै जोगिन सकेको छैन । नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना ११ हजार ९४४ मत पाएर दोस्रो भए ।

निर्वाचन नै जित्ने लक्ष्य लिएको नेकपा एमालेका हिराबहादुर केसीले आठ हजार ६४० मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउनुपर्याे भने नेकपा–जनमोर्चा गठबन्धनका राजमोका कृष्ण अधिकारी चार हजार ५२१ मत प्राप्त गरी पाँचाैँ स्थानमा चित्त बुझाउन बाध्य भए । लामो समय चित्रबहादुरकै सचिवालयमा बसेर काम गरेका अधिकारी दुई पार्टीसँग मिल्दा जित निकाल्ने आसमा थिए, तर जमानत पनि जोगाउन सकेनन् । 

कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने व्यवस्था छ । यस क्षेत्रमा ४७ हजार ६१ सदर मत थियो । जमानत जोगाउन कम्तीमा पनि चार हजार ७०७ मत आवश्यक पर्दछ । केसीको आधार इलाकाको रूपमा रहेको यस क्षेत्रमा जमानतसमेत जफत हुँदा राजमोको संगठन अब बिस्तारै कमजाेर हुँदै गएको चर्चा चल्ने गरेको छ । अघिल्लो निर्वाचनमा बलियो शक्ति मानिने कांग्रेससँगको गठबन्धनमा बागलुङ १ बाट जित हात पारेका चित्रबहादुर यसपटक चुनावी ‘रेस’भन्दा बाहिर रहे । यद्यपि, उनको समानुपातिक सूचीमा नाम छ । अघिल्लोपटक नै समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन नसकेको जनमोर्चालाई यसपटक पनि हम्मेहम्मे पर्ने देखिएको छ । 

समानुपातिकतर्फ पनि राजमो पाँचौँ स्थानमा

जनमोर्चाको गढको रूपमा रहेको बागलुङमा समानुपातिकतर्फ पनि राजमो पाँचौँ स्थानमा रहेको छ । जिल्लाका दुईवटै क्षेत्रमा ६ हजार ८३५ मत प्राप्त भएको छ । हालसम्म कुल  २७ हजार ९२७ मत जनमोर्चाले ल्याएको छ । अझै केही बढ्ने भए तापनि थ्रेस ‘थ्रेसहोल्ड’ कटाउन भने मुस्किल नै देखिन्छ ।  दुई पार्टी मिल्दा पनि जमानत जोगाउन नसक्दा जनमोर्चाको राजनीतिक भविष्य कतातिर जाला भन्ने प्रश्न उठ्न थालेको छ । पकड मानिएकै क्षेत्रमा जमानत जफत हुनुले जनमोर्चाको तल्लो तहसम्मै तरंग पैदा भएको छ ।

राजमोको इतिहास र अहिलेको अवस्था 

०५१ सालदेखि नै राष्ट्रिय जनमोर्चा चुनावमा होमिँदै आएको पाइन्छ । ०५१ र ०५६ को निर्वाचनमा जनमोर्चाले बागलुङका तत्कालीन तीनवटा क्षेत्रमध्ये राजमोले नै जित र प्रतिस्पर्धीको रूपमा रहेको थियो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट राजमोका चित्रबहादुर केसीले निर्वाचन जितेका थिए भने ०८० को दोेस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिकमा बसेर राजेन्द्र ढुंगानालाई चुनावमा होमाए ।

कांग्रेसका प्रकाश शर्मा पौडेलसँग उनी पराजित भए । समानुपातिकबाट सांसद भएका केसी ०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री भएका थिए । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको बलमा अन्तिमपटक संघीय सांसद बनेका चित्रबहादुरलाई अब संसदमा देख्न पाउने सम्भावना न्यून छ । यसपटक प्रत्यक्ष निर्वाचनबाट भागेका उनको समानुपातिक सूचीमा नाम छ । तर, यसपटक राजमोले ‘थ्रेसहोल्ड’ कटाउन नसकेमा संसदमा प्रतिनिधित्व हुनेछैन । 

बागलुङका दुई क्षेत्रमा १६ उम्मेदवारको जमानत जफत

बागलुङ क्षेत्र नम्बर १ मा यसपालि ११ जना उम्मेदवार थिए । त्यसमध्ये आठ उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेपछि जनमोर्चा, राप्रपा, श्रम संस्कृति पार्टी, प्रलोपा, नेसनल रिपब्लिक नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल मानवतावादी पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।

राप्रपाका कल्याणविक्रम आचार्यले ५२३, श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४, प्रलोपाका चित्र सापकोटाले ६०, मंगोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी रानाले ४०, नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का टेकबहादुर केसीको ८०, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विकले २४ मत पाएका छन् । यस क्षेत्रमा ९८ हजार ४६ मतदाता थिए । त्यसमध्ये ४८ हजार ९३२ मत खसेको थियो ।  जसमा कुल ४८ हजार ३७३ मत सदर भएकाे थियाे भने एक हजार ४१७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए । 

बागलुङ क्षेत्र नम्बर २ मा पनि आठजनाको जमानत जफत भएको छ । राप्रपाका अञ्चल शाहीले २४०,  प्रलोपाका पदमबहादुर कुँवरले ४२, मंगोल नेसनल अर्गनाइजेसनका जुनबहादुर थापामगरले २१,  नेपाल मानवतावादी पार्टीका टेकबहादुर कामीले ७४, नेपाल रिपब्लिक नेपालका नरबहादुर बुढाले १९७, श्रम संस्कृति पार्टीका हर्कबहादुर बुढाले ५६०, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले ७८ र  जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती मगरले ३९० मत प्राप्त गरेका छन् । यी सबै उम्मेदवारको जमानत जफत भएको छ । 

यस क्षेत्रमा रास्वपाका सोम शर्मा १२ हजार १४३ मत प्राप्त गरेर विजयी भएका छन् भने नेपाली कांग्रेसका टेकराज पौडेल ११ हजार ५९५ मत प्राप्त गरेर दोस्रो भएका थिए । झिनो मतान्तरले पराजय भोग्नुपर्ने पौडेल देशभरकै दश उम्मेदवारभित्र पर्दछन् । त्यसैगरी नेकपाका ज्ञाननाथ गैरे १० हजार १८९ मत प्राप्त गरेर तेस्रो भएका छन् भने नेकपा एमालेका मञ्जु शर्मा चालिसे सात हजार ६२७ मत प्राप्त गरेर चौथो भएकी हुन् । 

बागलुङमा समानुपातिकमा रास्वपा पहिलो
बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो भएको छ । रास्वपाले कुल  ३७ हजार १२३ मत प्राप्त गरेकाे छ । त्यसैगरी २१ हजार ४९५ मत प्राप्त गरेर नेपाली कांग्रेस दोस्रो भएको छ भने १४ हजार १५१ मत प्राप्त गरेकाे नेकपा एमाले जिल्लामा तेस्रो भएको छ । समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टीले नाै हजार ११३ मत प्राप्त गरेको छ भने नयाँ दल श्रम संस्कृति पार्टीले पनि एक हजार ५६६ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले एक हजार २१७ मत प्राप्त गर्दा प्रलोपाले ४२५ मत प्राप्त गरेको छ । 

सुझावित समाचार