काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई विदेशी नागरिकसँग वित्तीय कारोबार नगर्न निर्देशन दिएको छ।
सोमबार जारी सूचनामा सहकारी ऐन, २०७४ तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य बन्न सक्ने व्यवस्था रहेको स्मरण गराइएको छ।
केही सहकारी संस्थाले विदेशी नागरिकलाई सदस्य बनाएर वित्तीय कारोबार गरेको भन्ने उजुरी आएपछि महानगरपालिकाले यस्तो निर्देशन जारी गरेको हो।
कानुनविपरीत गतिविधि तत्काल रोक्न र व्यवस्था पालना गर्न आग्रह गर्दै महानगरपालिकाले निर्देशन पालना नगरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ।