सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षा उत्कृष्ट ढंगले पूरा गरेकोमा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारी तथा मातहत इकाइहरूलाई धन्यवाद दिएका छन्।
सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा उपस्थित विभाग प्रमुख, अनुगमनमा परिचालन भएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्ष तथा उपरीक्षक र भर्चुअल माध्यमबाट सबै प्रदेशका बाहिनीपति एवं सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुख तथा सबै तहका कर्मचारीहरूलाई अर्यालले धन्यवाद दिएका हुन्।
उनले सशस्त्र प्रहरी बल नेपाल अनुशासन, इमानदारिता र देशलाई परेको समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी काम गर्नुपर्छ भन्ने सोच र भावन लिएर अघि बढेको बताउँदै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा उत्कृष्ट ढंगले पूरा गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गरे।
महानिरीक्षक अर्यालले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा फौजका लागि अग्निपरीक्षाजस्तो भए पनि सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूको पेसागत दक्षताको समेत उच्च मूल्यांकन रहेको बताए।
सो अवसरमा उनले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत जुनसुकै दर्जाका कर्मचारीहरुले आचरणविपरीत कुनै पनि कार्य नगर्न निर्देशन दिँदै संगठनको बर्दी लगाएर संगठनविरुद्ध हुने कुनै पनि कार्य सैह्य नहुने प्रस्ट पारे।
महानिरीक्षक अर्यालले संगठनको तटस्थ छवि उच्च बनाउन संगठनमा कार्यरत कर्मचारीहरूको भूमिका उल्लेखनीय रहने बताउँदै जुनसुकै समयमा सीमामा परिचालित हुँदा सम्बन्धित सरोकारवाला निकाय तथा समकक्षीहरूसँग समन्वय गर्नसमेत निर्देशन दिए।
उनले चुनावी अनुगमनमा खटिएका सशस्त्र प्रहरी अधिकृतहरूले अनुगमनको समयमा भए गरेका कामकारबाहीको प्रतिवेदन पेस गर्न तथा सोही प्रतिवेदनबाट आगामी निर्वाचनमा हुन सक्ने कमी–कमजोरीलाई प्रधान कार्यालयले नियमित रूपमा अनुगमन गरी सहज ढंगले अघि बढाउने बताए।