धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । सम्पन्न अन्तिम मतपरिणामअनुसार एमालेले समानुपातिकतर्फ १६ हजार ५६७ मत ल्याएको छ ।
धनकुटा एमालेले प्रत्यक्षतर्फ पनि जितेको जिल्ला हो । एमालेका राजेन्द्र राईले प्रत्यक्षतर्फ १८ हजार १३२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ तेस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ दोस्रो दल बनेको छ । रास्वपाले धनकुटाबाट समानुपातिकतर्फ १४ हजार ६७९ मत पाएको छ ।
देशभर विजयको लहर ल्याएको राष्ट्रिय स्वतनत्र पार्टीका दिनेश भण्डारीले प्रत्यक्षतर्फ नाै हजार ९४४ मत मात्र पाएका थिए । त्यस्तै, प्रत्यक्षतर्फ तेस्रो दल बनेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ १३ हजार ६९० मत पाउँदै तेस्रो दल बनेको छ । प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत प्राप्त गरेका थिए ।
यता प्रत्यक्षतर्फ नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्दै दोस्रो दल बनेको थियो । तर, समानुपातिकतर्फ भने आठ हजार ६५१ मत मात्र प्राप्त गरी चौथो दलमा खुम्चिएको छ । प्रत्यक्षतर्फ निक्कै कम मत ल्याएको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ पनि उत्तिकै कम मत ल्याएको छ । नेकपाले एक हजार ६३४ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २०५ मत पाएको छ भने जनता समाजवादी नेपालले एक हजार ३६ मत प्राप्त गर्दै क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन् ।