पेरुका अन्तरिम राष्ट्रपति जोसे जेरीलाई पदभार ग्रहण गरेको चार महिनामै फेब्रुअरीमा देशको संसद्ले पदमुक्त गर्यो । घोटालाका धेरै काण्ड बाहिरिएपछि उनलाई बर्खास्त गरी वर्तमान अन्तरिम राष्ट्रपति जोसे मारिया बालकाजार नियुक्त भएका थिए । कार्यकाल पूरा गर्नुअघि नै पदबाट हटाइएका पेरुका राष्ट्रपतिको सूचीमा जेरी पछिल्ला नेता हुन् । अप्रिल १२ मा हुने आगामी आमचुनाव हुन करिब दुई महिना बाँकी हुँदा उनलाई पदच्युत गरिएको थियो ।
राष्ट्रपति पदका लागि प्रतिस्पर्धी दल र उम्मेदवारको कीर्तिमानी संख्याका लागि यो चुनाव उल्लेखनीय छ । देशको सर्वोच्च पदका लागि कम्तीमा ३६ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउने सम्भावना कम छ । निर्वाचन एकभन्दा बढी चरणमा हुने देखिन्छ ।
जेरीको बर्खास्ती र राष्ट्रपतिका उम्मेदवारहरूको कीर्तिमानी संख्या संयोग होइनन् । बरु, तिनीहरू गहिरो संस्थागत संकटका लक्षण हुन् । विगत एक दशकमा पेरुको राजनीतिक परिदृश्यलाई अस्थिरताले परिभाषित गरेको छ, किनकि लगातार सांसद सदस्य र राष्ट्रपतिहरू सत्ताका लागि संघर्षमा फसेका छन् । यसका कारण आमसर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यो निरन्तर रस्साकस्सीलाई कसरी व्याख्या गर्न सकिन्छ ?
सन् २०२१ मा पेरुको अन्तिम चुनावपछि आफ्नो कार्यकाल पूरा नगर्ने जेरी तेस्रो राष्ट्रपति थिए । उनका पूर्ववर्ती दिना बोलुआर्टेलाई भ्रष्टाचार र अनैतिकताको अरोपबिच अक्टोबर २०२५ मा कंग्रेसले पदच्युत गरेको थियो । आर्थिक अनियमितता गरेको र अकुत सम्पत्ति कमाएको उनीमाथि अरोप लागेको थियो । उनीभन्दा पहिले २०२१ मा निर्वाचित राष्ट्रपति पेड्रो कास्टिलोलाई पनि विभिन्न अभियोग लगाएर पदबाट हटाइएको थियो । पछि उनलाई कारागारमा राखिएको थियो । द्रुत राष्ट्रपति परिवर्तनको यो ढाँचा अभूतपूर्व छैन, २०११–१६ को अवधिमा चार राष्ट्रपतिले पनि उनीहरूका अग्रजले पदावधि पूरा नहुँदै पद सम्हालेका थिए । तसर्थ, पेरुमा राष्ट्रपतिको कार्यकाल र पदावधि सकिएपछिका दिन खासै सुखद देखिँदैन । सबै राष्ट्रपतिको नियति प्राय: एउटै देखिन्छ, सेवाअवधि पूरा नहुँदै पदमुक्त हुनु र विभिन्न अभियोगको भागिदार बन्नु । लामो समयदेखि चलिरहेको अस्थिरता मुख्यतया तीन मुख्य संयन्त्रका कारणले भएको देखिन्छ– सामाजिक विखण्डन, राजनीतिक मतभेद र असाधारण उपायको सामान्यीकरण ।
पेरुभियन समाजले धेरै साझा भावना र मूल्य–मान्यता गुमाएको छ । कुनै वेला साझा विचारका कारण विद्यमान राजनीतिक द्वन्द्वलाई अन्त्य र प्रतिनिधित्वलाई व्यवस्थित गर्न सहयोग गर्यो । वर्गमा आधारित पहिचान तथा दक्षिणपन्थी र वामपन्थी कित्ताले समाजलाई निरन्तर क्षयतर्फ पुर्याएको छ । समाजमा प्रतिस्पर्धी पहिचानहरूको खण्डित परिदृश्य देखा परेको छ– क्षेत्रीय, लैंगिक, जातीय र पेसागत । यो सामाजिक खण्डीकरण राजनीतिक खण्डीकरणले प्रतिबिम्बित गर्छ । पेरुको पार्टी प्रणालीमा प्रतिनिधि र मतदाताबिच कमजोर सम्बन्ध देखिन्छ ।
कंग्रेस सदस्यले बढी अवसरवादी व्यवहार गरेका कारण राजनीतिले काम गर्ने तरिका परिवर्तन भएको छ, यद्यपि उनीहरूलाई थाहा छ कि मतदातासँगको कमजोर सम्बन्धका कारण उनीहरूको करियर राम्रो हुनेछैन । पछिल्लो दशकमा संसद् प्रमुख नेतालाई निन्दा गर्नेजस्ता माध्यममा निर्भर छ । फलस्वरूप, राजनीतिक द्वन्द्व अब वार्ता वा चुनावी चक्रमार्फत समाधान हुँदैन, बरु संस्थागत विघटनमार्फत समाधान हुन्छ ।
यसले लोकतान्त्रिक प्रक्रियालाई धक्का दिनेछ, जसको अर्थ प्रजातान्त्रिक संस्थालाई कमजोर बनाउनु हो । हामी संघर्षरत लोकतन्त्रलाई त्यस्ता देशका रूपमा सोच्छौँ, जहाँ नेताहरू बढ्दो रूपमा निरंकुश हुन्छन् र आफ्नो शक्ति बढाउन खोज्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसका राम्रा उदाहरण हुन् । आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै उनले राजनीतिक विरोधीलाई आक्रमण गर्न, आप्रवासन दमन सुरु गर्न र शुल्क लगाउन विभिन्न सरकारी संस्थालाई हतियार बनाएका छन् ।
राजनीतिक विखण्डन र निन्दाजस्ता चरम उपायको सामान्यीकरणका कारण पेरु एक व्यक्तिको हातमा शक्ति केन्द्रित हुनबाट पीडित छैन । बरु, देशले जनताको हितको प्रतिनिधित्व गर्न छाडेका दलहरूसँग सम्बन्धित राजनीतिज्ञको हातबाट शक्तिको क्षयीकरणको अनुभव गरिरहेको छ ।
कुनै निरकुंशका कारणले होइन, बरु यसको समर्थनबाट खोक्रो हुँदै गएका कारण लोकतन्त्रको क्षय भइरहेको छ । निकट भविष्यमा यो अवस्थामा धेरै परिवर्तन देख्ने सम्भावना कम छ । लोकतान्त्रिक मूल्य–मान्यताका लागि आवश्यक पर्ने धेरै तत्व आज पेरुमा छैनन् । उदाहरणका लागि हामी साधन सम्पन्न नागरिक समाजको समर्थनमा बलियो र लोकतन्त्र समर्थक गठबन्धनको चुनाव देख्न असम्भव छ । राष्ट्रपति पदका लागि उम्मेदवारको कीर्तिमानी संख्या र अत्यधिक विभाजित मतदातासँगै आसन्न राष्ट्रपति निर्वाचनले पेरुका विद्यमान राजनीतिक तथा सामाजिक समास्या समाधान गर्ने देखिँदैन ।
पेरुभियाली राज्यले वैधताको संकटको सामना गरिरहेको छ, धेरैजसो नागरिकले सरकारमाथि अविश्वास गर्छन् । यसले सार्वजनिक हितको सट्टा राजनीतिक र आर्थिक अभिजात वर्गलाई प्राथमिकता दिन्छ भन्ने आममानिस विश्वास गर्छन् । अर्को चुनाव र अर्को राष्ट्रपतिले पेरुको मुख्य समस्या समाधान गर्ने सम्भावना छैन । प्रतिनिधित्व र जवाफदेहिताको संयन्त्र पुनर्निर्माण नगरी सम्पन्न गरिने चुनावले अस्थिरता मात्र बढाउने निश्चित छ ।
सिनोटे म्याकगिल विश्वविद्यालयमा राजनीतिशास्त्रमा विद्यावारिधि गर्दै छन् ।
द कन्भर्सेसनबाट