जरायल–अमेरिकाले इरानमाथि गरेको आक्रमणले अहिले पूरै मध्यपूर्व अशान्ति डुबेको छ । तेहरानबाट सुरु भएको तनाव अहिले फैलिएर अबुधाबी, दोहा, कुवेत सिटी, मनामा र बेरुतलगायत अधिकांश अरब देशसम्म पुगेको छ । अरब प्रायद्वीप र फारस क्षेत्रलाई द्वन्द्वको लहरले लपेट्दा यमन भने अझै शान्त देखिन्छ । यसले, धेरैलाई आश्चर्यचकित बनाएको छ । उत्तर–पश्चिमी यमनमा शासन गरिरहेको हुथी आन्दोलन इरानको सहयोगी शक्ति हो । यसअघि अक्टोबर २०२३ मा गाजामा इजरायलको नरसंहार युद्ध सुरु भएपछि सो समूहले अमेरिका र इजरायली लक्ष्यमा बारम्बार आक्रमण गरेर चर्चामा आएको थियो ।
तर, फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायली आक्रमण सुरु भएको एक साता बित्दासमेत हुथी समूहले तेहरानप्रति आफ्नो समर्थन जनाउने र आक्रमणको निन्दा गर्नेबाहेक खासै कुनै कदम चालेको देखिएको छैन । तथापि, युद्ध लम्बिँदै जाँदा उनीहरू अझै द्वन्द्वबाट टाढा रहिरलान् कि युद्धमा सहभागी होलान्, अहिले अनिश्चित छ । विश्लेषकले हुथी समूह आगामी दिनमा युद्धमा तानिने सम्भावना उच्च रहेको बताएका छन् । यसको हालको संयम दीर्घकालीन रणनीतिको अंश हुन सक्छ ।
‘हुथी जारी युद्धमा संलग्न हुने सम्भावना कायमै छ । सम्भवत: यो चरणबद्ध तनाव वृद्धिका क्रममा द्वन्द्वमा सहभागी हुन सक्छ,’ द्वन्द्व अनुगमनकर्ता एसिएलइइडीका यमन तथा खाडी क्षेत्रसम्बन्धी वरिष्ठ विश्लेषक लुका नेभोलाले भने, ‘अहिलेसम्मको चरणमा भने हुथीको मुख्य प्राथमिकता प्रत्यक्ष अमेरिकी र इजरायली प्रतिशोधबाट बच्नु नै रहेको देखिन्छ ।’
गत अगस्ट महिना इजरायली हवाई आक्रमणले राजधानी सानामा हुथी समूहका प्रधानमन्त्री अहमद अल–राहवी र चिफ अफ स्टाफ मोहम्मद अल–घुमारीसहित कम्तीमा १२ उच्चपदस्थ हुथी सरकारी सदस्य मारिएका थिए । यो अमेरिका र इजरायलसँगको टकरावको क्रममा समूहले भोगेको सबैभन्दा ठुलो क्षतिमध्ये एक थियो । उक्त आक्रमणलगायत गत वर्ष भएका अन्य आक्रमणका कारण हुथी नेतृत्व आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा भारी हवाई अभियानको जोखिम उठाउन सतर्क देखिन्छ । ‘हुथी समूह अहिले इजरायली गुप्तचरको नेतृत्व मार्ने अभियानबाट डराएजस्तो देखिन्छ,’ नेभोलाले भने ।
गत वर्ष हुथी समूहले भोगेको क्षतिका बाबजुद यो यमनमा अझै बलियो शक्ति रहेको छ, जसले अझै विरोधीमाथि आक्रमण गर्न सक्छ । ‘यदि हुथीहरूमाथि पहिले अमेरिका वा इजरायलले आक्रमण गरे उनीहरूले आक्रमण पुन: सुरु गर्ने सम्भावना छ,’ नेभोलाले भने । हाल हुथी समूहका प्रमुख अब्देल–मलिक अल–हुथीले यसै साता ‘यमन इस्लामिक गणतन्त्र इरान र मुस्लिम इरानी जनताको साथ स्पष्ट रूपमा उभिएको’ बताएका थिए । उनले युद्ध विस्तार गरिए आफूहरूको हात पनि ‘बन्दुकको ट्रिगरमा तयार रहेको’ भनेका थिए ।
पर्ख र हेर रणनीति
यमनी राजनीतिक टिप्पणीकार सदाम अल–हुरैबीले भने, ‘तेहरान एकैचोटि आफ्ना सबै कार्ड प्रयोग गर्न चाहँदैन । युद्ध लम्बिने सोचका साथ तेहरानले यमनलाई आगामी चरणका लागि बचाउने लक्ष्य राखेको हुन सक्छ । युद्धमा हुथीहरूको प्रवेश निश्चत छ, खालि समयको कुरा मात्र हो । यदि इरानमाथि इजरायली–अमेरिकी आक्रमण रोकिएन भने यमनी समूह अनन्तसम्म चुप लागेर बस्नेछैन । हुथीहरू राजधानी साना र वरपरका आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा युद्धको तयारी गरिरहेका छन् ।’
हुथीहरू अझै पनि लालसागर क्षेत्रमा आक्रमण गरेर त्यस क्षेत्रको समुद्री आवागमनमा अराजकता सिर्जना गर्न सक्षम छन् । यसअघि गाजालाई समर्थन जनाउँदै तिनले त्यस समुद्री रुटमा चल्ने जहाजमा बारम्बार आक्रमण गरेका थिए । साथै उनीहरूले इजरायलसम्म ड्रोन र मिसाइल प्रहार गर्न सक्छन् । ‘सम्भवत: फेरि पनि उस्तै कदम चालिनेछ । तर, आक्रमण हुथी र इरानले उपयुक्त लागेको समयमा सुरु हुनेछ,’ अल–हुरैबीले भने । नोभोला पनि यस विषयमा अल–हुरैबीको विश्लेषणमा सहमति छन् । ‘अहिले हुथी समूहबाहेक इराननजिकका सबै क्षेत्रीय समूह अमेरिका र इरानको प्रत्यक्ष आक्रमणमा परेका छन् । यस्तोमा यमनलाई इरानले पछिको आक्रमण सुनिश्चित गर्न साँचेको हुन सक्छ । अथवा, हुथीहरूको शासनलाई सुरक्षित आश्रयस्थलको रूपमा संरक्षण गर्ने रणनीति पनि हुन सक्छ,’ नेभोलाले भने ।
‘मेसा ग्लोबल एकेडेमी’का यमनी अनुसन्धानकर्ता र गैर–आवासीय फेलो अदेल दासेलाका अनुसार हुथीहरूले तेहरानको निर्देशनको अधीनमा नभई आफूलाई स्वतन्त्र गुटको रूपमा चित्रण गर्न पनि अहिले युद्ध घोषणा गर्न नचाहेको हुन सक्छ । ‘व्यवहारमा हुथी समूह इरानको प्रतिरोधको हिस्सा हो । हुथी नेतृत्व अझै पनि परिस्थिति कसरी विकसित हुन्छ भनेर पर्ख र हेरको अवस्थामा छ । समूह अमेरिका–इजरायल युद्धमा संलग्न हुने विषयमा हतारमा निर्णय लिन चाहँदैन,’ दासेलाले भने ।
सम्भावित लक्ष्य
हुथीहरू क्षेप्यास्त्र र ड्रोनमार्फत धेरै लक्ष्यमा प्रहार गर्न सक्षम छन् । ‘यदि द्वन्द्व जारी रह्यो र हुथीहरूले प्रत्यक्ष आक्रमणबाट खतरा महसुस गरे भने तिनले इजरायली क्षेत्र, अमेरिकी युद्धपोत र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा इजरायली साझेदारलाई निसाना बनाउन सक्छन्,’ नेभोलाले भने ।
इजरायल र खाडी देशमाथि गत साताभर निरन्तर भएको इरानी क्षेप्यास्त्र आक्रमणले त्यस भेगमा तैनाथ धेरै ‘इन्टरसेप्सन’(मिसाइल पहिचान गरेर नष्ट गर्ने) प्रणालीमा क्षति पुगेको हुन सक्छ । त्यसले गर्दा हुथीले गर्ने भावी आक्रमण अझ विनाशकारी हुन सक्छ । ‘द्वन्द्वको पछिल्लो चरणमा खाडी देश र इजरायलविरुद्ध हुथीहरूले लामो दूरीको ड्रोन र क्षेप्यास्त्र आक्रमण थप प्रभावकारी साबित हुन सक्छ, त्यतिवेलासम्म ती देशको वायु रक्षा प्रणालीमा उलेख्य क्षति पुगेको हुनाले । यस्तोमा अहिले यमनतर्फको दक्षिणी मोर्चा खोल्दा इजरायलको हवाई रक्षामा थप तनाव हुन सक्छ,’ नेभोलाले भने ।
सन् २०२३ को अन्त्यदेखि सन् २०२५ सम्म हुथीहरूले लालसागरको समुद्री मार्गका धेरै जहाजमा आक्रमणको शृंखला चलाए । यो अभियानले कम्तीमा नौजना नाविक मारिए भने चारवटा जहाज डुबायो । यसले गर्दा लाल सागरमा ढुवानी नै अवरुद्ध हुन पुगेको थियो । जबकि, युद्धअघि त्यस मार्गमा प्रतिवर्ष लगभग एक ट्रिलियन डलरको सामान ढुवानी हुने गर्थ्यो ।
अमेरिका–इजरायल आक्रमणले केही दिनमै इरानका धेरै राजनीतिक र सैन्य नेता मारिए । शीर्ष नेतृत्वको हत्याले इरानको इस्लामिक शासनलाई कमजोर बनाएको हुन सक्छ । अमेरिका र इजरायलले सो शासनको पतनलाई आफ्नो प्राथमिकता बताएका छन् । इरानको वर्तमान शासन कमजोर हुनु वा पतन हुनु दुवै अवस्था यमनका हुथी समूहका लागि ‘हानिकारक’ हुने अल–हुरैबी मान्छन् । ‘वर्तमान इरानी शासन कमजोर वा पतन हुँदा यमन पठाइने इरानी हतियारको प्रवाह घट्ने वा पूर्ण रूपमा बन्द हुने भएकाले सो समूह सैन्य रूपमा कमजोर हुनेछ । त्यस्तो अवस्था सो समूहका लागि एक भयानक चुनौती हो,’ अल–हुरैबीले भने ।
सन् २०२२ मा, संयुक्त राष्ट्र संघले अरब सागरमा जफत गरेका हजारौँ हतियार इरानको एउटै बन्दरगाहबाट आएको पत्ता लागेको थियो । यमनी विज्ञ सम्मिलित संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एक प्यानलले तयार पारेको रिपोर्टले यमनमा इरानले रुस, चीन र आफ्नै देशका हतियार पठाएको उल्लेख गरेको छ । तथापि, इरानले यमनमा हतियार तस्करी गरेको कुरा बारम्बार अस्वीकार गर्दै आएको छ । यसबाहेक, अल–हुरैबीका अनुसार इरानी नेतृत्वमाथि भएको आक्रमणले हुथी समूहको मनोबलमा प्रभाव पार्न सक्छ ।
‘सिया भएकाले इरान हुथी समूहका लागि धार्मिक रूपमा आराध्य छ । जब आफ्नो आराध्य नै पराजित हुन्छ, मनोबल उस्तै रहन सक्दैन । इरानी शासनको पतन भएमा यमनलगायत क्षेत्रका यो नजिकका शक्तिको पतन हुन सक्छ,’ अल–हुरैबीले भने ।
–अलजजिराबाट