कञ्चनपुर १ मा रास्वपाका जनक धामी दोब्बरभन्दा बढी मतले निर्वाचित

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

कञ्चनपुर निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता जनकसिंह धामीले जितेका छन् । रास्वपाका नेता धामीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाकी विना मगरलाई दोब्बरभन्दा बढी मतले हराउँदै निर्वाचित भएका हुन् । धामीले मगरलाई १३ हजार २२२ मतको अन्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

धामीले २४ हजार ३३२, मगरले ११ हजार ११०, कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६०, एमालेका तारालामा तामाङले आठ हजार ८८ मत ल्याए । नेकपा विप्लव माओवादीका पुरन रानाथारूले २४८ मत ल्याए।

सांसद बन्नका लागि पहिलोपटक चुनावी मैदान टेकेका धामीले यसअघि ०६४ मा जितेका राना, ०७४ मा जितेकी विना मगर, ०७९ मा जितेका तारालामा तामाङसहितका १८ उम्मेदवारलाई उछिन्दै भारी मतका साथ निर्वाचित भए । ०७९ मा भएको निर्वाचनमा एमालेका तामाङले पनि २४ हजारकै हाराहारीमा मत ल्याएका, अहिले त्यही मत रास्वपातिर ट्रान्सफर भएको पाइन्छ । 

दोस्रपटक चुनाव लडेका राप्रपाका डिल्ली शाहीले एक हजार ५६०, जनमोर्चाका राजाराम चौधरीले ३९६, नेककिपामा कटकबहादुर शाहीले ३४, प्रलोपाका देपेन्द्रबहादुर शाहीले ३६, मंगोल अर्गनाइजेसनका हुमबहादुर गुरुङले ४६, संयुक्त नागरिक पार्टीका दानियल विकले ३६, मितेरी पार्टीका सीताराम रानाले १२, उज्यालो नेपाल पार्टीका माइकल तामाङले ७५९, नाउपा नेपालका कृष्णबहादुर चौधरीले ९६७, आम जनता पार्टीका सीता विकले ८७, स्वतन्त्र सीता विष्टले ६०८, यादव सिंहले १६८, अनिल रानाले ७६, सीता विकले ८७ र मञ्जुदेवी सुनारले २० मत ल्याएका छन् । 

पहिलोपटक चुनावी मैदान टेकेका रास्वपाका नेता धामी पूर्वमन्त्री पिना मगर, पूर्वसांसद तारालामा तामाङ, पुरन रानासँग चुनावी मैदानमा होमिएका थिए । 

क्षेत्र १ मा ५० हजार १२३ पुरुष, ५१ हजार ५८८ महिला गरेर एक लाख एक हजार ७२४ मतदातामध्ये ३३ हजार ४०३ पुरुष, २७ हजार ७६१ महिला गरेर कुल ६० हजार ७८५ मत खसेकाे थियाे । जसमध्ये ५७ हजार ५१ सदर र तीन हजार ७३४ बदर भएका थिए । निर्वाचन जितेलगत्तै नवनिर्वाचित सांसद जनकसिंह धामीले क्षेत्रको विकासका कार्यक्रम अघि बढाउने प्रतिज्ञा गरेका छन् । जनताप्रति हार्दिक आभार प्रकट गर्दै धामीले क्षेत्रको विकास, देशको सेवादेखिका जनहितका कामकाजमा कटिबद्ध भएर लाग्ने प्रण गरेका छन् । 

केन्द्रीय सांसद बन्ने बेलडाँडीबाट धामी पहिलो 
रास्वपाले कञ्चनपुर १ बाट सिट जितेसँगै जनकसिह धामी बेलडाँडी गाउँपालिकाबाट केन्द्रीय सांसद बन्ने पहिलो नेता बनेका छन् । क्षेत्र १ मा चार पालिका रहेका छन् । बेलडाँडीसहित लालझाडी गाउँपालिका, पुनर्वास र बेलौरी नगरपालिका रहेका छन् । ०४८ देखि ०७९ सम्म झन्डै ३१ वर्षकाे बिचमा भएका निर्वाचनमा क्षेत्र बाहिरदेखि पुनर्वास, बेलौरी क्षेत्रबाट सांसद हुँदै आएका थिए । यसपटक भने बेलडाँडी– ४, वैवाहका स्थानीय धामी सांसद बनेर बेलडाँडीको इतिहास राखेका छन् । 

क्षेत्र १ मा जहिल्यैको निर्वाचनमा नयाँ नेतालाई मात्रै चान्स
कञ्चनपुर क्षेत्र १ को इतिहासमा अहिलेसम्म पार्टी दोहोरिए पनि नेता दोहोरिएका छैनन् । ३१ वर्षे चुनावी इतिहासमा दल दोहोरिएका, तर नेता दोहोरिएका छैनन् । यसपटक पनि जनताले रास्वपाका जनक धामीलाई छानेर नेता दोहोरिन नदिने क्रम निरन्तर जारी राखेका छन् । यस क्षेत्रमा कांग्रेस, एमाले, नेकपा (माओवादी) दुई-दुई पटक जितेका छन् । तर, व्यक्ति भने फरक–फरकले जितेका छन् । 

०४८ मा कांग्रेसका वासुदेव भट्ट, ०५१ मा एमालेका रामकुमार ज्ञवाली, ०५६ मा कांग्रेसका तारणीदत्त चटौत, ०६४ मा माओवादीका पुरन राना (थारू), ०७०मा कांग्रेसका दिवानसिंह विष्ट, ०७४ मा तत्कालीन माओवादी नेतृ हाल नेकपाकी उम्मेदवार विना मगर र ०७९ मा एमालेका नेता एवं हालका उम्मेदवार तारालामा तामाङले जितेका थिए ।

 ०८२ मा रास्वपाका जनकसिंह धामीले जितेका छन् । क्षेत्र १ ले एकपटक एकलाई काम हेरेर मूल्यांकन गर्दै हराउँदै आएको छ । एकपटक जितेर फेरि पराजित भएका ०६३ मा पुरन राना, ०७० मा दिवानसिंह विष्ट, ०७४ मा विना मगर र ०७९ मा तारालामा तामाङले जिते पनि दोस्रो वा तेस्रोपटकमा पनि सफल भएका छैनन् । यसले क्षेत्रका जनताले आफूले जिताएर पठाएका जनप्रतिनिधिको कामको मूल्यांकन गर्दै आएको देखिन्छ । 

विद्यार्थी नेता, पत्रकार, शिक्षक, वैदेशिक यात्रा, किसानदेखि सांसदसम्मै 
कञ्चनपुर १ बाट चुनाव जितेका रास्वपा युवा नेता जनकसिंह धामी पूर्वविद्यार्थी नेता, पत्रकार, शिक्षक, दक्षिण कोरिया वैदेशिक यात्रा, अहिले व्यावसायिक केरा खेती गर्दै आएका किसानदेखि सांसदसम्मैको जिम्मेवारीमा पुगेका छन् । 

झन्डै साढे तीन दशक राजनीतिक समाजसेवीका जीवन समर्पण गरेका जनकसिंह धामी अहिले सांसद बनेका छन् । 

विद्यार्थीदेखि जनताको हकअधिकारका लागि खटिएका धामी विद्यार्थी जीवनकालपछि केही समय पत्रकारिता गरे,  स्थायी शिक्षक बने । स्थायी शिक्षकको जागिर तिलाञ्जली दिँदै फेरि राजनीतिमा होमिए । त्यसपछिको केही समय वैदेशिक यात्रा दक्षिण कोरिया गए, त्यहाँबाट फर्किएर फेरि राजनीतिमा जोडिएसँगै व्यावसायिक केराखेतीमा जुटेसँगै अहिले रास्वपाबाट सांसद बनेका छन्  । बहुदल पुनर्स्थापनाका लागि भएको ०४६ को जनआन्दोलन र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनाका लागि ०६२/०६३ मा भएको दोस्रो जनआन्दोनलमा संघर्ष गरेका धामी अहिले पहिलो प्रयासमा सांसद बनेका छन् । 

तत्काली नेविसंघ, कांग्रेसी राजनीतिमा सक्रिय धामीलाई उतिवेला कांग्रेसले जिम्मेवारी नदिएपछि वैदेशिक रोजगारी दक्षिण कोरिया गएकामा उता विदेशको सुविधा छाडेर फेरि मातृभूमि टेकेका उनलाई साढे तीन दशक राजनीतिक संघर्षको फल मिलेको छ । 

मातृभूमि टेकेका धामी यत्तकै खाली हात कोरा भाषण हान्न उनलाई फिटिक्कै मन परेन । उनी कृषि उद्यमतिर जुटे । पुनर्वास नगरपालिकामा व्यावसायिक केराखेती गरिरहेका किसान उद्यमी धामी अहिले देशको नीति, निर्माण, सुशासनका लागि भन्दै चुनावी मैदानमा दौडिएका थिए । 

सुझावित समाचार