टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा खराब प्रदर्शनपछि विभिन्न राष्ट्रहरूले संरचना परिवर्तन गरिरहेका छन् । पहिला अफगानिस्तानले नियमित कप्तान रसिद खानलाई हटाएर इब्राहिम जार्दानलाई टोलीको जिम्मेवार दिएको थियो । अब सुपर ८ बाट बाहिरिएको पाकिस्तानी क्रिकेट बोर्डले विश्वकपको रिस खेलाडीमाथि नै पोखिरहेको छ । खराब प्रदर्शनमा पहिला बोर्डले प्रत्येक खेलाडीलाई जनही ५० लाख रुपैयाँ क्षतिपूर्ति लगाएको थियो । बोर्डले बंगलादेशविरुद्धको सिरिजमा एकैपटक ६ नयाँ खेलाडीलाई समावेश गरी टोली घोषणा गरेको छ ।
फास्ट बलर सहिन साह अफ्रिदी अब ५० ओभरका नयाँ कप्तान बने । गत वर्षमा मोहमद रिजवानले कप्तानी गर्ने अवसर पाएका थिए । एक वर्षको अवधिमा पाकिस्तानले एकदिवसीय फम्र्याटमा कप्तान फेरेको दोस्रोपटक हो । विश्वकपमा खराब प्रदर्शन गरेका सिनियर खेलाडी तथा पूर्वकप्तान बाबर अजाम र सइम आयुव टोलीबाट बाहिरिएका छन् । टोलीका सबैभन्दा सिनियर खेलाडी बाबरले ५० ओभरमा २० शतक तथा ३७ अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले १४० एकदिवसीय खेलमा ६५०१ रन जोडेका छन् ।
चालू विश्वकपमा धेरै रन बनाएका फरहानले स्थान बनाउन सफल भए । उनले अहिलेसम्म पाकिस्तानबाट एकदिवसीय खेलमा डेब्यु गरेका छैनन् । टी–२० विश्वकपमा स्थान नबनाएका रिजवानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमा फर्किएका छन् । यसैगरी, सलमान आघा भने टी–२० टोलीका कप्तान यथवात् भए । अलराउन्डर फहिम असरफ तथा लेग स्पिनर अवरा अहमदले स्थान सुरक्षित गरे ।
अहिलेसम्म माथिल्लो श्रेणी क्रिकेट नखेलेका अनक्याप्ड खेलाडीमा अब्दुल समद, माज सदाकड, साद मसुर, मोहमद वसिम तथा ह्यारिस रफले स्थान सुरक्षित गरे ।