जेन–जी विद्रोह ब्यालेटबाट पनि अनुमोदन

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण
जेन–जी विद्रोह ब्यालेटबाट पनि अनुमोदन

२३ भदौको जेन–जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गर्दै युवा  (फाइल तस्बिर)

नयाँ दल र युवा नेतृत्वतर्फ देखिएको व्यापक समर्थनले जेन–जी आन्दोलन चुनावमार्फत अनुमोदन भएको छ । २४ भदौको जेन–जी आन्दोलनलाई ‘देश जलाउने अभियान’ भन्दै खारेज गर्न खोजेका पुराना दलहरूलाई मतपेटिकाले नै प्रतिवाद गरेको छ । जनआक्रोश मतपेटिकाबाट विस्फोट भएको छ ।

खास गरेर कांग्रेस र एमाले जेन–जी आन्दोलनका नाममा नयाँ दलहरूले देशमा अराजकता फैलाएको आरोप लगाउँदै जनतासमक्ष गएका थिए । तर, बिहीबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामले यो आरोप खण्डित गरेको छ ।

निर्वाचनमा जेन–जी आन्दोलनको पक्षमा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टीलाई व्यापक समर्थन देखिएको छ । यसलाई विश्लेषकहरूले निर्वाचनमार्फत जेन–जी आन्दोलनको अनुमोदनका रूपमा व्याख्या गर्न थालेका छन् । रास्वपाले आफ्नो चुनावी वाचापत्रमै जेन–जी आन्दोलनको स्वामित्व लिएको थियो ।

वरिष्ठ अधिवक्ता बाबुराम दाहालका अनुसार निर्वाचन परिणामले पुराना दलका आरोपलाई जनताले अस्वीकार गरेको स्पष्ट देखिएको छ । दाहाल पुराना दलका कुरा जनताले पटक्कै विश्वास नगरेको र यो निर्वाचनको मतपरिणामले जेन–जी आन्दोलनलाई अनुमोदन गरेको बताउँछन् । ‘यो मतपरिणामले भदौ २४ को आन्दोलन नयाँ दलले होइन, जनताको विद्रोहले जन्माएको हो भन्ने पुष्टि गरेको छ । पुराना दलका नेताहरूको कुरा जनताले पत्याएनन्, सहानुभूति पनि देखाएनन्,’ उनले भने । 

दाहालका अनुसार रास्वपाले पाएको मत केवल समर्थकको मात्रै नभई असन्तुष्ट सबै मत आएका छन् । ‘आधा मत उनीहरूप्रतिको आकर्षण हो भने आधा मत कांग्रेस, एमाले र नेकपाविरुद्धको नेगेटिभ भोट हो,’ उनले भने, ‘पुराना दलप्रति बढेको वितृष्णा मतमार्फत विद्रोहका रूपमा प्रकट भएको छ ।’

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा समाजशास्त्री दीपेश घिमिरे पनि इतिहासले विद्रोहपछि भएका निर्वाचनले आन्दोलनलाई वैधानिकता दिने देखाएको बताउँछन् । ‘०१५, ०४८ र ०६४ सालका निर्वाचनले त्यसअघिका आन्दोलन र विद्रोहलाई अनुमोदन गरेका थिए । यसपटक पनि जेन–जी आन्दोलन चुनावमार्फत अनुमोदित भएको देखिन्छ,’ उनले भने, ‘जनताले अर्को विद्रोहको अवस्था नआओस् भनेर परिवर्तनलाई शान्तिपूर्ण बाटोबाट अनुमोदन गरेका हुन सक्छन् । जनताले असन्तुष्टिलाई हिंसाबाट होइन, मतमार्फत व्यक्त गरेका हुन् ।’

उनले यो निर्वाचनले पुराना दललाई पुस्तान्तरण र आन्तरिक शुद्धीकरणको कडा सन्देश दिएको पनि बताए । ‘कांग्रेसले पुस्तान्तरणको प्रयास गरे पनि त्यो स्वाभाविक प्रक्रियाबाट नभएकाले जनताले विश्वास गरेनन् । अन्य पुराना दलप्रति पनि भरोसा देखिएन,’ उनले भने । भ्रष्टाचारविरोधी छविका कारण बालेन शाहप्रति युवा पुस्तामा आकर्षण बढ्नु र नयाँ नेतृत्वको खोजीले पनि रास्वपाले धेरै मत आर्जित गरेको उनको भनाइ छ । 

गत २३ भदौमा संसद्का ठुला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारविरुद्ध जेन–जीले गरेको आन्दोलनमा सुरक्षा बलको बल प्रयोग हुँदा गोली लागेर १९ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्ट देशभर फैलिएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए । त्यसपछि जेन–जी अगुवाकै प्रस्तावअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । यसरी सम्पन्न निर्वाचनमा ओलीले झापा ५ मा रास्वपाका उम्मेदवार बालेन शाहको तुलनामा न्यून मत पाएका छन् । 

सुशीला कार्की सरकारले २३ र २४ भदौको घटनालाई जेन–जी आन्दोलन भनेर स्वीकार गरेको थियो । विगतमा भएका राजनीतिक आन्दोलनजस्तै जेन–जी आन्दोलन निर्वाचनको मतपरिणामार्फत अनुमोदित भएको छ ।

See More On

सुझावित समाचार