नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा ‘नेपाल साँझ’

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

नेपालको पर्यटन प्रवर्द्धनका लागि जर्मनीमा ‘नेपाल साँझ’ आयोजना गरिएको छ । नेपाली दूतावास जर्मनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मंगलबार बर्लिनमा कार्यक्रम आयोजना गरिएको थियोे । 

कार्यक्रमको जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत सागर फुयाँलले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले जर्मनका पर्यटन व्यवसायी तथा लगानीकर्तालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानीका लागि आग्रह गरे ।

उनले पर्यटन नेपालको प्रमुख आर्थिक कूटनीतिको रूपमा रहेको बताए । नेपाल–जर्मन लामो कूटनीतिक सम्बन्ध भएको मुलुक रहेको भन्दै जनस्तरको सम्बन्ध प्रगाढ बनाउन र लगानीका लागि उपयुक्त वातावरण बनाउन आवश्यक रहेको बताए ।  कार्यवाहक राजदूत फुयाँलले नेपालको प्राकृतिक सुन्दरता तथा संस्कृति पर्यटन विकासको महत्त्वपूर्ण आयाम रहेकोमा जोड दिए । उनले नेपाल दिगो पर्यटन विकासको लक्ष्यका साथ अगाडि बढिरहेको र पर्यटन पूर्वाधारमा लगानी गरिरहेको बताए । ‘नेपालको पर्यटन क्षेत्रका लागि जर्मनी महत्त्वपूर्ण स्रोतको रूपमा रहेछ छ,’

उनले भने, ‘म जर्मनीका व्यवसायी र लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु ।’ 

कार्यक्रममा नेपाल तथा जर्मनका पर्यटनसम्बध्द निकायका प्रतिनिधि, व्यवसायी तथा विज्ञहरूको सहभागी रहेको थियोे । कार्यक्रमका वक्ताहरूले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै नेपालको प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक विविधताको प्रशंसा गरेका थिए । 

कार्यक्रममा नेपालको प्राकृतिक, सांस्कृतिक तथा सामाजिक  प्रवर्द्धनात्मक सामग्रीसमेत प्रस्तुत गरिएको थियोे । पर्यटन विकासका विविध आयामबारे विमर्श गरिएको थियोे ।

कार्यक्रममा संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनका पूर्वसहायक महासचिव प्रोफेसर जेफ्री लिपम्यानले जलवायु परिवर्तनको असर पर्यटन क्षेत्रमा रहेको भन्दै नेपालले पनि वातावरणीय चुनौतीको सामना गर्दै दिगो पर्यटनको अवधारणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विश्व ट्राभल नेटवर्कका अध्यक्ष जुर्गेन स्टिनमेट्जले नेपाल भ्रमणका आफ्ना ४० वर्षकाे अनुभव साट्दै नेपाल सदैव पर्यटनको सुरक्षित गन्तव्य रहेको बताए । त्यस्तै,  एडभेन्चर ट्राभल ट्रेड एसोसिएसनकी क्षेत्रीय निर्देशक हन्ना पियर्सनले नेपालमा साहसिक पर्यटन (एडभेन्चर टुरिजम) को प्रचुर सम्भावनाबारे प्रकाश पारेकी थिइन् । 

कार्यक्रममा सहभागीहरूलाई  नेपाली ‘ढाका टोपी’ लगाइदिएर स्वागत गरिएको थियो भने कार्यक्रममा मौलिक नेपाली साथै  नेवारी र तामाङ सेलोमा नृत्य प्रस्तुत गरिएको थियोे । बर्लिनमा जारी पर्यटन मेला ‘आइटिबी बर्लिन २०२६’ को अवसरमा राजदूतावास र बोर्डले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए ।
 

सुझावित समाचार