बारा १ मा रास्वपाका गणेश धिमालको फराकिलो अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमालले फराकिलो अग्रता कायम गरेका छन्। प्रारम्भिक चरणदेखि नै अग्रता लिएका धिमालले पछिल्लो मतपरिणामसँगै आफ्नो अग्रता झन् विस्तार गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार रास्वपाका धिमालले सात हजार ८२३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी दुई हजार ४४३ मतसहित दोस्रो स्थानमा रहेका छन। त्यसैगरी नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली एक हजार ६७३ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगाल ३६६ मतसहित चौथो स्थानमा छन्।

मतगणना प्रारम्भ हुँदा आदर्श कोतवाल गाउँपालिकाका विभिन्न वडाबाट प्राप्त मतपरिणाममा पनि धिमालले अग्रता लिएका थिए। पछिल्लो गणनासँगै अन्य प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा उनले उल्लेख्य मतान्तर कायम गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर १ मा कुल एक लाख २३ हजार ९८५ मतदाता रहेका छन्। जसमध्ये ८१ हजार ९४६ मत खसेको थियो, जुन कुल मतदाताको करिब ६६.०९ प्रतिशत हो।

सुझावित समाचार