समृद्ध मुलुक उद्योगी–व्यवसायीको अपेक्षा

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण
  • निजी क्षेत्रबाट मात्रै समृद्धि सम्भव भएकाले लगानीमैत्री वातावरण, सुरक्षा ग्यारेन्टीसहित अर्थ नीतिले पनि स्थायित्व पाउनुपर्ने अपेक्षा 

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यवसायीले पनि उत्साहजनक सहभागिता जनाएर मतदान गरे । मतदान गर्दै व्यवसायीले अब मुलुकमा राजनीतिसँगै अर्थ नीतिमा पनि स्थिरता आउने अपेक्षा राखेका छन् । निर्वाचनसँगै अब लगानीमैत्री वातावरण हुने, स्वदेशी निजी क्षेत्रले प्राथमिकता पाउने र समग्रमा मुलुकमा आर्थिक समृद्धि आउने व्यवसायीको अपेक्षा छ ।

जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रले पनि ठुलो व्यहोर्नुपरेको थियो । सोही आन्दोलनको परिवर्तनपछि भएको निर्वाचनबाट निजी क्षेत्रले सकारात्मक अपेक्षा राखेका छन् । अबका दिनमा निजी क्षेत्रलाई सुरक्षाको ग्यारेन्टी तथा प्रत्याभूति पनि सरकारले गरिदिनुपर्ने व्यवसायी बताउँछन् । 

निर्वाचनअघि राजनीतिक दलका सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक एजेन्डा पनि समेटिएका छन् । आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने, जिडिपीको आकार १०० खर्ब पुर्याउने, प्रतिव्यक्ति आम्दानी पुर्याउने २५ सय डलर पुर्याउने र लगानीमैत्री वातावरण बनाउनेजस्ता आर्थिक एजेन्डा दलहरूका घोषणापत्रमा देखिन्छन् । जेन–जी आन्दोलनको मर्मअनुसार सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना पनि दलहरूका घोषणापत्रमा देखिन्छ । त्यस कारण पनि अब बन्ने सरकारसँग आर्थिक समृद्धिको अपेक्षा गरिएको व्यवसायी बताउँछन् । घोषणापत्रमा उल्लेख गरिएका आर्थिक एजेन्डा कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले काठमाडौंको क्षेत्र नम्बर ५ को विशालनगर मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि उनले यो निर्वाचनले समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा व्यक्त गरे । 

‘मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस्, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा गरेको छु । यो निजी क्षेत्रको मात्र होइन, आमनेपालीको अपेक्षा पनि हो,’ उनले भने ।

निर्वाचनपछि बन्ने सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । ‘मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक हो । निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्छ,’ उनले भने, ‘निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्वलाई मनन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ स्थित कुलेश्वर मतदान केन्द्रबाट मतदान गरे । राजनीतिक दलले घोषणापत्रमा राखेको आर्थिक एजेन्डालाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । ‘अब आर्थिक विषयवस्तु पनि राजनीतिको एउटा अंग बन्नुपर्छ । राजनीतिक दलका घोषणपत्रमा आर्थिक एजेन्डाले प्राथमिकता पाएका छन् । त्यसको अब कार्यान्वयन हुनुपर्छ । त्यो कार्यान्वयन हुन्छ भन्नेमा विश्वास पनि छ । यसैगरी, स्वदेशी उद्योगलाई पनि सहयोग गर्ने नीति आउनुपर्छ । समग्रमा हामी उत्साहित छौँ,’ उनले भने, ‘अहिले मध्यपूर्वको तनावले नेपाली अर्थतन्त्र पनि प्रभावित हुँदै छ । नयाँ सरकारका लागि यो चुनौतीको रूपमा आएको छ । यो अवस्थामा अब बन्ने सरकार प्रोयाक्टिभ नीति ल्याउन आवश्यक छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले समृद्धि र आत्मनिर्भर नेपालको सपनासहित मतदान गरेको बताए । अब मुलुकमा राजनीतिक मात्रै होइन, अर्थ नीतिले पनि स्थायित्व पाउनुपर्ने उनको भनाइ छ । उनले काठमाडौं क्षेत्र नम्बर १ स्थित डिल्लीबजारको पद्मकन्या क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् । 

‘मेरो मत केवल नेतृत्वका लागि होइन, समृद्ध र आत्मनिर्भर नेपालको सपनाका लागि हो,’ उनले भने, ‘पहिला राजनीनिक स्थायित्व नै हुनुपर्छ । त्यससँगै अर्थनीतिको पनि स्थायित्व पनि हुन आवश्यक छ । कोरोनापछि नेपाली अर्थतन्त्रमा शिथिलता छ । अस्थिर आर्थिक नीति आएका छन् । अब त्यस्तो हुनुहुँदैन ।’

यसैगरी, निजी क्षेत्रको सुरक्षाको ग्यारेन्टी पनि हुनुपर्ने उनले बताए । जेन–जी आन्दोलनपछि खस्किएको मनोबललाई अब बन्ने सरकारले उकास्नुपर्ने उनको भनाइ छ । 

विदेशी लगानीलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । ‘स्वदेशी लगानीले मात्रै रोजगारी सिर्जना हुँदैन । तसर्थ, विदेशी लगानीलाई पनि प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘लगानीमैत्री वातावारण बनाउन प्रचलित कानुनलाई आवश्यकताअनुसार परिमार्जन गर्नुपर्छ ।’ 

वर्तमान समयमा देखिएको मध्यपूर्वको असर भारतीय अर्थतन्त्रमा नमज्जाले पर्ने देखिएको छ । नेपालको मुद्रा भारतीय मुद्रासँग पेग छ । त्यो अवस्थामा मध्यपूर्वको तनावले नेपाली अर्थतन्त्र पनि प्रभावित हुँदै छ । अब बन्ने सरकारले उक्त चुनौतीलाई सामना गर्ने गरी नीति ल्याउनुपर्ने उनको भनाइ छ । 

‘मध्यपूर्वको तनावले केही समय रेमिट्यान्स प्रभावित हुन सक्छ । तर, दीर्घकालीन रूपमा भने असर हुँदैन । किनकि, अब मध्यपूर्वमा पुनर्निर्माणका काम हुँदा नेपाली कामदारको माग बढ्छ । त्यो अवस्थामा नेपाललाई दीर्घकालीन रूपमा थप फाइदा पुग्छ,’ उनले भने, ‘तर, रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्रलाई माथि उठाउनुपर्छ । आत्मनिर्भर अर्थतन्त्र बनाउन दीर्घकालीन योजना ल्याउनुपर्छ ।’

ललितपुरको जावलाखेल मतदान केन्द्रबाट मतदान गरेका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई नयाँ सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘विद्युत् भयो भने अन्य क्षेत्रको विकास हुने हो । 

ऊर्जाविना अन्य क्षेत्रको विकास सम्भव छैन । तसर्थ, अब बन्ने सरकारले जलविद्युत्सहित ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘ऊर्जा भयो भने निजी क्षेत्रले उद्योग, होटेललगायतका अन्य क्षेत्रमा पनि लगानी गर्छन् । त्यसले रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्छ । तर, ऊर्जा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’ जलविद्युत्को विकासमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

सुझावित समाचार