दलहरूले दिए मतदाता, सरकार र आयोगलाई धन्यवाद

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका शीर्ष नेताले सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । अनेक संसयबिच भएको मतदान देशभर नै शान्तिपूर्वक सकिएपछि सबै पक्षबाट सकारात्मक प्रतिक्रिया आएको हो ।

राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न जटिल परिस्थितिले निर्वाचनमार्फत निकास पाएको बताएका छन् । ‘राष्ट्रपतिले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘उहाँले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, नेपाली सेनासहित सबै सुरक्षा निकाय, राजनीतिक दल, आममतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद प्रकट गर्नुभएको छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गर्न प्राप्त जिम्मेवारी पूरा गर्न सकेकोमा खुसी व्यक्त गरेकी छिन् । ‘म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर, म एक्लैले यो सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मिहिनेत लागेको छ,’ सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका छ । खासगरी हाम्रो आह्वान स्विकार गरेर निर्वाचनमा सहभागी हुनुहुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभएको हो ।’

कार्कीले सुरक्षाको मुख्य चुनौती तथा बाधा–अवरोध सामना गरिएको उल्लेख गरेकी छिन् । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार काम भएको उनको भनाइ छ । ‘हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । तर, हामी त्यसबाट विचलित भएनौँ । जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘हामीलाई दलहरूले नै अयोग्य भनेकै हुन्, जेन–जीका केही व्यक्तिले पनि औँला उठाएकै हुन्, तर हामी मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ ।’

कार्कीले जेन–जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले पाएलगत्तै कार्यान्वयन गर्ने पनि बताएकी छिन् । ‘अहिलेको आयोगको मात्र होइन, अरू पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ । ता कि जनताले थाहा पाऊन्,’ प्रधानमन्त्रीले भनेकी छिन् । 

कांग्रेस र एमालेले कार्की नेतृत्वको सरकारलाई असंवैधानिक करार गर्दै आएका थिए । उनीहरूले अदालतमा रिट दायरसमेत गरेका थिए । 

कांग्रेस सभापति गगन थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुन: एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् । मतदान सकिएपछि बिहीबार साँझ जारी विज्ञप्तिमा उनले जनतालाई सम्बोध गर्दै भनेका छन्, ‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरूको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’ थापाले केही निर्वाचन क्षेत्रमा भएका केही घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएको भन्दै सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । 

त्यस्तै, एमाले अध्यक्ष केपी ओलीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएका छन् । मतदान सकिएपछि उनले फेसबुकमा लेखेका छन्, ‘देशभर आमरूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सभ्य र लोकतान्त्रिक वातावरणमा मतदान सम्पन्न भएको बताएका छन् । ‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ उनले भनेका छन्, ‘मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ । आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु ।’

रास्वपा सभापति रवि लामिछानेले पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सरकारलगायत सम्बद्ध निकायलाई धन्यवाद दिएका छन् । ‘लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो । लोकतन्त्रका रक्षक भनेकै जनता हुन् । पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने हो । निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ,’ उनले भनेका छन्, ‘निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीज्यू, मन्त्रिमण्डलका सम्पूर्ण मन्त्रीज्यूहरू, निर्वाचन आयोग, सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी साथीहरू, सहयोगी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायलगायत सम्बद्ध सबैलाई धेरै–धेरै धन्यवाद । लोकतन्त्र अमर रहोस् ।’ रास्वपा वरिष्ठ नेता बालेन शाहले पनि मतदान सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका छन् । 

भारत, चीन र अमेरिकाको बधाई
नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा छिमेकी भारत र चीन तथा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले प्रशंसा र बधाई दिएका छन् । भारत र चीनले नेपालको स्थिरतामा जोड दिएका छन् । 

भारतले नेपालमा जनताको उत्साहजनक सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै स्वागत गरेको छ । भारतले नयाँ सरकारसँग काम गर्न उत्सुक रहेकोसमेत उल्लेख गरेको छ । नेपालमा सम्पन्न निर्वाचनबारे सञ्चारमाध्यमहरूले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन्, ‘आज नेपालका नागरिकहरूले आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोग गर्दै उत्साहजनक सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा हामी स्वागत गर्दछौँ । गत वर्षको असाधारण परिस्थितिको पृष्ठभूमिमा सम्पन्न भएको यो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनता तथा विभिन्न सरोकारवालाहरूलाई बधाई दिन्छौँ ।’ 

भारतले नेपालमा शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गर्दै आएको पनि प्रवक्ता जैसवालले उल्लेख गरेका छन् । निर्वाचनका लागि प्रतिबद्धताअनुसार भारतले आवश्यक सवारीसाधनलगायतका सामग्री उपलब्ध गराएकोसमेत विदेश मन्त्रालयले उल्लेख गरेको छ । 

‘हामी पारस्परिक हितका लागि हाम्रो दुई देश र जनताबिचका सुदृढ तथा बहुआयामिक सम्बन्धलाई अझ अघि बढाउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,’ भारतले भनेको छ । 

त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपालमा यति शान्तिपूर्ण, व्यवस्थित र सहज प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा बधाई ! आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा नेपाली जनतालाई हार्दिक बधाई ।’ राजदूत माओमिङले निर्वाचनका लागि नेपाली अधिकारीहरू तथा सबै क्षेत्रका जनताबाट गरिएका प्रयासहरूलाई नोट गर्नुपर्ने भन्दै प्रशंसा गरे । ‘नेपाललाई स्थिरता, विकास र समृद्धिको कामना, नेपाली जनतालाई खुसी, स्वास्थ्य र सफलताको कामना,’ उनले भनेका छन्, ‘चीन सधैँ नेपालको साथमा रहन्छ ।’

अमेरिकाले बिहीबार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको छ । नेपालस्थित अमेरिकी राजदूतावासले साँझ सामाजिक सञ्जालमा आगामी सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ । ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई,’ दूतावासले भनेको छ, ‘आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।’

नेपालका लागि स्विस राजदूत डा. डानिएल मेउलीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाललाई बधाई दिएका छन् । ‘प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई ज्ञापन गर्दछौँ, यो लोकतान्त्रिक प्रक्रियामार्फत नेपाल र नेपाली जनताको आकांक्षा पूरा गर्ने दिशामा महŒवपूर्ण कदम हो,’ उनले भनेका छन् । 

नेपालस्थित फ्रान्सेली राजदूतावासले पनि शान्तिपूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भएको भन्दै नेपाललाई बधाई दिएको छ । निर्वाचनले नेपाली जनताको लोकतन्त्रप्रति प्रतिबद्धता उजागर भएको पनि उसले उल्लेख गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले पनि निर्धारित समयमै निर्वाचन सम्पन्न गराएकोमा प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘निर्धारित समयअनुसार निर्वाचन सम्पन्न गराएकोमा नेपाल सरकार र सम्बन्धित निकायहरूको प्रशंसा गर्दछौँ । लोकतान्त्रिक र शान्तिपूर्ण प्रक्रियाप्रति नेपाली जनताको प्रतिबद्धताको पनि सराहना गर्दछौँ ।’ 

नेपालका लागि इजरायलका राजदूत स्मुलिक बासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका छन् । ‘लोकतन्त्रलाई सुदृढ बनाउने र सबै नेपालीहरूको आकांक्षालाई अगाडि बढाउने यो महŒवपूर्ण कदम हो । नेपालसँग घनिष्ठ मित्रता र सहकार्यलाई निरन्तरता दिन इजरायल उत्सुक छ,’ राजदूत बासले भनेका छन् ।

सुझावित समाचार