उदयपुरमा ५२ प्रतिशत मतदान, क्षेत्र नं. १ मा सबैभन्दा बढी

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उदयपुर जिल्लामा कुल ५२ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार जिल्लाभर २ लाख ३८ हजार ९२६ जना मतदाता रहेकोमा १ लाख २४ हजार ५९० मत खसेको हाे ।

दाहालका अनुसार निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख ४२ हजार ८०४ जना मतदाता रहेका थिए। तीमध्ये ७९ हजार ९५६ मत खसेको छ, जुन ५६ प्रतिशत हो। 

प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर २ मा कुल ९६ हजार १२२ जना मतदाता रहेकोमा ४४ हजार ६३४ मत खसेको छ। यस क्षेत्रमा ४६ प्रतिशत मतदान भएको छ। जसमा महिला २१ हजार ६८२, पुरुष २२ हजार ९५२ जना मतदाताले मतदान गरेका छन्।

दुवै निर्वाचन क्षेत्रको तथ्यांक जोड्दा जिल्लामा महिला ६४ हजार ३५४, पुरुष ६० हजार २३४ र अन्य २ जना गरी कुल १ लाख २४ हजार ५९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यसपटक क्षेत्र नं. १ मा क्षेत्र नं. २ भन्दा तुलनात्मक रूपमा बढी मतदान भएको देखिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

मतगणनास्थलमा मतपेटिका जम्मा गरिँदै

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार मतदानस्थल तथा केन्द्रबाट मतपेटिका गणनास्थल ल्याउने काम दुवै क्षेत्रमा सुरु भएकाे छ। क्षेत्र नं १ को मतगणना त्रियुगा उच्च माध्यमिक विद्यालय, गाईघाटमा तथा क्षेत्र नं २ को मतगणना कटारीस्थित उदयश्री क्याम्पसमा हुने उनले बताए।
 

सुझावित समाचार