प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार भइरहेको मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन बारामा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले जिल्लाभर हेलिकाेप्टरमार्फत हवाई गस्ती सुरु गरेको छ। सुरक्षा स्रोतका अनुसार बाराका चारवटै निर्वाचन क्षेत्रमा रहेका ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्रको निगरानीका लागि सेनाले आकाशबाट गस्ती गरिरहेको छ।
विशेषगरी सीमावर्ती क्षेत्र तथा सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका मतदान केन्द्रहरूमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको सुरक्षा निकायले जनाएको छ। मतदानलाई सुरक्षित र भयरहित बनाउन जिल्लाभर ठुलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। आकाशबाट पनि निरन्तर निगरानी बढाइएपछि मतदाताहरू ढुक्क भएर मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।
जिल्ला सुरक्षा निकायका अनुसार हालसम्म बाराका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।