उदयपुरको चौदण्डीगढी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। बिहीबार चौदण्डीगढी नगरपालिका– ९, भीमास्थित मदन भण्डारी लोकमार्गमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र ०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको उत्तरतर्फ रहेको सखुवाको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलचालक चौदण्डीगढी नगरपालिका– ५, सिवाईनिवासी १८ वर्षीय समीर चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नगर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त दुर्घटनामा परी सोही स्थानका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।