- आर्थिक तथा भूराजनीतिक अनिश्चितताका कारण लगानीकर्ता सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित भएपछि ऐतिहासिक मूल्यमा कारोबार हुँदै
विश्वव्यापी रूपमा सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । र, यसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ । अन्तर्राष्ट्रिय बजारका कारण नेपाली बजारमा चालू आवको सात महिनामा मात्रै सुनको मूल्य तोलामा एक लाख २५ हजार तीन सय रुपैयाँ बढेको छ । १ साउनमा एक लाख ९२ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ २० फागुनमा तीन लाख १७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यो भनेको ६० प्रतिशतको वृद्धिदर हो । १ साउनमा दुई हजार दुई सय ६५ रुपैयाँ रहेको चाँदी बुधबार प्रतितोला पाँच हजार पाँच सय ४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि यो अवधिमा ५९.११ प्रतिशतले बढेको छ ।
सुनचाँदीको मूल्य बढ्नुमा भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता, अमेरिकामा मन्दीको भय, इटिएफमा बढ्दो लगानी र सुनको भण्डारण प्रमुख कारण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्लेषकका अनुसार आगामी दिनमा सुनको मूल्य अझै बढ्ने देखिन्छ । जेपी मोर्गनले गत वर्ष एक प्रतिवेदनमार्फत सन् २०२७ मा सुनको मूल्य प्रतिऔँस ५,२४५ डलर पुग्ने प्रक्षेपण गरेको थियो । तर, २०२६ को मार्च ४ मै यो प्रतिऔँस ५,१८० डलर पुगेको छ । सुनको मूल्य सन् २०२७ मा बढेर प्रतिऔँस ५,२४५ डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
भूराजनीतिक तनाव
अहिले अमेरिका–चीन व्यापार युद्ध तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङले एक–अर्कालाई चुनौती दिँदै आयात–निर्यात गर्ने वस्तुमा चर्को भन्सार शुल्क लगाएका छन् । अमेरिकी वस्तुमा १२५ प्रतिशत र चिनियाँ निर्यातमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ । यसले गर्दा सुनचाँदीको मात्रै होइन, अन्य वस्तुको मूल्य पनि बढाएको देखिन्छ । त्यसमाथि मध्यपूर्वदेखि युरोपसम्म फैलिएका भूराजनीतिक तनावले पनि विश्व अर्थतन्त्रमा अनिश्चिताको बादल मडारिएको छ ।
रुस–युक्रेन युद्धले अमेरिका–चीन तनाव, विश्वव्यापी मन्दी, आर्थिक अस्थिरतालगायतका कारण ठूला लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । सुरक्षित सम्पत्तिका रूपमा सुनको भण्डारण बढिरहेको छ । रोयटर्समा प्रकाशित एक समाचारका अनुसार लगातार आर्थिक तथा भूराजनीतिक अनिश्चितताका कारण लगानीकर्ता सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित भएपछि ऐतिहासिक मूल्यमा कारोबार हुन थालेको छ ।
विश्वव्यापी आर्थिक मन्दीको भय
अमेरिकामा सम्भावित आर्थिक मन्दीको डरले पनि सुनको मूल्य बढाउन सहयोग पुगिरहेको छ । गोल्डम्यान स्याक्सले लगातारको आर्थिक अस्थिरता र व्यापारिक दबाबलाई कारण देखाउँदै एक वर्षभित्र अमेरिकामा मन्दी हुने सम्भावना ४५ प्रतिशत पुग्ने अनुमान गरेको छ । एक समाचारअनुसार अमेरिकी ट्रेजरी बन्डको बिक्री बढ्नुले सरकारी ऋणपत्रसमेत सुरक्षित सम्पत्तिका रूपमा आकर्षण गुमाउँदै गएको छ । बन्डको वार्षिक प्रतिफल बढेसँगै लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्, जसले माग र मूल्य दुवै बढाएको छ ।
एक्सचेन्ज ट्रेडेड फन्डमा बढ्दो लगानी
भूराजनीतिक तनाव र सुनको मूल्य वृद्धिसँग लगानीकर्ता इटिएफतर्फ आकर्षित हुन थालेका छन् । इक्रा एनाटिलिक्सको प्रतिवेदनअनुसार सन् २०२५ को फेब्रुअरीमा इटिएफ लगानी वार्षिक ९८.५४ प्रतिशतले बढेको छ । इटिएफ सेयर बजारमा साधारण सेयरजस्तै सजिलै खरिद–बिक्री गर्न सकिने लगानी फन्ड हो ।
शक्तिशाली देशबिच सुन भण्डारणको प्रतिस्पर्धा
डलरको अस्थिरताबिच विशेष गरी एसियाली देशका धेरै केन्द्रीय बैंकहरूले सुनको भण्डारण निरन्तर बढाइरहेका छन् । वल्र्ड गोल्ड काउन्सिल (डब्ल्युजिसी)का अनुसार सन् २०२४ मा केन्द्रीय बैंकहरूले एक हजार टनभन्दा बढी सुन खरिद गरेका थिए । डब्ल्युजिसीको गोल्ड डिमान्ड ट्रेन्ड प्रतिवेदनअनुसार गत वर्ष केन्द्रीय बैंकहरूले एक हजार ३७ टन सुन खरिद गरेका थिए । यसरी एकपछि अर्को वर्षमा सुन भण्डारण गर्ने प्रवृत्तिले पनि सुनको मूल्य बढेको हो । अमेरिकी डलरमाथिको परनिर्भरता घटाउने, वित्तीय स्थिरता बलियो बनाउने र बढ्दो भूराजनीतिक तथा आर्थिक अनिश्चितताबाट सुरक्षा खोज्ने रणनीति परिवर्तन नै सुनचाँदीको मूल्य बढाउनु प्रमुख कारण मानिएको छ ।
एजेन्सीको सहयोगमा