सल्यानका दुई मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी महिला मात्र

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा दुई मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटिएका छन् । शारदा नगरपालिका– २, खलंगास्थित बालमन्दिरमा मतदानस्थलका ‘क’ र ‘ख’ मतदान केन्द्रलाई पूर्ण रूपमा महिला कर्मचारी र सुरक्षाकर्मीमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको हो ।

नमुना मतदान केन्द्रका रूपमा स्थापित यस केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मी सबै महिला मात्र परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले बताए । ‘महिला सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले ती केन्द्रलाई महिलामैत्री बनाइएको हो,’ उनले भने । महिलामैत्री मतदानस्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक पूर्ण चन्दको नेतृत्वमा महिला सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्र ‘क’मा मतदान अधिकृत रिताकुमारी थारू तथा ‘ख’ मा सरस्वती थापा खटिएकी छिन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार ‘क’ केन्द्रमा ८९६ र ‘ख’ केन्द्रमा ९४८ गरी कुल एक हजार ८४४ मतदाता छन् । सहायक मतदान अधिकृत निमाकुमारी रोकायले महिला कर्मचारी मात्र खटिएको मतदान केन्द्रमा काम गर्न पाउँदा गर्व र उत्साह महसुस भएको बताइन् । 

See More On

सुझावित समाचार