- २३–२४ भदौको जेन–जी विद्रोह र प्रतिनिधिसभा विघटनपछिको पहिलो मतपरीक्षाले ६ हजार ५४० उम्मेदवारबारे निर्णय गर्ने मात्र होइन, देशको भावी मार्गचित्र कोर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नेछ
जेन–जी विद्रोहले उथलपुथल राजनीति र प्रतिनिधिसभा विघटनको पृष्ठभूमिमा आज देशमा पहिलो जननिर्णय हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । कडा सुरक्षा, हवाई गस्ती र व्यापक अनुगमनबिच हुने निर्वाचनले ६ हजार ५४० उम्मेदवारबारे निर्णय गर्ने मात्र होइन, देशको भविष्यको मार्गचित्रसमेत कोर्नेछ । मतपरिणामले आन्दोलनपछिको शक्ति सन्तुलन, नेतृत्वको वैधता र लोकतन्त्रको दिशाबारे पनि स्पष्ट सन्देश दिनेछ ।
मतदाताले प्रतिस्पर्धामा रहेका ६ हजार ५४० उम्मेदवारमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य चुन्नेछन् । अन्तिम नामावलीमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेकामा निर्वाचन आयोगले ६८–७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत मत सदर हुने अपेक्षा गरेको छ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको आयोगले जनाएको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बुधबार पत्रकार सम्मेलन गरी मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैंगिक–अपांगमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण कार्यहरू सम्पन्न भइसकेको बताए । साथै, उनले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन् । ‘निर्वाचन सञ्चालन तथा व्यवस्थासम्बन्धी सबै कार्य पूरा भएको छ,’ उनले भने, ‘मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्तिसुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको छ ।’
आयोगले मतदानमा सहभागी हुन अपिल गरेको छ । प्रवक्ता नारायण भट्टराईले विज्ञप्ति जारी गरेर निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र हैन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै भएको उल्लेख गरिएको छ ।
‘आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र हैन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो । निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि चुन्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा अप्रत्यक्ष संलग्न हुने अवसर हो,’ विज्ञप्तिमा भनिएको छ ।
यो प्रक्रियाको पूर्णताले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने भएकाले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा अपिल गरिएको छ ।
मतदानको दिन आयोगले देशभरिको संयन्त्रसँग समन्वय गर्छ । आयोगका रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)ले मतदानका क्रममा आउन सक्ने जुनसुकै समस्यामा सहजीकरण गर्छ । थप जनशक्ति परिचालनको निर्णय, थप निर्वाचन सामग्री पठाउने, थप निकासा दिनेजस्ता निर्णय जेइओसीले गर्ने प्रवक्ता नारायण भट्टराईले बताए । आयोगले हरेक दुई घण्टामा मतदानको अपडेट दिनेछ ।
बुथको सुरक्षामा हवाई गस्ती हुनेछ । गुप्तचरबाट सूक्ष्म अनुगमन हुनेछ । विदेशी पाहुना र पर्यवेक्षकले पर्यवेक्षण गर्नेछन् । अनुमतिविना सवारी चलाउन पाइनेछैन । मतदानका कुनै पनि कार्यमा अवरोध गर्नेलाई ‘अन द स्पट’ कारबाही गरिनेछ ।
नेपालमा २०१५ सालदेखि संसदीय निर्वाचन हुँदै आएको छ । हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुने गर्छ । तर, यसपटक मध्यावधि निर्वाचन हुँदै छ । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति तोकिएको थियो ।
२३ हजार ११२ मतदान केन्द्र
मतदाताले १० हजार ९६७ मतदानस्थल तथा २३ हजार ११२ मतदान केन्द्रमा गएर मतदान गर्नेछन् । आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदीबन्दीको मतदानका लागि १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । एक लाख ८६ हजार १४२ अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन् ।
मतदान केन्द्रको नेतृत्व नासुदेखि उपसचिवसम्मले गरेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा ९ देखि १२ जनासम्म कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा १० जना सुरक्षाकर्मी (प्रहरी र म्यादी) खटिएका छन् ।
सशस्त्र प्रहरी र सेना बाहिरी घेरामा ब्याक फोर्सका रूपमा रहेको छ । मतदान केन्द्रमा कुल दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।
दुई मतपत्रमा मतदान गर्नुपर्ने
प्रतिनिधिसभा निर्वाचनमा मतदाताले आफ्नो स्वविवेकले दुई मतपत्रमा मतदान गर्नुपर्नेछ । प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्र हुनेछन् । हरेक मतदान केन्द्रमा दुइटा मतपेटिका हुनेछ । प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र र समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र गरी कुल चार करोड २२ लाख ५१ हजार दुई सय मतपत्र मतदान केन्द्र पुगिसकेको छ । मतपत्रका लागि करिब ४७ हजार मतपेटिकाको व्यवस्थापन गरिएको छ ।
उपत्यकाका १८ केन्द्रमा विदेशी पाहुना पुग्ने, ५ हजार पर्यवेक्षक
आयोगका सहसचिव ज्ञानहरि घिमिरेका अनुसार ८ वटा देशका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू निर्वाचन अवलोकन गर्न नेपाल आएका छन् । माल्दिभ्स र श्रीलंकाका प्रमुख आयुक्त आएका छन् । भारत र पाकिस्तानले भने पाहुना पठाएनन्, दूतावासकै प्रतिनिधि खटाउने भएको छ ।
यसबाहेक भुटान, बंगलादेश, मलेसिया, इन्डोनेसिया, जापान र रसियाबाट निर्वाचन आयुक्तहरू आएका छन् । उनीहरूलाई कार्यवाहक प्रमुख आयुक्त भण्डारीले ब्रिफिङ गरिसकेका छन् । विदेशी पाहुनाले उपत्यकाका १८ मतदानस्थलको अनुगमन गर्ने सहसचिव घिमिरेले बताए । विदेशी पाहुनाहरूलाई तीन समूहमा विभाजन गरेर ६/६ वटा मतदानस्थलको अवलोकन गराइनेछ ।
मतदानका क्रममा ३९ वटा राष्ट्रिय संस्था र ४ वटा अन्तर्राष्ट्रिय संस्थाबाट करिब पाँच हजारजनाले पर्यवेक्षण गर्दै छन् । नेपालस्थित सबै कूटनीतिक नियोगहरूबाट समेत मतदानको अवलोकन गर्दै छन् । दिल्लीबाट नेपाल हेर्ने ८ नियोगका प्रतिनिधिले पनि अवलोकन गर्नेछन् ।
मतदान गर्न चाहिने परिचयपत्र
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले ६ प्रकारका परिचयपत्रबाट मतदान गर्न पाउनेछन् । मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारीचालक अनुमतिपत्रले मतदान गर्न पाइनेछ । सञ्चारकर्मीको हकमा माथिका ६ वटै परिचयपत्र नभएको अवस्थामा सूचना विभागबाट जारी प्रेसपासमार्फत समेत मतदानको व्यवस्था मिलाइएको छ ।
सुरक्षा रणनीति
निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधिहरू रोक्न आयोगले कडा सुरक्षा प्रबन्ध मिलाएको छ । प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरेको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
आयोगले अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्ती गरिने जनाएको छ । ०६४ देखि भएका घटनाहरू, अस्वाभाविक मतदान भएको आधारमा केही स्थललाई विशेष संवेदनशील सूचीमा राखेर हवाई गस्ती थालिएको हो । ‘बुथ कब्जा, अस्वाभाविक मतदान भएका ठाउँमा हवाई गस्तीसहित सूक्ष्म निगरानी छ,’ कार्यवाहक आयुक्त भण्डारीले भने । आयोगले सेनाका दुई ठुला हेलिकोप्टरबाट हवाई गस्ती गर्नेछ । ‘ढुवानी नपुगेमा निजी पनि हायर गर्छाैँ,’ उनले भने ।
निर्वाचनमा खटिए साढे पाँच लाख कर्मचारी र सुरक्षाकर्मी
निर्वाचनमा साढे पाँच लाख कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन आयोगले मतदानको तयारीदेखि नतिजासम्मको निर्वाचनको सम्पूर्ण प्रक्रियामा सहभागी आवश्यक पर्ने कर्मचारी र सुरक्षाकर्मी खटाएको हो ।
निर्वाचन आयोगका अनुसार देशभरका २३ हजार ११२ निर्वाचन केन्द्रमा आवश्यक संख्यामा कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ । असोजदेखि नै निर्वाचनको तयारीमा जुटेको आयोगले माघदेखि निर्वाचन प्रयोजनमा कर्मचारी र सुरक्षाकर्मीसमेत परिचालन गर्न थालेको थियो । निर्वाचन कार्यतालिकाअनुसार आयोगले निर्वाचन सम्पन्न गराउने गरी कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेको थियो ।
आयोगका अनुसार चुनावमा साढे पाँच लाख सुरक्षाकर्मी तथा कर्मचारी परिचालित भएका छन् । जसमध्ये७९ हजार ७२७ सेना, ७५ हजार ४९७ नेपाल प्रहरी, ३४ हजार ५७६ सशस्त्र प्रहरी, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी, एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी र दुई लाख १३ हजार निजामती कर्मचारी छन् । मतदान गर्नेहरूको संख्या, उक्त स्थानको संवेदनशीलतालगायत हेरेर कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ ।
बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै दुवै निर्वाचन प्रणालीतर्फको मतगणना प्रारम्भ हुने निर्वाचन कार्यतालिकामै तोकिएको छ । मतपेटिका संकलन भएपछि सर्वपक्षीय सहमतिका आधारमा स्थानीय परिवेश र सुरक्षा समितिसँगको छलफलका आधारमा मतगणना सुरु हुने आयोगको भनाइ छ ।
आजै साँझदेखि मतगणना १० दिनभित्र सबै परिणाम
मतदान सकिएर मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई बुझाइसकेपछि दलहरूको समन्वयमा मतगणना प्रारम्भ हुनेछ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले काठमाडौं उपत्यका र प्रदेश राजधानीलगायत सुगम ठाउँमा साँझ नै मतगणना सुरु हुने बताए । ‘दुर्गम र सर्वदलीय सहमति हुन सकेका ठाउँमा भोलिपल्ट बिहान गणना कार्य सुरु हुन्छ,’ उनले भने । मतगणनास्थलमा सिसिक्यामेरा जडान गरिएको छ । तर, तारजालीलाई आयोगले अनिवार्य गरेको छैन । ‘तारजाली निर्वाचन अधिकृतले आवश्यकताअनुसार प्रयोग गर्न सक्छन्,’ भण्डारीले भने । आयोगले मतदान सम्पन्न भएपछि १० दिनभित्र सबै परिणाम दिने योजना बनाएको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले ढिलोमा फागुन मसान्तभित्रै सबै परिणाम आउने र चैत दोस्रो साता राष्ट्रपतिलाई परिणामसहित प्रतिवेदन बुझाउने बताए । आयोगले प्रत्यक्षको तीन दिन र त्यसको पाँच दिनभित्र समानुपातिक मतगणना सकेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ ।