प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार हुने मतदानमा सिराहाका दुई उम्मेदवारले आफैँलाई भोट हाल्न नपाउने भएका छन्।
सिराहा निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार सन्तोष सिलवाल र क्षेत्र नं. २ श्रम संस्कृति पार्टीका उम्मेदवार गंगाराम ठाकुरले आफ्नो भोट आफैँलाई हाल्न नपाउने भएका हुन्।
काठमाडौं टोखा नगरपालिका- ५ धापासी घर भएका सिलवालको नाम मतदाता सूचीमा नाम उतै भएकाले आफ्नो लागि भोट हाल्न नपाउने भएका हुन्। त्यस्तै, ठाकुरको नाम क्षेत्र नं. ३ मा पर्ने गोलबजार नगरपालिका- ६ स्थित जनहित मा.वि. डोहटिया मतदानस्थलमा भएकाले उम्मेदवार भए पनि आफ्नो भोट अन्यलाई दिनुपर्ने, तर आफूलाई दिन नपाउने भएका हुन्।
सिराहाको चारवटा निर्वाचन क्षेत्रबाट विभिन्न सानाठुला दल र स्वतन्त्र गरी एक सय ३८ जना प्रतिस्पर्धामा छन्। निर्वाचनमा विभिन्न दलबाट तीन र पाँच स्वतन्त्र गरी आठजना महिलासहित ५३ दलीय र ८५ स्वतन्त्र उम्मेदवार छन्। कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेको जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य मतदता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार निर्वाचनका लागि जिल्लाभर पाँच सय ३४ मतदान अधिकृत, त्यति नै संख्यामा मतदान अधिकृत, जिल्ला कारागार र नेपाली सेनाको चोहर्वास्थित नन्दाबक्स गण गरी तीनवटा अस्थायी केन्द्रबाहेक हरेकमा तीन-तीनजना सहयोगी गरी चार हजार सात सय ९४ जना कर्मचारी खटिएका छन्।
निर्वाचन सुरक्षाका लागि जिल्लाभर एक हजार चार सय नेपाल प्रहरी, ६ सय नेपाली सेना, सात सय सशस्त्र प्रहरी र तीन हजार आठ सय निर्वाचन प्रहरीसहित हरेक पालिकामा दुई-दुईजनाको दरले राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको छ।