प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदानको एक दिनअघि मौन अवधिमा मंगलबार राति सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार करिब ५४ वर्षीय अशेश्वर यादव पक्राउ परेका छन् ।
सिराहाको विष्णुपुर गाउँपालिका– ५ घर भएका यादवलाई निर्वाचन सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीले निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत नेपाल–भारत सीमामा पर्ने माडर बजार हुँदै सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार राति करिब साढे १२ बजेतिर माडर बजारदेखि उत्तर पर्ने शिवचोकमा स्कारपियो रोकेर चेकजाँच गर्दा गाडीबाट चार लाख ८७ हजार रुपैयाँ बरामद भएपछि उम्मेदवार यादव, गाडीचालकसहित अन्य पाँचजनालाई नियन्त्रणमा लिइएको छ । स्कारपियोमा उम्मेदवार यादवसहित अन्य को–को थिए भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन ।
निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले उम्मेदवारलाई नगदसहित पक्राउ गरको भन्ने सूचना आएको भए पनि प्रहरीले आवश्यक अनुसन्धानपछि आफूहरूकहाँ बुझाउने भएकाले प्रहरीबाट ल्याइएपछि मात्र के–कसो गर्ने भन्ने निर्णय गरिने प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले बताए । मौन अवधिमा उम्मेदवारहरूले रकम बाँड्ने चर्चा हुने गरेको भए पनि सिराहामा पहिलोपल्ट उम्मेदवार नै नगदसहित पक्राउ परेका हुन् ।