- एक मात्र अपराजित टोली दक्षिण अफ्रिकाले बुधबार कोलकाताको इडन गार्डेन रंगशालामा न्युजिल्यान्डको सामना गर्दै
१०औँ संस्करणको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल बुधबार सुरु हुँदै छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डको सामना कोलकाताको इर्डन गार्डेन रंगशालामा गर्दै छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आायोजना गरिरहेको विश्वकपमा आयोजक भारत र इंग्ल्यान्डले अन्तिम चारको स्थान बनाएका छन् । दक्षिण अफ्रिका समुह ‘१ को विजेता र न्युजिल्यान्ड समूह ‘२’ को उपविजेता हुन् ।
भारत समूह ‘१’ मा दोस्रो तथा इंग्ल्यान्ड समूह ‘२’ मा पहिलो स्थानमा रहँदै अन्तिम चारको स्थान पक्का गरेका थिए । योपटक सेमिफाइनलमा पुगेका चार राष्ट्र कीर्तिमाननजिक छन् । भारत वा इंग्ल्यान्डमध्ये एक विश्वकप हुँदा सर्वाधिक तीनपटकको च्याम्पियन बन्नेछ । दक्षिण अफ्रिका र न्युजिल्यान्डमध्ये एक टोली च्याम्पियन हुँदा पहिलोपटक ट्रफी हात पार्नेछ ।
यसकारण जोकोही राष्ट्र फाइनल पुगे पनि यसपटकको विश्वकपमा इतिहास बन्ने पक्का छ । भारत र इंग्ल्यान्डले समान दुईपटक उपाधि जितेका छन् । इंग्ल्यान्ड र दक्षिण अफ्रिका भने उपाधिविहीन छन् । दक्षिण अफ्रिका साबिक उपविजेता हो । ५ मार्चमा हुने इंग्ल्यान्ड र भारतबिचको नतिजाले एक विजेता बाहिरिनेछ । सेमिफाइनल स्थान बनाएका राष्ट्रहरूको विश्लेषण यस्तो छ ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाको यो १०औँ सहभागिता हो । दक्षिण अफ्रिका अहिलेसम्म आइसिसीले आयोजना गरेको ठुला प्रतियोगितामा सधैँ अभागी साबित हुँदै आएको छ । दक्षिण अफ्रिकाले हालसम्म आइसिसी विश्वकपको उपाधि जित्नसकेको छैन । गत संस्करणको टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकी भारतसँग सात रनले पराजित भएको थियो । यसपटक दक्षिण अफ्रिका उत्कृष्ट फर्ममा छ । ब्याटिङ, बलिङ र फिल्डिङमा दक्षिण अफ्रिका सधैँ उत्कृष्ट मानिन्छ । समूह चरणदेखि सुपर ८ सम्म कुनै पनि खेल नगुमाउने एक मात्र टोली दक्षिण अफ्रिका नै हो ।
दक्षिण अफ्रिकाले समूह ‘डी’ चारवटै खेल जितेको थियो । त्यसपछि सुपर ८ को समूह ‘१’ मा पनि उसले तीनवटै खेलमा सानदार प्रदर्शन गरी अन्तिम चार स्थान बनायो । समूह चरणमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रन, अफगानिस्तानलाई दोस्रो सुपरओभर, न्युजिल्यान्डलाई सात विकेट र युएईलाई ६ विकेटले पराजित गर्र्दै सुपर ८ को स्थान पक्का गर्यो । दक्षिण अफ्रिकाले सुपर ८ मा साविक विजेता भारतलाई ७६ रन, वेस्ट इन्डिजलाई नौ विकेट र अन्तिम खेलमा जिम्बाब्वेलाई पाँच विकेटले हरायो । टोलीका कप्तान एडेन माक्राम सर्वाधिक रन बनाउने सूचकिो तेस्रो स्थानमा छ । उनले सात खेलमा २६८ रन बनाउन तीनवटा अर्धशतकीय इनिङ्स खेलेका छन् । यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचीमा दक्षिण अफ्रिकाका लुंगीले ६ खेलमा १२ विकेट लिएका छन् ।
न्युजिल्यान्ड
न्युजिल्यान्डको पनि विश्वकपमा १०औँ सहभागिता रहेको छ । विश्व क्रिकेटमा राम्रो टोली भए पनि न्युजिल्यान्ड पनि आइसिसी विश्वकपको उपाधि विमुख छ । न्युजिल्यान्डको उत्कृष्ट प्रदर्शन नै सन् २०२१ को टी–२० विश्वकपको फाइनलसम्म पुग्नु थियो । चालू विश्वकपमा न्युजिल्यान्डले दुई खेल मात्र गुमाएको छ । समूह चरणमा न्युजिल्यान्डले अफगानिस्तानलाई पाँच विकेट र युएईलाई १० विकेटले हराएको थियो । समूह चरणको तेस्रो खेलमा दक्षिण अफ्रिकासँग न्युजिल्यान्ड सात विकेटले पराजित भयो । त्यसपछि उसले क्यानडामाथि आठ विकेटले हराउँदै सुपर ८ को स्थान पक्का गर्यो । न्युजिल्यान्डले सेमिफाइनल स्थान रक्षा गर्न रनरेटको सहायता लियो । सुपर ८ को समूह ‘२’ मा न्युजिल्यान्ड र पाकिस्तानले समान तीन अंक जोडेका थिए । नेट रन रेटमा पाकिस्तानलाई पछि पार्दै न्युजिल्यान्ड सेमिफाइनल स्थान पक्का गर्यो । पहिलो खेल पाकिस्तानसँग अनिर्णीत अवस्थामा सकिएको थियो । सुपर ८ मा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले हरायो ।
न्युजिल्यान्ड इंग्ल्यान्डसँग चार विकेटले पराजित भएको थियो । चालू विश्वकपमा न्युजिल्यान्डका टिम सिफर्टले ६ इनिङ्समा २१६ रन बनाएका छन् ।
उनले दुई अर्धशतक बनाएका छन् । न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर रचिन रवीन्द्र हुन् । उनले पाँच इनिङ्समा नौ विकेट लिएका छन् । न्युजिल्यान्ड यसपटक उपाधि दाबेदारका रूपमा छ ।
भारत
पहिलो संस्करणकै विजेता भारतले पनि लगातार १०औँपटक विश्वकप खेलिरहेको छ । वेस्ट इन्डिज, इंग्ल्यान्डजस्तै भारतले पनि समान दुईपटक उपाधि जितेको छ । प्रतियोगिताकै साबिक विजेताका रूपमा रहेको भारतले सुपर ८ मा वेस्ट इन्डिजमाथि सानदार जित निकाली सेमिफाइनल स्थान पक्का गरेको हो । भारतीय समूह ‘ए’ मा शतप्रतिशत नतिजा निकालेको थियो । भारतले अमेरिकालाई २९ रन, नामिबियालाई ९३ रन, पाकिस्तानलाई ६१ रन र नेदरल्यान्ड्सलाई १७ रनले हराएको थियो । सुपर ८ मा भारतले एक खेलमा मात्र हारको सामना गर्यो । सुपर ८ चरणमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले स्तब्ध पारेको थियो । त्यसपछि जिम्बावेलाई ७२ रनले र वेस्ट इन्डिजलाई पाँच विकेटले पराजित गरेको थियो । कप्तान सूर्यकुमार यादवले २३१ रन जोडेको छ । उसले एउटा अर्धशतक प्रहार गरेका छन् । भारतका लागि सर्वाधिक विकेट लिने बलर भने वरुण चक्रवर्ती हुन् । उनले सात खेलमा कुल १२ विकेट लिएका छन् । भारत तेस्रोपटक टी–२० विश्वकपको उपाधि जित्ने योजनामा छ ।
इंग्ल्यान्ड
इंग्ग्ल्यान्डले पनि लगातार टी–२० विश्वकप खेलिरहेको छ । इंग्ल्यान्ड दुईपटकको विजेता हो । यसपटक इंग्ल्यान्ड उपाधि दाबेदारका रूपमा छ । उसले चालू विश्वकपमा एक खेल मात्र गुमाएको छ । इंग्ल्यान्डले समूह ‘सी’को पहिलो खेलमा नेपालबाट कडा चुनौती पाएको थियो । एसोसिएट राष्ट्र नेपाललाई चार रनले निराश बनाउन इंग्ल्यान्डले ठुलो परिश्रम गर्नुपरेको थियो । वेस्ट इन्डिजसँग ३० रनले पराजित भएको इंग्ल्यान्डले तेस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले र चौथो खेलमा इटालीलाई २४ रनले हराएको थियो । सुपर ८ मा इंल्यान्डले श्रीलंकालाई ५१ रनले र पाकिस्तानलाई दुई विकेटले पाखा लगायो । इंल्यान्डले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई चार विकेटले हराएको थियो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले सात खेलमा २२८ रन जोडेका छन् । उसले समान एक शतक र अर्धशतक प्रहार गरेका छन् । चालू विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर आदिल रसिद हुन् । उनले सातै खेलमा ११ विकेट लिएका छन् । लियाम दाबसनले १० विकेट हात पारेका छन् ।