- मध्यपूर्वी एसियामा बढ्दो तनाव र युद्धका कारण आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र युएईबिचको त्रिकोणात्मक एकदिवसीय सिरिज अनिश्चित देखिएको छ । सिरिज त्रिवि क्रिकेट मैदानमा २६ फागुनदेखि ६ चैतसम्म हुनेछ ।
मध्यपूर्व एसियामा तनाव बढ्दा नेपालमा तय भएको आइसिसी विश्वकप लिग २ का खेल अन्योलमा परेको छ । विश्वकप लिग २ सिरिज अन्तर्गत १२ मार्चमा आयोजक नेपालसँगै युएई र ओमानबिच प्रतिस्पर्धा हुँदै छ । सिरिज आगामी २६ फागुन देखि ६ चैतसम्म त्रिवि क्रिकेट मैदानमा हुने तय थियो । मध्यपूर्वी एसियामा पछिल्लो समयको घटनाक्रमअनुसार युएईको भ्रमण अनिश्चित बनेको छ । संयुक्त इमिरेट्स क्रिकेट बोर्ड (इसिबी)ले क्षेत्रीय अवस्थाको विकासक्रमलाई नजिकबाट नियालिरहेको छ ।
अहिलेको परिस्थितिका कारण युएईले नेपाल भ्रमण गर्ने वा नगर्ने निर्णय हुन बाँकी छ । निर्धारित कार्यक्रमअनुसार युएईको क्रिकेट टोली आगामी शुक्रबार (२२ फागुन)मा काठमाडौं आउने तालिका थियो । युएईले आउने वा नआउने सम्बन्धमा केही आधिकारिक जानकारी नभएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । युएई मात्र नभएर ओमानको समेत भ्रमण अनिश्चित बनेको छ ।
ओमान र युएईले मध्यपूर्वी एसियाकै अन्तर्राष्ट्रिय हवाई रुटअनुसार नेपाल आउनुपर्ने हुन्छ । अहिले त्यस क्षेत्रको हवाई रुट सुचारु छैन । खाडी क्षेत्रमा इरानद्वारा गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि युएईको हवाई क्षेत्र बन्द छ । आइसिसीले विश्वकप लिग २ को आगामी सिरिजबारेमा निर्णय लिने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । स्थिति हेरेर आइसिसीले सिरिजको विषयमा एक वा दुई दिनमा निर्णय गर्ने लामाले बताए । यसैबिच इसिबीले युएईको राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल पठाउने वा नपठाउने भन्नेबारे आयोजकसँग समन्वय भइरहेको जनाएको छ । यसअघि पनि युएई टोलीले विभिन्न कारणले विश्वकप लिग २ का खेल स्थगित भएको थियो ।
सन् २०२० मा ओमानका शासक सुल्तान काबुस बिन सइदको निधन भएपछि विश्वकपका लिग २ को खेल तालिका प्रभावित बनेको थियो । सन् २० २१ मा युएईमा आएको आँधीबेहरी तथा नामिबियामा रहँदा नयाँ कोरोना भेरियन्ट फेला परेपछि पनि खेल सारिएका थिए । यो लिग २ आगामी ५० ओभरको विश्वकपका लागि छनोट प्रक्रियाको हो । यसमा सबै टोलीले समान चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने तय छ ।
युएई अंकतालिकाको पुछारमा
विश्वकप लिग २ को अंकतालिकामा युएई पुछारमा छ । युएईले अहिलेसम्म २० खेल खेलेको छ, जसमा पाँच जितका १० अंक जोडेको छ । आगामी सिरिजको आयोजक राष्ट्र नेपाल सातौँ स्थानमा छ । नेपालले २० खेलमा पाँच जित र १३ हार सामना गरी १२ अंक जोडेको छ । नेपाल भ्रमण गर्ने ओमान २४ अंकका साथ चौथो स्थानमा छ । ओमानले २० खेलमा ११ जित र सात हार निकाली २४ अंक जोडेको छ । लिग २ मा अमेरिकाले सर्वाधिक ३६ अंक जोडेको छ । अमेरिका शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ३० अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले सबैभन्दा १८ जित निकालेका छ । स्कटल्यान्डले १३ जित हात पारेका छ । युरोपियन राष्ट्र नेदरल्यान्ड्सले १३ जितका साथ २८ अंक बटुलेको छ । नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।