- माल्दिभ्समा आगामी २३ मार्चदेखि ४ अप्रिलसम्म हुने च्याम्पियनसिपमा नेपालले समूह ‘ए’मा आयोजक माल्दिभ्स, श्रीलंका र भुटानविरुद्ध खेल्ने
नेपालले धर्बेन्द्र कुँवरको कप्तानीमा दक्षिण एसियाली यू–२० फुटबल च्याम्पियनसिप (साफ) खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार कुँवरको कप्तानीमा टोली घोषणा गरेको हो । प्रतियोगिता आगामी २३ मार्च देखि ४ अप्रिलसम्म माल्दिभ्सको मालेमा हुनेछ । नेपाली टोलीका कप्तान कुँवर जावलाखेल युथ क्लबको एकेडेमीका उत्पादन हुन् । गत वर्ष भारतमा भएको साफ यू–१९ च्याम्पियनसिप कुँवरले प्रतिस्पर्धा गरेका थिए ।
नेपालका मुख्यप्रशिक्षक उर्जन श्रेष्ठले साफ यू–२० मा उत्कृष्ट नतिजा निकाल्न सिनियर टोलीका सुवास बम ठकुरीलाई पनि समेटिएका छन् । एन्फाले घोषणा गरेको २० सदस्यीय अन्तिम नेपाली टोलीमा गोलरक्षक भक्तबहादुर परियार छन् । विजयी उराउ, विज्ञान खड्का, पवन पाख्रिन, प्रशान्त मोक्तानलगायतका खेलाडी यू–२० टोलीमा स्थान बनाउन सफल भए ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलंका छन् । यसैगरी समूह ‘बी’मा बंगलादेश, भारत र पाकिस्तान छन् । यू–२० साफ च्याम्पियनसिपमा नेपाल साबिक उपविजेता हो । सन् २०२४ मा नेपालमै आयोजना भएको च्याम्पियसिपको फाइनलमा नेपाल बंगलादेशले ४–१ ले पराजित गरेको थियो । बंगलादेशले पहिलोपटक यो फम्र्याटको उपाधि हात पारेको थियो ।
प्रतियोतिगामा बंगलादेश, भारत, माल्दिभ्स र नेपालले समान आठ प्रतिस्पर्धा सहभागिता जनाइसकेका छन् । भारतले सर्वाधिक सफल राष्ट्र हो । उसले साफ यू–२० च्याम्पियनसिप तीनपटक जितेको छ । सन् २०१९, ०२२ र ०२३ मा भारतले ट्रफी उचालेको थियो । नेपालले दुईपटकको विजेता हो । नेपालले सन् २०१५ र ०१७ को संस्करण जितेको थियो । पाकिस्तानको यो दोस्रो सहभागिता हो । सन् २०२३ मा पाकिस्तानले डेब्यु गरेको संस्करणमै उपविजेता उपाधि हात पार्यो । त्यसबेला पाकिस्तानमाथि भारतले फाइनलमा जित निकालेको थियो । यसपटकको आयोजक माल्दिभ्स सन् २०१९ मा उत्कृष्ट स्थानका रूपमा तेस्रो भएको थियो । यसैगरी, भुटान सन् २०१७ र ०१९ मा चौथो भएको थियो ।
नेपालको पहिलो खेल भुटानसँग
यू–२० साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रूपमा भुटान पाएको छ । नेपालले २३ मार्चमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । पहिलो खेलपछि एक दिन ब्रेक छ । नेपालले २५ मार्चमा श्रीलंकाविरुद्ध खेल्नेछ । समूह ‘ए’को अन्तिम खेलमा नेपालले २७ मार्चमा आयोजक माल्दिभ्सविरुद्ध खेल्ने खेल तालिका छ । समूह चरणको खेल राउन्ड रोबिनअनुसार हुनेछ ।
दुई वर्षअघि नेपाल उपविजेता हुँदा मुख्य प्रशिक्षक उर्जेन नै थिए । यसपटक पनि उनकै प्रशिक्षणमा नेपालले प्रतिस्पर्धा गर्नेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल १ अप्रिलमा हुनेछ । ३ अप्रिलमा उपाधि भिडन्त हुने आयोजकले जनाएको छ ।
नेपाली टोली
धर्वेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभ पुरी, भक्तबहादुर परियार, विजया उराउ, विज्ञान खड्का, विनायक थारू, गणेश पुलामीमगर, झोन विष्ट, निशानराज लावती, पवन पाख्रिन, पेमा नोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिनकुमार लुंगेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डंगोल ।