महोत्तरीको बर्दिवास र धनुषाको लालगढ जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको रातु पुलमा दुई शंकास्पद वस्तु भेटिएकोमा एक विस्फोट भई दुईजना सामान्य घाइते भएका छन् भने अर्को नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ।
कैलालीको घोडाघोडी नगरपालिका– १० घर भएका १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी सामान्य घाइते भएका हुन्। पुलछेउमा राखिएको शंकास्पद वस्तु लात्तीले हिर्काउँदा विस्फोट भई दुईजना सामान्य घाइते भएका हुन्।
विस्फोटपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले पुल घेरा हाली एरिया सुरक्षित बनाउँदै नेपाली सेनालाई डाकेको थियो। सेनाको गोरखनाथ गणको बम डिस्पोजल टोलीले सोही स्थानमा रहेको अर्को शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले बताए। घाइते अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थाको नरहेको उनको भनाइ छ।
शंकास्पद वस्तु भेटिएपछि आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।