काठमाडौंबाट गाउँ फर्के लाखौँँ मतदाता

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण
काठमाडौंबाट गाउँ फर्के लाखौँँ मतदाता

निर्वाचनका लागि घर जान गोंगबु बसपार्कमा देखिएको भिड । तस्बिर : अमुल थापा, दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

  • निर्वाचनको मुखमा लाखौँ मानिसले उपत्यका छाड्नु लगातार बिदा र होली पर्वको यात्रा मात्रै होइन, बरु यो आफ्नो मतमार्फत लोकतन्त्र र संविधानप्रति भरोसा जनाउँदै राजनीतिक उत्सवमा सहभागिता जनाउनु पनि हो

लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव निर्वाचन नजिकिँदै जाँदा मतदानलाई आफ्नो जिम्मेवारी ठानेर काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ । मतदान, होली पर्व र लगातार सार्वजनिक बिदा एकैपटक परेकाले लाखौँ मानिस गाउँ फर्किने क्रममा छन् । पछिल्लो एक सातामा तीन लाख ४९ हजार ६९५ मानिस काठमाडौंबाट बाहिरिएका छन् । 

तर, १४ फागुनदेखि भने उपत्यका छाड्नेको संख्या बढ्न थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १४ फागुनमा उपत्यकाबाट ४२ हजार ८२२ जना बाहिरिएका थिए भने ३२ हजार ९२३ जना भित्रिएका थिए । 

यस्तै, १५ फागुनमा ५२ हजार ८३ यात्रु बाहिरिएका छन्, जबकि ३२ हजार ९२३ मात्रै भित्रिएका छन् । त्यस्तै, १६ फागुनमा ५२ हजार ६५३ यात्रुहरू बाहिरिएका थिए भने उपत्यका भित्रिने यात्रु संख्या ३३ हजार ८८६ छन् । १७ फागुनमा पनि ठुलो संख्यामा यात्रु बाहिरिएका छन् । सबै प्रकारका सवारीसाधनमार्फत ५३ हजार ४०७ यात्रुहरू बाहिरिए भने ३१ हजार ६७३ यात्रुहरू भित्रिएका छन् । १८ फागुनमा ५७ हजार ३७१ हजार यात्रुले काठमाडौं छाड्दा ३८ हजार पाँच सय यात्रु उपत्यका भित्रिएका छन् । 

‘सडकमा निकै चहलपहल छ, यसले चुनाव नजिकिएको पनि संकेत गर्छ, देश–विदेशबाट गाउँ फर्किनेको संख्या बढेको छ,’ एसएसपी अधिकारीले भने, ‘उपत्यकाका सबैजसो नाकामा १४ फागुनदेखि सवारीसाधनको चाप बढेको छ, अझ हामीसँग भएको तथ्यांकभन्दा बढी यात्रुहरू बाहिरिएका हुन सक्छन् किनभने सबै प्रकारको तथ्यांक ट्राफिकलाई नआएको पनि हुन सक्छ ।’ 

एसएसपी अधिकारीका अनुसार १४ फागुनदेखि उपत्यकाका सबैजसो नाकामा सवारी चाप उल्लेख्य रूपमा बढेको छ । दैनिक सात हजारभन्दा बढी यात्रुवाहक सवारीसाधन बाहिरिन थालेका छन्, जबकि अन्य समयमा यो संख्या चार हजारहाराहारीमा हुन्थ्यो । १५ फागुनमा मात्रै पाँच हजार दुई सय यात्रुवाहक सवारीसाधन बाहिरिएका थिए ।

यसपटक १८–१९ फागुनमा होली, २०–२२ चुनावी बिदा, २३ फागुन शनिबार र २४ फागुनमा नारी दिवस परेकाले लामो बिदा परेको छ । यही कारण चुनावी माहोलसँगै पारिवारिक भेटघाट र पर्व मनाउन गाउँ फर्किनेको संख्या उच्च भएको मानिएको छ । 

ट्राफिक प्रहरीका अनुसार सबैभन्दा धेरै यात्रु मधेश प्रदेशतर्फ गइरहेका छन् । मधेशमा होली धुमधामले मनाइन्छ । यसपटक चुनाव र पर्व सँगै परेपछि यात्रु बढेका हुन् ।

चुनावी यात्रालाई लक्षित गर्दै नागढुंगा, बल्खु, साँखु, भक्तपुरको जगाती, माछापोखरीलगायत नाकामा चेकजाँच कडा पारिएको छ । निर्वाचन सुरक्षामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएकाले सडक व्यवस्थापनमा भने तुलनात्मक रूपमा कम ट्राफिक प्रहरी देखिएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार यसपटक आठ लाखदेखि नौ लाख यात्रुले उपत्यका छाड्ने अनुमान छ । ‘चुनाव मात्र होइन, होली र लामो बिदाले पनि संख्या बढाएको हो,’ उनले भने । उनका अनुसार हाल हिउँदयाम भएकाले बाटोघाटो असहज भने छैन । तर, कतिपय सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्नुपर्ने सिटौलाको भनाइ छ । 

नेपाल प्रहरीले भने ठ्याक्कै यति यात्रु बाहिरिन्छन् भनेर पूर्वानुमान गर्न सकेको छैन । ‘संख्या अझै यकिन गरेका छैनौँ । तर, लाखौँको संख्यामा मानिसले उपत्यका छाड्छन्,’ उनले भने, ‘कति बाहिरिन्छन् भन्ने एक–दुई दिनमा यकिन हुन्छ ।’ अग्रिम टिकट बुकिङ पनि उल्लेख्य बढेको छ । अधिकांशले अनलाइनमार्फत टिकट लिएका छन् भने कतिपय बसपार्कमै पुगेर अग्रिम बुकिङ गरिरहेका कार्यवाहक अध्यक्ष सिटौलाले बताए । 

लोत्से बहुउद्देश्यीय संस्था, अरनिको यातायात, खप्तड यातायात, बुद्धभूमि यातायात, नारायणी यातायात, नमस्ते यातायात, पश्चिम नेपाल बस व्यवसायी समिति, पूर्वी नेपाल बस व्यवसायी समिति, पोखरा बस व्यवसायी समितिले यात्रुहरूलाई टिकट वितरण गर्छन् । हाल अधिकांश बस रिजर्भ भइसकेका छन् । अधिकांश यात्रुले १८ र १९ फागुनको टिकट बनाएका छन् । नयाँ बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी समितिका मधु रानाले धेरैजसोले अनलाइनबाट टिकट बुक गराएको बताए ।

क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन
चुनावका वेला रिजर्भ सवारीसाधनको प्रयोग बढ्ने गरेको छ । कतिपय अवस्थामा उम्मेदवारहरूले मतदातालाई अप्रत्यक्ष रूपमा सवारी व्यवस्थापन गर्ने प्रवृत्ति पनि देखिन्छ । तर, निर्वाचन आयोगले यस्तो कार्य नगर्न निर्देशन दिएको छ । रिजर्भ सवारीमा क्षमताभन्दा बढी यात्रु राखिँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले कडाइका साथ अनुगमन गरिरहेको जनाएको छ । राजमार्गमा समेत ट्राफिक प्रहरी परिचालन गरी नियम उल्लंघन गर्नेविरुद्ध कारबाही भइरहेको एसएसपी अधिकारीले बताए । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन भइसकेका छन् । संवेदनशील क्षेत्रमा सडकस्तरमै सुरक्षा उपस्थिति बढाइएको छ ।

२० फागुनको रातिबाट सवारीसाधन बन्द
सरकारले २० फागुन राति १२ बजेदेखि २१ फागुन साँझ ५ बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । सो समयमा एक पालिकाबाट अर्को पालिकामा सवारीसाधन प्रवेश गर्न दिइनेछैन । यो नियम निजी सवारीमा समेत लागू हुनेछ । एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न, विद्युत्, खानेपानी, औषधि, रक्तसञ्चार सेवा, सञ्चार संस्था र सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालनमा रहनेछन् ।

घर फर्कनेहरू भन्छन्– भोट खेर नजाओस्
जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेशमा हुन थालेको निर्वाचनमा परिवर्तनको आशा बोकेर मतदाता गाउँ फर्कँदै छन् । ‘मतदानका लागि घर जाँदै छु । मैले ०७४ र ०७९ को चुनावमा पनि मतदान गरेको थिएँ,’ नयाँ बसपार्कमा भेटिएका कैलाली चिसापानीमा सुरेश बोहराले सुनाए, ‘यसपटक पनि मत खेर नजाओस् भनेर जाँदै छु ।’ नयाँ बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी समितिको बाहिर टिकट काउन्टरमा भेटिएका गुल्मीका सक्षम ज्ञवालीले यसपटकको चुनावमा फरक किसिमको महत्व रहेकाले भोट दिन जान लागेको सुनाए । ‘दु:ख गरेर भोट हाल्न जानु छ । तर, भोलि नेताहरूले राम्रो गरेनन् भने भोट खेर जान्छ । यसपटक राम्रो उम्मेदवारले चुनाव जिते मात्र सुशासन आउँछ र भ्रष्टाचार रोकिन्छ,’ उनले भने ।

सिन्धुपाल्चोकका गोरखबहादुर कार्की पनि यसपटकको चुनावमा मतदान गर्न उत्साहित छन् । आइतबार जडीबुटीस्थित अरनिको बसपार्कमा भेटिएका उनले यसपटकको भोटको बढी महत्व भएकाले आफू मतदान गर्न गाउँ जान लागेको बताए । ‘मैले यसअघिका थुप्रै चुनावमा भोट दिएँ, तर अझै पनि नेपालमा भ्रष्टाचार भइरहेको छ, अब बन्ने सरकारले भ्रष्टाचार रोकोस्, विदेशमा काम खोज्दै गएकाहरूलाई नेपालमै फर्काउने वातावरण मिलाओस्,’ उनले अपेक्षा सुनाए, ‘अब हाल्ने भोट खेर नजाओस् ।’ अर्घाखाँचीका गगन रेश्मी पनि सोमबार काठमाडौंबाट गाउँ जाने बस चढे । यसपालिको भोट उनको जीवनकै पहिलो हुने भएकाले पनि उत्साहित छन् । 

See More On

सुझावित समाचार