डोल्पाबाहेक सबै निर्वाचनस्थलमा पुगे सुरक्षाकर्मी

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण
  • अतिसंवेदनशीलमा न्यूनतम १३ देखि ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरेको छ । त्यस्तै, संवेदनशीलमा नौ र सामान्यमा ६ सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीका अनुसार ८० सुरक्षाकर्मी परिचालन गरिएका निर्वाचनस्थल १३ वटा छन् ।

हिमाली जिल्ला डोल्पाबाहेक ७६ वटै जिल्लाका निर्वाचनस्थलमा सुरक्षाकर्मी पुगेका छन् । गृह मन्त्रालयका अनुसार डोल्पामा पनि आज (मंगलबार)सम्म पुग्नेछन् ।गृहकी सूचना अधिकारी रमा आचार्यले डोल्पामा हेलिकोप्टरमार्फत मंगलबार बिहानसम्म सुरक्षाकर्मी पुग्ने बताइन् । ‘निर्वाचन सुरक्षाका लागि लगभग सबै निर्वाचनस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् । हुम्ला र डोल्पामा हेलिकोप्टरमार्फत सुरक्षाकर्मी पुर्‍याउनुपर्ने थियो । त्यसमध्ये हुम्लामा आजै सुरक्षाकर्मी पुगिसकेका छन्, डोल्पामा भने भोलि बिहानसम्म पुग्छन्,’ उनले भनिन् । 

अविनारायण काफ्ले, प्रवक्ता, नेपाल प्रहरी
सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचनस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । सोही आधारमा न्यूनतम ६ देखि ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरिएका छन् । धेरै मतदाता भएका निर्वाचनस्थलमा धेरै सुरक्षाकर्मी चाहिन्छ । त्यस्ता ठाउँमा ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

निर्वाचन सुरक्षाका लागि तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी खटिँदै छन् । निर्वाचन आयोगले मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । जसमा निर्वाचन केन्द्र भने २३ हजार ११२ निर्धारण भएका छन् । उक्त निर्वाचनस्थल सुरक्षाका लागि गृहले संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । अतिसंवेदनशीलमा न्यूनतम १३ देखि ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरेको छ । त्यस्तै, संवेदनशीलमा ९ र सामान्यमा ६ सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीका अनुसार ८० सुरक्षाकर्मी परिचालन गरिएका निर्वाचनस्थल १३ वटा छन् । धेरै मतदाता भएको र सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिएको स्थलमा अन्यको तुलनामा धेरै सुरक्षाकर्मी परिचालन गरिएको हो । 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले संवेदनशीलताका आधारमा निर्वाचनस्थलमा ६ देखि ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचनस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । सोही आधारमा न्यूनतम ६ देखि ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरिएका छन् । धेरै मतदाता भएका निर्वाचनस्थलमा धेरै सुरक्षाकर्मी चाहिन्छ । त्यस्ता ठाउँमा ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरिएका छन्,’ उनले भने ।

सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी,  सशस्त्र प्रहरी, गुप्तचर र निर्वाचन प्रहरी गरी कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी निर्वाचनको दौरानमा खटिँदै छन् । जसअनुसार नेपाली सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर एक हजार ९२१ खटिएका छन् । 

निर्वाचन आयोगले १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरे पनि सुरक्षा संयन्त्रले मुलुकभर ११ हजार ९०१ क्षेत्रलाई निर्वाचन स्थल मानेको छ । सोही आधारमा उनीहरूले सुरक्षा संवेदनशीलताको विश्लेषण गरेका छन् । यस क्रममा कतिपय निर्वाचन केन्द्रलाई निर्वाचनस्थलकै हाराहारीमा सुरक्षाकर्मी खटाउनुपर्ने भएकाले यस्तो गरिएको हो । सोही कारण उनीहरूको तथ्यांकमा निर्वाचनस्थलको संख्या बढी हुन पुगेको हो । यस आधारमा अतिसंवेदनशील निर्वाचनस्थलको संख्या ४ हजार ६१४ छ, जुन कुल मतदानस्थलको ३८.७६ प्रतिशत हो । त्यसमध्ये बागमती र मधेश प्रदेशमा मात्रै क्रमश: एक हजार २८८ र एक हजार २४६ गरी कुल २५ सय ३४ छन् । यो कुल अतिसंवेदनशील स्थलको ५४.९१ प्रतिशत हो । 

अतिसंवेदनशीलमध्ये बाँकी ४५.०८ प्रतिशत अर्थात् दुई हजार ८० अन्य प्रदेशका निर्वाचनस्थल छन् । जसअनुसार उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् । 

चार हजार ४४२ मतदानस्थल सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा २३७, कोशीमा ८२१, मधेशमा ७५५, बागमतीमा ४९७, गण्डकीमा ५७७, लुम्बिनीमा ७३८, कर्णालीमा ४२२ र सुदूरपश्चिममा ३९५ छन् । बाँकी दुई हजार ८४५ स्थल भने सामान्य मानिएका छन् ।

निर्वाचन बिथोल्न खोज्ने १४२ पक्राउ 
सुरक्षा संयन्त्रले विगतका निर्वाचनका तुलनामा यो निर्वाचन सुरक्षाका दृष्टिले कम चुनौतीपूर्ण ठानेको छ । किनभने घोषित रूपमै निर्वाचन बहिष्कार गर्ने ठुला राजनीतिक दल यसपटक छैनन् । यद्यपि, स–साना समूह र व्यक्तिले भने निर्वाचन बहिष्कार गरेका छन् । उनीहरूले निर्वाचन बिथोल्न विभिन्न गतिविधि पनि गरेका छन् । प्रहरीले यस्ता गतिविधिमा संलग्न १४२ जनालाई पक्राउ गरेको छ । जसमध्ये ७९ जना हिरासतमा छन् भने ६३ धरौटी तारेखमा छुटेको प्रहरी प्रवक्ता डिआइजी काफ्लेले बताए । ९ जना सोमबार मात्रै पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार यसपटक निर्वाचनमा झडपका घटना न्यून मात्रै भएका छन् । उम्मेदवारी दर्ता हुने दिन झापामा झडपका केही घटना भए पनि अन्यत्र शान्तिपूर्ण भएको प्रहरीको भनाइ छ । सुरक्षा सतर्कता मजबुत भएकाले झडपका घटना रोकिएको डिआइजी काफ्लेले बताए ।  

‘विगतका निर्वाचनका तुलनामा यसपटक झडपका घटना हुँदै भएन भन्दा पनि हुन्छ । उम्मेदवारी दर्ताका दिन झापामा केही घटना भए । तर, त्यो तत्कालै नियन्त्रणमा आयो । अन्यत्र त्यस्ता कुनै घटना भएनन् । त्यसो हुँदा हालसम्म शान्तिपूर्ण तवरले नै निर्वाचनमा प्रचारप्रसार भएको देखिन्छ,’ उनले भने ।
 

सुझावित समाचार