मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो साढे ३ बजेको समयमा हेटौँडा उपमहानगरपालिका– १०, भुटनदेवी मोडस्थित बाइपास सडक खण्डमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा–५, शान्तिनगरका अन्दाजी १८ वर्षीय क्षितिज रायमाझी रहेका छन्। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौँडा बसपार्कतर्फबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको गाडीले ठक्कर दिएको थियो।
गम्भीर घाइते रायमाझीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा अपराह्न ४ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
स्कुटरको पछाडि सवार हेटौँडा–७ बस्ने अन्दाजी १९ वर्षीय संगम झाको हातखुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र मकवानपुर अस्पतालमा उपचार भइरहेको छ। गाडीका चालक बाराको अमलेखगन्ज बस्ने अन्दाजी २० वर्षीय शेरचन बललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि फागुन १४ गते राति पिकअप गाडीको ठक्करबाट घाइते भएका एक निर्वाचन प्रहरीको उपचारको क्रममा सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–७ घर भएका अन्दाजी २४ वर्षीय निर्वाचन प्रहरी पवन साह रहेका छन्।
प्रहरीका अनुसार १४ गते राति करिब पौने ३ बजे हेटौँडा उपमहानगरपालिका–८ कर्रा पुलनजिक पूर्व–पश्चिम सडक खण्डमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत साह घाइते भएका थिए।
गम्भीर घाइते साहको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न पिकअप र चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने अन्दाजी २५ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।