जिल्लाको रौतामाई गाउँपालिका–५, फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट-दिक्तेल सडक खण्डमा फागुन १८ गते बोलेरो गाडी दुर्घटना भएको छ।
दुर्घटनामा परी खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–७ बस्ने अन्दाजी २५ वर्षीय रविन गेलाल र २८ वर्षीय अनिश कटुवाल घाइते भएका छन् ।
गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। उक्त गाडीमा चालक र एकजना यात्रु मात्र सवार रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको थियो । दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ।