घरपरिवारसँगै बसेर होली मनाउन स्थानीय प्रशासनको आग्रह

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

सिराहाको स्थानीय प्रशासनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई असर नपर्ने गरी घरपरिवारसँगै बसेर रङहरूको पर्व होली तथा तथा फागुपूर्णिमा मनाउन आग्रह गरेको छ । 

सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले होली तथा फागुपूर्णिमा मनाउनेसम्बन्धी सूचना जारी गर्दै आगामी तीन दिनपछि हुन गइरहेको मतदानलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपले सम्पन्न गर्न निर्वाचनलाई असर पर्ने गरी सार्वजनिक स्थलमा कुनै पनि होली मिलन तथा अन्य कार्यक्रम नराख्न आग्रह गरेका छन् । ‘मतदानमा सम्पूर्ण जिल्लावासी सक्रिय सहभागी हुने वातावरण सिर्जन गर्नु सबैको दायित्व हो,’ सूचना भनिएको छ, ‘त्यसैले आफ्नो घरपरिवारसँग बसेर शान्तिपूर्ण, सौहार्द तथा उल्लासपूर्ण रूपले होली मनाउन आग्रह गर्दछौँ ।’ 

सूचनामा होली तथा फागुपूर्णिमामा इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, बाटो हिँड्ने सर्वसाधारणलाई दुःख हैरानी दिने, बाटो अवरोध गरी रकम असुल्ने, मादक पदार्थ र नशालु पदार्थ खाने–खुवाउने नगर्न आग्रह गरिएको छ । 

‘होलीमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, सार्वजनिक स्थलमा हो–हल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने तथा व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कुनै पनि किसिमको कार्यहरू नगर्न–नगराउन सूचित गर्दछौँ,’ सूचनामा भनिएको छ, ‘अन्यथा त्यस्ता अवाञ्छित क्रियाकलापहरू गरे–गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’ आपसमा रङ–अबिर लगाएर शुभकामना आदान–प्रदान, नाचगान रमाइलो गरिने होली सोमबार पहाडी तथा मंगलबार तराईका जिल्लाहरूमा मनाइँदै छ । 
 

सुझावित समाचार