धनचौरीको मुक्त कमैया बस्ती : चुनावका वेला आश्वासन लिएर नेताहरू आउँछन्, चुनावपछि विकासका योजना आउँदैनन्

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

गोदावरी नगरपालिका– ९ स्थित धनचौरी मुक्त कमैया शिविरका खुसीराम चौधरी धनगढीमा रिक्सा चलाएर गुजारा गर्छन्। धुलाम्य कच्ची सडकमा हरेक दिन रिक्सा लिएर घरबाट धनगढी आउजाउ गर्न उनले निकै सकस खेप्नुपर्छ । धनगढीबाट करिब सात–आठ किलोमिटर दूरीमा रहेको यो बस्तीसम्म पुग्ने सडक कालोपत्रे छैन ।

गाउँका सडक पनि धुलाम्य छन् । २०६४ कै चुनावमा उम्मेदवारहरूले गाउँमा सडक कालोपत्रे गरिदिने आश्वासन देखाएर मत मागेका थिए । तर, अहिले पनि सडकको अवस्था उस्तै छ । ‘गाउँमा कालोपत्रे सडक छैन । गाडी आउँदा धुलोले हिँडिनसक्नु हुन्छ । बर्खामा हिलाम्य हुन्छ,’ चौधरीले भने, ‘सडककै कारण हामीले धनगढी पुग्न पनि सास्ती खेप्नुपरेको छ ।’
यो मुक्त कमैया बस्तीमा खानेपानीको सुविधा छैन । स्वास्थ्य चौकी नहुँदा सिटामोल लिन पनि करिब एक घण्टाको पैदल दूरीमा रहेको छिमेकी गाउँ सेहरी वा धनगढी पुग्नुपर्छ । दुई दशकयताका हरेक चुनावमा उम्मेदवारहरूले सडक कालोपत्रे गरिदिने आश्वासन दिए ।

खानेपानी सुविधा पुर्याउने र स्वास्थ्यचौकी बनाइदिने भनेर मत मागे ।  अहिलेको चुनावमा पनि यिनै मुद्दाहरू लिएर उम्मेदवारहरू मत माग्न दैनिकजसो धनचौरी मुक्त कमैया बस्तीमा पुगिरहेका छन् । तर, २० वर्षसम्म गाउँमा सडक कालोपत्रे नभएको स्थानीयको गुनासो छ ।

७५ वर्षीय दसीराम चौधरी नेताका आश्वासनमा विश्वास लाग्न छोडेको बताउँछन् । चुनावका वेला मात्र आउने नेताहरू जितेर गएपछि नफर्किएको उनले गुनासो गरे । ‘चुनावका वेला यस गर्छौँ, उसो गर्छौँ भनेर आउँछन्, जितेर गएपछि कोही पनि फर्केनन्,’ चौधरीले भने, ‘चुनावकै वेला हो यो गाउँमा नेताहरूको मुख देखिने ।’

स्थानीयका अनुसार सरकारले कमैया मुक्तिको घोषणा गरेपछि करिब दुई दशकअघि तत्कालीन धनसिंहपुर र बेलादेवीपुर गाविसका करिब पाँच दर्जन मुक्त कमैया परिवारलाई धनचौरीस्थित खुटिया नदीको छेउमा प्रतिपरिवार पाँच कट्ठासम्म जग्गा दिएर पुनर्स्थापना गरेको थियो । नदीको छेउमै रहेका बस्तीका बासिन्दालाई बर्खायाममा नदीले दुःख दिन्छ । खुटियामा आउने बाढी पस्दा बर्खामा डुबान हुन्छ । 

स्थानीय ६० वर्षीय छोटेलाल चौधरीले पुनर्स्थापना भएर धनचौरी शिविर आएपछि चारपटक मतदान गरिसकेका छन् । आफूहरू आउँदा र अहिले गाउँको अवस्थामा कुनै परिवर्तन नआएको उनले बताए । ‘अहिले पनि गाउँमा सडक उस्तै छ । खानेपानी छैन, नल्काको पानी पिउँछौँ, गाउँमा स्वास्थ्यचौकी छैन । आश्वासन देखाउँदै भोट मागेर जितेकाहरूले केही गरेनन्,’ चौधरीले भने ।

खुटिया नदीबाट ढुंगाबालुवा बोक्न बस्तीकै बाटो भएर बिहानदेखि रातिसम्म दैनिक दर्जनौँ गाडी चल्छन् । गाडी आउँदा उड्ने धुलोले सडक छेउछाउका घरमा बसिनसक्नुको स्थिति हुने गरेको छोटेलालले बताए । नजिकै रहेको झोलुंगे पुलको छेउतिर केही मिटर सडक कालोपत्रे छ । 

गाउँका भल्मन्सा राममिलन चौधरीका अनुसार धनचौरी शिविरमा करिब ६० परिवार मुक्त कमैयाको बसोबास छ । सबैजसोका कच्ची घर छन् । उनीहरूलाई रोजगारीको व्यवस्था छैन । अधिकांश स्थानीय नजिकको बजार धनगढीमा मजदुरी गरेर जीवनयापन गर्छन् । कतिपयले खुटिया नदीमा गिट्टी चाल्ने काम गर्छन् । सडक, शिक्षा, खानेपानी, तटबन्धसँगै रोजगारीको आश्वासन देखाएर अहिले पनि उम्मेदवारहरू घरदैलोमा आइरहेका उनले बताए ।

गाउँमा रातबिरात बिरामी परे अस्पताल पुर्याउने गाडी पनि नरहेको उनले गुनासो गरे । मजदुरीदेखि हरेक कामका लागि धनगढी जानुपर्ने भएकाले गाउँदेखि धनगढीसम्मको सडक कालोपत्रे भइदिएको भए पनि आफूहरूलाई धेरै सहज हुने स्थानीय बताउँछन् । धनचौरीबाट धनगढी आउन बिचमा जंगल पर्छ । धनगढीको जाखोरतालसम्म कालोपत्रे सडक छ । जाखोरतालदेखि जंगलमा केही भाग सडक कालोपत्रे गरिएको तीन महिनामै जीर्ण बनेको छ । 

सडक कालोपत्रे नहुँदा अत्तरियामा रहेको नगरपालिका कार्यालय जान धनगढी भएर जानुपरेको स्थानीयले बताए । नगरपालिकाले पनि विकासमा ध्यान नदिएको उनीहरूको गुनासो छ । गाउँमा आठ कक्षासम्म पढाइ हुने समैजी आधारभूत विद्यालय छ । ९–१० कक्षा पढ्न छोराछोरीलाई सेहरीमा रहेको सरस्वती माविमा पठाउने गरेको स्थानीय फूलकुमारी चौधरीले बताइन् । उनका अनुसार अधिकांश बालबालिका बिचमै पढाइ छोडेर मजदुरी गर्छन् । ‘चुनावको वेला मात्र हो नेताहरूले विकास गर्छौँ भन्ने । अहिलेसम्म बाटो त बनेको छैन,’ उनले भनिन् ।        

‘घरको अवस्था देखेर छोराले पनि १२ मा पढाइ छाडेर मजदुरी काम सुरु गर्याे,’ रिक्साचालक खुसीरामले भने, ‘अहिले अर्काको गाडी चलाउँछ ।’ नदीछेउको जमिन भएकाले बैंकले पनि धितो राख्न नमान्ने भएकाले जग्गा धितो राखी ऋण लिएर केही गर्न चाहनेले ऋण नपाएको उनले बताए । मुक्त कमैया शिविरसँगै पश्चिमतिर धनचौरीमा अन्य समुदायको पनि बस्ती छ । विकास सुविधाबाट वञ्चित गाउँभरिको समस्या उस्तै छ ।

भल्मन्सा चौधरीका अनुसार नदीकिनारमा भएकाले मुक्त कमैया शिविर अन्यत्र सार्ने कुरा विगतमा उठेको थियो । यो कुरा केन्द्रमा भूमिसुधार मन्त्रालयसम्मै पुगे पनि काम नभएको उनले बताए । ‘सुकुमवासी बस्तीका समस्या नेताहरूले अब बुझिदिनुपर्छ । नदीमा तटबन्ध, सडक, स्वास्थ्यचौकी, खानेपानीको सुविधा हुनुपर्याे,’ अर्काको ट्याक्टर चलाउँदै आएका चौधरीले भने, ‘तालिम दिएर हामीलाई आयआर्जन र रोजगारसँग जोडिदिनु पर्याे ।’

क्षेत्र नम्बर ५ पर्ने यो क्षेत्रबाट ०६४ र ०७४ मा तत्कालीन माओवादीका नेता लेखराज भट्ट, ०७० मा नेपाली कांग्रेसका दीर्घराज भाट र गत चुनावमा कांग्रेसकै वीरबहादुर बलायर प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका थिए । ०७९ को चुनावमा बलायरसँग पराजित भट्ट यसपालिको चुनावमा एमालेबाट उम्मेदवार छन् । त्यस्तै, कांग्रेसबाट गोरखबहादुर विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम चौधरी, रास्वपाबाट खेमराज कोइराला मुख्य प्रतिस्पर्धामा छन् ।  
      
    

सुझावित समाचार