कुनै पनि निर्वाचनले देशको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?
कुनै पनि निर्वाचनले तत्काल देशमा खपत बढाउँछ । शिथिल अर्थतन्त्रलाई चलायमान गराउँछ । निर्वाचनले सबैभन्दा बढी यातायात क्षेत्रमा सकारात्मक प्रभाव पार्छ । होटेल, रेस्टुरेन्टको आर्थिक क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्छ । किसानको उत्पादनले राम्रो बजार पाउँछ । निर्वाचन प्रचारप्रसार सामग्री तयार गर्ने व्यक्ति तथा संस्थाको व्यापारमा पनि यसले सकारात्मक गति दिन्छ । समग्रमा हेर्दा निर्वाचनले देशको अर्थतन्त्रलाई नै गतिशील गराउँछ ।
निर्वाचन सम्पन्न भइसकेपछि चाहिँ अर्थतन्त्रमा त्यसको असर कति रहन्छ ?
निर्वाचनले दीर्घकालका लागि पनि अर्थतन्त्रलाई ‘बुस्ट’ गर्छ । निर्वाचनपछि जुनसुकै दलको सरकार आए पनि त्यसले आर्थिक वातावरणमा सकारात्मक प्रभाव पार्छ । लगानीमैत्री वातावरण निर्माण हुन्छ । तर, आर्थिक क्रियाकलाप बढेर बजारमा डिमान्ड बढेपछि मूल्यवृद्धि हुन्छ । यसले मुद्रास्फीति दर भने केही बढ्छ ।
निर्वाचनको परिणामले अर्थतन्त्रको भावी दिशा निर्धारणमा कस्तो प्रभाव पार्छ ?
निर्वाचनले देशको अर्थतन्त्रमा प्रभाव त पार्छ नै । अन्य समयको भन्दा यसपटकको निर्वाचन फरक परिवेशमा हुन लागिरहेको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनले भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारीको माग गरेको थियो । त्यसैले, अब जुन–जुन दलको गठबन्धनबाट सरकार बने पनि तिनले भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारी सिर्जनाका क्षेत्रमा काम देखाउनैपर्ने बाध्यता छ । जेन–जी आन्दोलनले देखाएको निराशा चिर्न र आफूहरूमाथि लागेको दाग धोइपखाली गर्न पनि अबका दिनमा आउने सरकारले अर्थतन्त्र सुधारका दिशामा महत्वपूर्ण काम नदेखाई सुख छैन । कम्तीमा पनि नयाँ सरकार बनेको पहिलो वर्षमा देशको अर्थतन्त्र ‘रिट्र्याकिङ’मा जाने निश्चित छ ।