होलीमा कन्सर्ट र भिडभाड गर्न रोक

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले होलीमा भिडभाड नगर्न निर्देशन दिएको छ । आसन्न निर्वाचनलाई ध्यानमा राख्दै आयोगले तडकभडक तथा भिडभाड नगरी होली मनाउन निर्देशन दिएको हो । सोमबार काठमाडौं उपत्यकालगायत पहाडी र हिमाली क्षेत्रमा तथा मंगलबार तराई–मधेशमा होली मनाइँदै छ । 

होलीमा विभिन्न ठाउँमा कन्सर्ट आयोजना गर्नेदेखि भिड जम्मा भएर रमाउने गरिन्छ । तर, विगतमा हुने गरेका यस्ता गतिविधि यसपटक नगर्न आयोगले कडाइ गरेको हो । आयोगका अनुसार कुनै संघसंस्था वा कलाकारले होलीको अवसरमा कन्सर्ट गर्न पाउनेछैनन् । प्रहरीले चोक–चोकमा बसेर सुरक्षा अवस्था कडाइ गर्नेछ ।

‘१८ गते पहाडी र हिमाली क्षेत्रमा, १९ गते तराईमा होली मनाइँदै छ, यो समयमा मौन अवधिसमेत सुरु हुने भएकाले कतै भिड बटुल्ने र चुनावी वातावरण नै बिगार्ने गरी होली मनाउन पाइँदैन,’ निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘७७ वटै जिल्ला प्रशासन कार्यालयलाई हामीले होलीमा सुरक्षा थप कडा पार्न भनेका छौँ ।’ होलीमा हुन सक्ने तडकभडक, अनावश्यक भिडभाडजन्य गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयहरूलाई सुरक्षा अवस्था कडा पार्न निर्देशन दिइसकेको पनि घिमिरेले बताए । 

वसन्तपुरमा विगतमा जस्तो हुनेछैन होली
उपत्यकामा काठमाडौंको वसन्तपुरमा होलीको उल्लास सबैभन्दा बढी हुन्थ्यो । कन्सर्ट आयोजना गर्नेदेखि हजारौँ मान्छे जम्मा भएर होली मनाउने गरिन्थ्यो । तर, यसपालि त्यस्तो नहुने भएको छ । निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै वसन्तपुर दरबार क्षेत्रमा भिड जम्मा भएर होली खेल्न निषेध गरिएको छ । जनसेवा प्रहरी वृत्तले निर्वाचन आचारसंहिताका कारण यस क्षेत्रमा सामूहिक रूपमा होली नखेल्न अनुरोध गरिसकेको छ । तर, होली मनाउन अपनाइने विधि र पूजा भने रोकिनेछैन ।  ‘परम्परागतबाहेक होलीसम्बन्धी कुनै पनि अन्य कार्यक्रम आयोजना नभएको जानकारी सम्पूर्णमा सूचित गराउँदछौँ,’ जनसेवा प्रहरी वृत्तले सूचना जारी गर्दै भनेको छ, ‘नागरिकको दायित्व सबैले बहन गरौँ शान्तिसुरक्षामा सहयोग गरौँ ।’ 

See More On

सुझावित समाचार