सिराहामा स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक पक्राउ

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– ३, महेशपुरबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका– २, श्रीपुर बस्दै आएका २५ वर्षीय विजयकुमार साह रहेको प्रहरीले जनाएको छ। गस्तीमा रहेको प्रहरीले मोटरसाइकल चढेर शंकास्पद अवस्थामा हिँडिरहेका साहलाई रोकेर झोला खानतलासी गर्दा पाँच लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

प्रहरीका अनुसार महेशपुरपतारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले स.७प ८२९५ नम्बरको मोटरसाइकल चढेर बरियारपट्टी हुँदै धनगढीतर्फ आउँदै गरेका साहलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।

झोलामा रहेको पाँच लाख रुपैयाँ नगद कहाँबाट र के प्रयोजनका लागि ल्याइएको हो भन्ने उल्लेख गर्न नसकेका साहले बोकेको मोबाइलमा समेत शंकास्पद नम्बरहरू पाइएपछि तत्काल नियन्त्रणमा लिई महेशपुरपतार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले ८ फागुनमा सिराहाको औरही गाउँपालिका– ५, औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित बरियारपट्टी गाउँपालिका– ३, शिवनगरका करिब २१ वर्षीय सञ्जीवकुमार यादवलाई पक्राउ गरेको थियो।

सुझावित समाचार