उम्मेदवार पर्खिरहेका गाउँ

हिमाली बस्तीमा पुगेन चुनावी चहलपहल, मतदाताले सुनाउन पाएनन् गुनासा

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दल र उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । तर, जुम्लाका खोप्री, सिप्टीमार्फान र हुरीमहरीदेखि ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र ग्याब्लासम्मका हिमाली बस्तीमा भने चुनावी चहलपहल पुगेको छैन । 

हिमाली तथा उच्च पहाडी क्षेत्रका जिल्लामा सदरमुकाम गाउँबस्तीमा उम्मेदवार दोहोर्याइ–तेहेर्याइ पुग्दा दुर्गम बस्तीमा पुगेका छैनन् । सडक, स्वास्थ्य, खानेपानी र विद्युत्जस्ता आधारभूत समस्याले थिचिएका मतदाता आफ्ना गुनासा उम्मेदवारसमक्ष राख्न नपाइने हो कि भन्ने चिन्तामा छन् ।

एउटा निर्वाचन क्षेत्र रहेको जुम्लामा कनकासुन्दरी गाउँपालिका– १, सिप्टीमार्फान गाउँ र पातारासी गाउँपालिका– ३, हुरीमहरीजस्ता विकट बस्तीका मतदाताले उम्मेदवारलाई गुनासा सुनाउन पाएका छैनन् । मार्फानमा रहेको कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा १०५ तथा हुमरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा ३३५ मतदाता छन् ।

तिला गाउँपालिका– ९, खोप्री जुम्लाकै विकटमध्येको बस्ती हो । यहाँ तल्लो खोप्रीमा २१ र माथिल्लो खोप्रीमा ३५ घर छन् । वडा नम्बर ९ मा रहेको तीनवटा मतदान केन्द्रमा भने एक हजार ११७ मतदाता छन् । ती दुई गाउँमा १० उम्मेदवारमध्ये नेकपाका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्र शाही र एमालेका शान्तिलाल महत मात्र पुगेका छन् । यो गाउँ अझै सडक सञ्जालसँग जोडिएको छैन । 

गाउँमा पुगेका उम्मेदवार भण्डारी, शाही र महतलाई स्थानीयले सडक, खानेपानी र बिजुली पुर्याइदिन आग्रह गरे । ‘गाउँमा पुगेर आधारभूत विकासका समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छौँ,’ शाहीले भने, ‘दुर्गम क्षेत्र भएको र प्रचारको अवधि कम भएकाले अन्य दुर्गम क्षेत्र जान सकेका छैनौँ, हामी सम्पर्कमै छौँ ।’

नेकपा उम्मेदवार भण्डारीलाई त्यस त्यहाँका जनताले विकासे नेताको रुपमा हेरेको र त्यहाँका जनताका समस्याहरू खानेपानी, विजुली, सडकविस्तारमा जोड दिने बताए । एमाले उम्मेदवार महतले खोप्री गाउँलाई सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाए । ‘त्यहाँ बिजुली र खानेपानीको पनि समस्या छ । यसलाई पनि प्राथमिकतामा राखेर काम गर्नेछौँ,’ उनले भने ।

माथिल्लो खोप्रीमा रहेको नदैदेवी आधारभूत विद्यालयका शिक्षक छविलाल थापाले यसअघिका चुनावमा पनि उम्मेदवार देख्न नपाएको बताए । तिला गाउँपालिका– ९, राँसा मालापानी र तातोपानी गाउँपालिका– ७, कयरकोटसम्म सडक पुगेको छ । 

तर, त्यहाँबाट १० किलोमिटर सडक जोडेमा खोप्रीगाउँ सडक सञ्जालसँग जोडिने उनले बताए । ‘यिनै दुई ठाउँमध्येबाट एक ठाउँबाट सडक गाउँमा पुर्याइदिन दलका नेता, जनप्रतिनिधिदेखि विकासे अड्डाका हाकिमलाई आग्रह गर्यौँ । तर, कसैले पनि सुनुवाइ गरेका छैनन्,’ उनले भने । 

सडक पूर्वाधार नभएकाले पनि बिजुली, खानेपानीका योजना बन्न सकेका छैनन् । शिक्षा र स्वास्थ्यको समस्या पनि उस्तै छ । गाउँमा सामान्य स्वास्थ्य उपचारका लागि स्वास्थ्य इकाइ सञ्चालन छ । खोप्रीगाउँदेखि प्रसूतिगृह रहेको राँसा मालापानी स्वास्थ्य चौकी करिब नौ किलोमिटर दूरीमा छ । 

माघ दोस्रो साता खोप्रीकी २७ वर्षीया रमिता थापालाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै शिशु जन्मियो । आफन्तले बोकेर बर्थिङ सेन्टर लैजाँदै गर्दा चायापाटनको हिउँमै रमिताले छोरी जन्माइन् । बाटैमा सुत्करी भएपछि रमितालाई घर फर्काइएको थियो । बर्थिङ सेन्टर बोकेर लैजाने क्रममा ६ जनाभन्दा धेरै महिला बाटोमै सुत्केरी भएका थिए । 

माथिल्लो खोप्रीगाउँमा १–८ कक्षासम्म पठनपाठन हुने नदैदेवी आधारभूत विद्यालय छ । विद्यालयमा ६० जना विद्यार्थी छन् । दुई अनुदान शिक्षक र तीन दरबन्दी गरी पाँचजना शिक्षकले अध्यापन गराउँदै आएको शिक्षक थापाले बताए । ‘तल्लो खोप्रीगाउँमा पनि १–६ कक्षासम्म पठनपाठन हुने सामुदायिक विद्यालय छ । यहाँका विद्यालयका भौतिक संरचना पुराना र जीर्ण नै छन् । यो गाउँमा थुपै समस्या छन्,’ शिक्षक थापाले भने, ‘उम्मेदवार गाउँमा आएपछि यिनै समस्या समाधन गर्न माग राखौँला भन्ने हो ।’ 

जुम्लामा कांग्रेसकका दीपबहादुर शाही, एमालेका शान्तिलाल महत, नेकपाका नरेश भण्डारी, रास्वपाका विनिता कठायत, राप्रपाका ज्ञानेन्द्र शाही, नेमकिपाका बिर्खबहादुर रावत, नेकपा माओवादीका बिर्खबहादुर शाही, नेपाली जनता पार्टीका रनिलविक्रम शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल छन् । एक नगरपालिका र सात गाउँपालिकामा ८५ वटा मतदानस्थल र ११० मतदान केन्द्र छन् । जुम्लामा ७१ हजार ७३९ जना मतदाता छन् । महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले बताए ।

ओलाङचुङगोला, घुन्सा र ग्याब्लामा पनि पुगेका छैनन् उम्मेदवार 
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोला तथा वडा नम्बर ६ को घुन्सा र ग्याब्लामा उम्मेदवार पुगेका छैनन् । ओलाङचुङगोलामा २९३, घुन्सामा १७३ र ग्याब्लामा ६९ मतदाता छन् । 

हिमाली भौगोलिक कठिनाइ, अत्यधिक चिसो र निकै हिँड्नुपर्ने भएकाले यी बस्ती चुनावी गतिविधिबाट टाढा छन् । करिब ३१ सय मिटर उचाइमा रहेको घुन्सामा चिसोयाममा रोजगारी र दैनिकीका अवसर सीमित हुँदा आधाभन्दा बढी बासिन्दा हिउँदमा काठमाडौं, धरान र दार्जिलिङतिर पुग्छन् । ‘काम नभएर बाहिरिएको भए पनि भोट हाल्न काठमाडौंबाट फर्किएका घुन्साका स्थानीय डन्डु शेर्पाले बताए । 

ताप्लेजुङकै उच्च स्थानमा पर्ने, करिब ४२ सय मिटर उचाइको याङ्मामा भने बासिन्दा गाउँमै छन् । विगतमा हिउँदयाममा ‘चेने’ क्षेत्रमा झर्ने चलन रहे पनि पछिल्ला वर्षदेखि बस्तीमै बस्न थालेका छन् । मतदान व्यवस्थापनलाई केही सहज बनाउने स्थानीयको अपेक्षा रहे पनि उम्मेदवार पुगेका छैनन् । निर्वाचन कार्यालय ताप्लेजुङका प्रमुख धननाराण श्रेष्ठका अनुसार यसपटक जिल्लाभर ८० मतदानस्थल र १२७ मतदान केन्द्र छन् । 

ओलाङचुङगोला तेन्जिङ्ला शेर्पाले आफूहरूको माग ओलाङचुङगोला जोड्ने तमोर करिडोर निर्माण रहेको बताए । ‘तिपताला नाकासम्म ट्र्याक खुलेको छ, कालोपत्रे गर्नुपर्यो । तमोर नदीमा पुल पनि बनाउनुपर्नेछ,’ उनले भने । 

त्यस्तै, पर्यटकीय क्षेत्र घुन्सा जाने सडक पनि छैन । लेलपको सेकाथुमबाट जौबारीसम्म जाने बाटोमा हातखुट्टा (चारपाउ) टेकेर हिँड्नुपर्ने बाध्यता फक्ताङलुङ– ६, घुन्साका डन्डु शेर्पाले बताए । हिँड्ने बाटोसम्म नहुँदा दैनिक खाद्यान्न सामग्री ढुवाीनमा समस्या रहेको उनले बताए । उम्मेदवार नआउँदा समस्यासमेत राख्न नपाएको उनले गुनासो पोखे ।

एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ उम्मेदवार छन् । कांग्रेस उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङले भौगोलिक विकटताका कारण आफूहरू जान नसके पनि प्रतिनिधि पठाएको बताए । ‘त्यहाँका जनतासँग प्रतिनिधिमार्फत निरन्तर संवाद भइरहेको छ,’ उनले भने । रास्वपा उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले पार्टीका नेताहरू गाउँमा खटिएको बताए । ‘काठमाडौंमा बसोबास गर्ने र गाउँमा भएकासँग फोन संवाद भइरहेको छ,’ उनले भने, ‘त्यहाँका समस्या पहिचान भएका छन् । हामी सम्बोधन गर्छाैँ ।’ 

नेकपाका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री परागले अत्यन्त दुर्गम भएकाले आफू पुग्न नसकेको बताए । उनका अनुसार त्यहाँ जान हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले प्रत्यक्ष रूपमा जान सम्भव नभएको हो । तथापि, प्रतिनिधिहरूले त्यहाँ भोट माग्ने र प्रचारप्रसारको काम गरिरहेको उनको भनाइ छ । ताप्लेजुङमा ८० मतदानस्थल र १२७ मतदान केन्द्र छन् । ९० हजार ३२७ मतदाता छन् ।
 

See More On

सुझावित समाचार