बेइजिङका लागि चुनौतीपूर्ण बन्दै ‘पान्डा कूटनीति’

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण
  • ‘पान्डा कूटनीति’ चीनको सफ्ट पावरको सबैभन्दा प्रभावकारी उपकरणमध्ये एक बनेकोमा शंका छैन । तर, पान्डाहरूलाई कूटनीतिक उपकरणको रूपमा प्रयोग गर्ने कुरामा सीमा देखिएको छ ।

जनवरी २७ मा जापानले आफ्ना अन्तिम दुई जायन्ट पान्डालाई बिदा गर्यो । ‘सियाओ सियाओ’ र ‘लेई लेई’ नामका ती जुम्ल्याहा पान्डा अहिले चीन फर्किसकेका छन् । योसँगै सन् १९७२ पछि पहिलोपटक जापान पान्डाविहीन भएको छ, जुन वर्ष टोकियो र बेइजिङबिच कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको खुसीमा चीनले जापानलाई पान्डा दिएको थियो । 

चीन सरकारले लामो समयदेखि द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन र आफ्नो विश्वव्यापी छवि चम्काउन आफ्नो देशमा मात्र पाइने विशाल पान्डा (जायन्ट पान्डा) ऋणमा वा उपहारमा दिने रणनीति अपनाउँदै आएको छ । ‘पान्डा कूटनीति’ नामले चिनिने यो अभ्यासअनुरूप चीनले विगत ५० वर्षमा जापानमा मात्रै ३० भन्दा बढी पान्डा पठाएको इतिहास छ ।

तर, टोकियो र बेइजिङबिचको सम्बन्ध अहिले तनावपूर्ण छ । गत नोभेम्बरमा जापानकी प्रधानमन्त्री साना ताकाइचीले ताइवानमा चिनियाँ आक्रमण भए आफूहरूले सैन्य प्रतिक्रिया दिन सक्ने भनी टिप्पणी गरेदेखि बिग्रिएको सम्बन्ध अझै सल्टिएको छैन । विवादका बिच चीनले टोकियोको उइनो चिडियाखानामा राखिएका अन्तिम दुई पान्डालाई फिर्ता गर्न निर्धारित गरिएको समयभन्दा एक महिनाअगाडि नै ती जनावर देश ल्यायो । टोकियो महानगरले दुई पान्डाको समयावधि सकिनुअघि अर्को नयाँ पान्डा ऋणमा दिलाउन चीनसँग वार्ता गरिरहेको थियो । तर, विवादका कारण वार्ता स्थगित भयो भने भएका दुई पान्डा पनि फिर्ता गरिएको छ ।

पान्डा कूटनीतिको इतिहास
मित्र देशलाई पान्डा दिने चिनियाँ अभ्यासको इतिहास निकै पुरानो देखिन्छ । यो अभ्यासको प्रमाण कम्तीमा पनि सातौँ शताब्दीसम्म भेटिएको छ । त्यतिवेलाकी महारानी वु जेटियानले सद्भावनाका रूपमा जापानलाई नै दुईवटा पान्डा उपहार दिएको ऐतिहासिक प्रमाण भेटिन्छ । यद्यपि, आधुनिक पान्डा कूटनीतिको सुरुवात भने प्राय: १९७० को दशकबाट सुरु भएको हो । त्यो बेइजिङले सम्बन्ध निर्माणमा प्रयास तीव्र बनाएको दशक थियो, जब उसले धेरै ठुला देशहरूलाई पान्डा उपहार दिएको थियो । यसअन्तर्गत सन् १९७२ मा अमेरिका र जापान, सन् १९७३ मा फ्रान्स र सन् १९७४ मा बेलायत पान्डा उपहार पठाइए ।

तर, प्राकृतिक वासस्थानमा पान्डाको जनसंख्या घट्न थालेसँगै चीनले सन् १९८४ सम्ममा विदेशी मित्र देशलाई पान्डा उपहार दिन बन्द गर्यो । त्यसपछि उसले पान्डाहरू दीर्घकालीन ऋणस्वरूप विदेशी चिडियाखानामा पठाउने अभ्यास अवलम्बन गर्यो । प्राय: १५ वर्ष अवधिका लागि ऋणमा दिइने पान्डाका लागि प्रापक देशका चिडियाखानाले प्रतिवर्ष ‘संरक्षण शुल्क’स्वरूप १० लाख अमेरिकी डलर तिर्नुपर्छ ।

सन् २०१९ पान्डा कूटनीतिका लागि शिखर वर्ष रह्यो, जर्ब चीन, मकाउ तथा हङकङभन्दा बाहिर २१ देश वा क्षेत्रहरूमा पान्डा पठाइएका थिए । सो वर्ष पान्डा रहेका देश वा भेगमा दक्षिण कोरिया, इन्डोनेसिया, मलेसिया, सिंगापुर, कतार, रुस, ताइवान, जर्मनी, स्पेन, अस्ट्रिया, डेनमार्क, बेल्जियम, मेक्सिको, अस्ट्रेलिया, थाइल्यान्ड, फिनल्यान्ड, क्यानडा, जापान, नेदरल्यान्ड्स, अमेरिका र बेलायत थिए । अहिले त्यस्तो देशको संख्या घटेर १६ पुगेको छ । यो गिरावटका लागि चीनले पान्डा कूटनीतिका लागि चयन गर्ने देशका लागि अपनाएको होसियारी पनि जिम्मेवार छ । 

चिनियाँ नागरिकहरू जायन्ट पान्डालाई देशको राष्ट्रिय सम्पदा मान्ने भएकाले योसँग चिनियाँहरू गहिरो भावनात्मक अपनत्व महसुस गर्छन् । यही महŒवको कारण, विदेशमा पान्डाहरूमाथि दुव्र्यवहार हुँदा बेइजिङले स्वदेशमा राष्ट्रवादी वृत्तबाट तीव्र प्रतिक्रिया सामना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, सन् २०२३ मा अमेरिकाको मेम्फिस चिडियाखानामा प्राकृतिक कारणले ‘ले ले’ नामक भाले पान्डाको मृत्यु भयो । त्यहीवेला उसँग बस्ने पोथी पान्डा ‘या या’ दुब्लाएको र बिरामी भएजस्तो देखिने तस्बिर अनलाइनमा देखापरे । 

लगत्तै चिनियाँ सामाजिक सञ्जालमा अमेरिकी चिडियाखानामा पान्डाहरूमाथि दुव्र्यवहार भएको हुन सक्ने अनुमान सुरु भयो । केहीले पान्डामाथि भएको सम्भावित दुव्र्यवहारमा अमेरिकाले चीनप्रतिको दुव्र्यवहार देखे । ‘हाम्रो राष्ट्रिय सम्पदामाथिको यस्तो व्यवहार गर्नु चीनलाई अपमानित गर्ने र चिड्याउने प्रयास हो,’ सामाजिक सञ्जालमा धेरै चिनियाँले यस्तो आयसका टिप्पणी गर्न थाले । चिनियाँ विदेश मन्त्रालयले दुवै पान्डालाई अमेरिकी चिडियाखानामा ‘राम्रोसँग हेरचाह’ गरिएको जोड दिँदासमेत आलोचना नरोकिएपछि पोथी पान्डा ‘या या’को बसाइ छोट्याएर फिर्ता गर्नुपर्यो । यसपटक जापानमा रहेका दुई पान्डालाई छिट्टै फिर्ता गर्नुपछाडि पनि तीव्र सार्वजनिक प्रतिक्रियाबाट बच्ने चाहनाले काम गरेको हुन सक्ने विश्लेषण भइरहेको छ । 

‘पान्डा कूटनीति’ चीनको सफ्ट पावरको सबैभन्दा प्रभावकारी उपकरणमध्ये एक बनेकोमा विवाद छैन । यो कुरा जापानको उइनो चिडियाखानाबाट जुम्ल्याहा पान्डा सियाओ सियाओ र लेई लेईलाई फिर्ता गरिने घोषणापछि र फिर्ता गरिनुअघिको एक महिनामा उनीहरूको झलक हेर्नकै लागि चिडियाखाना पुगेको एक लाख ७८ हजार आगन्तुकको विशाल संख्याले नै बताउँछ । चिडियाखानामा पान्डा हेर्नेको थेग्न नसक्ने भिड हुनथालेपछि त्यहाँ पान्डा रहेको भागमा आगन्तुकहरूको संख्या प्रतिदिन ४,८०० जनामा सीमित गर्नुपरेको थियो । 

तर, पान्डाहरूलाई कूटनीतिक उपकरणको रूपमा प्रयोग गर्ने कुराका सीमाहरू छन् । यो केवल चीनभित्र पान्डासँग जोडिएर उत्पन्न हुने राष्ट्रवादी भावनाको जोखिमसँग मात्र सम्बन्धित छैन । द्विपक्षीय सम्बन्ध सुधार्नका लागि पान्डाजस्तो दुर्लभ जीव दान गर्ने वा ऋणमा दिने चिनियाँ अभ्यासको संरक्षणविद् तथा पशु अधिवक्ताहरूले पहिलेदेखि आलोचना गर्दै आएका छन् । यो अभ्यासले उक्त जीवको संरक्षणलाई असर गर्ने तिनको चिन्ता छ । पान्डाहरू राख्ने विदेशी चिडियाखानाले चीनमा रहेका पान्डाको संरक्षणस्वरूप भन्दै बर्सेनि लाखौँ अमेरिकी डलर पठाउँछन्, तर अझै यो जीव अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको ‘भल्नरेबल अर्थात् असुरक्षित’भनिने सूचीमा कायम छ । 

मूलत: पान्डा कूटनीति एक नाजुक सन्तुलन कार्य हो । यसले चीनको अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउन निश्चय नै मद्दत गरेको छ । तर, चीनको यो कूटनीतिक दूत राजनीतिक वा संरक्षणसम्बन्धी विवादमा तानिँदा भने बेइजिङ अप्ठ्यारो खालको सार्वजनिक प्रतिक्रियाको निसाना बन्ने गरेको छ ।

(लेखक नटिंघम विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । यो लेख ‘द कन्भरसेसन’बाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)

See More On

सुझावित समाचार