जल तथा मौसम विज्ञान विभागले आगामी एक साताको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । विभागका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन २१ फागुनमा पानी तथा हिमपातको सम्भावना न्यून छ ।
विभागले शुक्रबार सार्वजनिक गरेको निर्वाचन विशेष मौसम बुलेटिनमा पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहने उल्लेख गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मंगलबारसम्म केही क्षेत्रमा वर्षाको सम्भावना भए पनि निर्वाचनको दिन त्यस्तो सम्भावना न्यून रहेको छ।
तराईका जिल्लामा भने वर्षा हुने कुनै सम्भावना छैन । १५ फागुनदेखि २१ फागनुसम्म बिहानको समयमा हुस्सु र दिउँसो केही ठाउँमा तुवाँलो लाग्ने देखिन्छ तथा पानी पर्ने भने कुनै सम्भावना नरहेको मौसमविद् अधिकारीले भने ।
कोशी प्रदेशको पहाडी क्षेत्रमा भने आइतबारदेखि मंगलबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । चुनावकै दिनमा भने यस्तो सम्भावना अझै कम रहेको अधिकारीले बताए ।
‘कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँहरूमा शुक्रबारदेखि मंगलबारभित्र हल्का हिउँ वा पानी पर्ने सम्भावना छ,’ उनी भन्छन्, ‘चुनावको अघिल्लो दिन र चुनावकै दिन अर्थात् २० र २१ गते प्रदेशमा हिउँ वा पानी पर्ने थोरै मात्र सम्भावना छ ।’
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा भने शुक्रबारदेखि मंगलबारसम्म हल्का हिउँ वा पानी पर्ने सम्भावना रहेको र चुनावकै दिन भने यस्तो सम्भावना न्यून रहेको विभागले जनाएको छ।
यो वर्ष फागुनमा चुनाव हुन लागेकाले हिमाली क्षेत्रमा मौसमको चुनौती हुने अनुमान गरिएको थियो । यद्यपि, पछिल्लो विश्लेषणअनुसार केही ठाउँमा सामान्य वर्षा वा हिमपात भए पनि ठूलो चुनौती रहेको गृह मन्त्रालयले जनाएको छ।

भिडियो-