कांग्रेस नयाँ संकल्पसहित आएको छ, सुशासन र विकासका लागि मत दिनुस् : सभापति थापा

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष कांग्रेसले मौका पाउनुपर्ने बताएका छन्। कांग्रेसको चुनावी सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै थापाले सुशासन र विकासका लागि कांग्रेसलाई मत दिन आग्रह गरे।

पाँच वर्ष अर्को कुनै प्रयोग गर्नेतर्फ नलाग्न आग्रह गर्दै उनले कांग्रेसले आगामी पाँच वर्ष एकछिन पनि विश्राम नलिई देश र जनताको पक्षमा काम गर्ने दृढता व्यक्त गरे। मुलुकमा चर्का कुरा गरेर नहुने भन्दै उनले गाउँ, सहर, नयाँ, पुराना सबैलाई मिलाउँदै, छरछिमेकबिच सन्तुलन मिलाएर अगाडि बढ्न कांग्रेसले जित्नुपर्ने बताए।

कांग्रेस हिजोका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्छु भनेर नयाँ संकल्पसहित आएको चर्चा गर्दै सभापति थापाले पार्टीले एउटा अर्को मौका पाउनुपर्ने बताए। कांग्रेसले पाँच वर्षभित्र परिणाम दिने प्रतिज्ञा गरेर आएको भन्दै उनले कांग्रेसले मौका पाउनुपर्नेमा जोड दिए। कांग्रेसको सरकार बनेपछि प्रत्येक महिना कामको योजनासहित अगाडि बढ्ने र महिना पुगेपछि कामको समीक्षा गर्दै थप काम गर्दै अगाडि बढ्ने उनले बताए।

पहाडको अर्थतन्त्रलाई सहरको अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकतादेखि मुलुकको विकासका लागि कांग्रेसले स्पष्ट खाका बनाएर अगाडि बढ्ने धारणा राखे।

पार्टीका नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचारप्रसारका लागि घरघर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गर्दै भने, ‘तपाईंहरू एक ढिक्का भएर घरघरमा जानुहोस्, कांग्रेसले देशलाई निराश बनाउँदैन भनेर विश्वास दिलाउनुहोस्।’

सुझावित समाचार