निर्वाचन सुरक्षाले गर्दा यस वर्षको होली पर्वमा सार्वजनिक भोजभतेर गर्न, डिजे बजाएर सांस्कृतिक कार्यक्रम गर्न अनि मस्जिदमा भेला आयोजना गरेर रमजान पर्व मनाउन प्रशासनले रोक लगाएको छ ।
१८ फागुन रातिदेखि निर्वाचनको मौन अवधि लागू हुने भएकाले १९ फागुन मंगलबारका दिन पर्ने होली पर्वमा सार्वजनिक भोजभतेर नगर्न र डिजेबाजा बजाएर सांस्कृतिक कार्यक्रम गर्न र मस्जिदमा भेला आयोजना गरेर रमजान पर्व मनाउन जिल्ला प्रशासन मोरङले रोक लगाएको हो ।
सार्वजनिक भेला र होहल्लाले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने भएकाले घरपरिवारका सदस्यहरूबिच घरभित्रै शान्तपूर्वक सभ्य तरिकाले मनाएर निर्वाचन प्रक्रियालाई शान्त बनाउन जिल्लावासीलाई आग्रह गरेको मोरङका सहायक जिल्ला अधिकारी सरोज कोइरालाले बताए।
सिडिओ कोइरालाका अनुसार होली पर्वमा मादकपदार्थ सेवन गरेर होहल्ला गर्दै डिजे बनाएर सांस्कृतिक कार्यक्रम गरेर निर्वाचनविरोधी गतिविधि गरेमा तुरुन्तै नियन्त्रणमा लिएर कारबाही गरिनेछ ।
तराईमा होलीपर्वको दिन सार्वजनिक भोजभतेर आयोजना गरेर त कतै डिजे कार्यक्रमहरू आयोजना गरेर नाचगान गर्दै तामझामसहित होली पर्व मनाउने चलन छ ।
यसैगरी मुस्लिम समुदायलाई पनि निर्वाचन मौन अवधिमा पर्ने रमजान पर्व पनि शान्तपूर्वक सीमित रूपमा मनाउन मोरङ प्रशासनले आग्रह गरेको छ ।
मस्जिद र सार्वजनिक स्थलहरूमा ठुला सभा र भेलाहरू आयोजना गर्दा निर्वाचनको मौन अवधि आचारसंहिता उल्लंघन हुने भएकोले सीमित रूपमा घरभित्रै १९ देखि २१ फागुनमा पर्ने रमजान पर्व मनाउन प्रशासनले मुस्लिम समुदायलाई आग्रह गरेको हो ।
मंगलबार रातिदेखि सीमानाका बन्द
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लास्थित नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । मोरङ प्रशासनका अनुसार फागुन १९ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म अत्यावश्यक सेवाबाहेक मोरङ जिल्लाका सबै सीमानाका बन्द रहनेछन् ।