बराबरीमा रोकिँदा प्लानिङ ब्वाइज युनाइटेडले एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्लानिङ १० खेलाडीमा सीमित न्युरोड टिम (एनआरटी)सँग १–१ को बराबरीमा रोकियो । प्लानिङले सुरुमै लिएको अग्रतासमेत जोगाउन सकेन । एनआरटीलाई हराएको अवस्थामा पहिलोपटक राष्ट्रिय लिग खेलिरहेको प्लानिङले शीर्ष स्थानमा रहने थियो । सहिद स्मारक ‘बी’ डिभिजनबाट प्लानिङ ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो । टोलीले ‘ए’ डिभिजनको अनुभव बटुल्न बाँकी नै छ । राष्ट्रिय लिगमा भने सानदार प्रदर्शन गरिरहेको छ ।
हाल आठ खेलमा प्लानिङ १७ अंकका साथ दोस्रो स्थानमा छ । विभागीय टोली एपिएफ एफसी सात खेलमा १९ अंकसहित शीर्ष स्थानमा छ । अहिले आठ खेलमा १५ अंक जोड्दै एनआरटी पाँचौँ स्थानमा छ । यसअघि कप्तान प्रतापसिंह राईले पहिलो हाफको ४१औँ मिनेटमै अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै इन्जुरी समयमै विदेशी खेलाडी टिमोथी ओकेरेकेले एनआरटीलाई बराबरीमा फर्काए ।
तर, खेलको ८६औँ मिनेटमा एनआरटी दश खेलाडीमा सीमित भएको फाइदासमेत प्लानिङले लिन सकेन । विदेशी रक्षक ओमोलाजा नुरैन करिम दोहोरो पहँेलो कार्ड बेहोर्दै बाहिरिएका थिए । अञ्जन विष्टको कप्तानीमा रहेको एनआरटी रक्षात्मक खेल खेल्दा अंक जोगाउन सफल भएको थियो । घाइते भएका अञ्जन दुई महिनापछि मैदानमा फर्किएका हुन् ।
कमजोर जनजागृतिविरुद्ध पुलिसको सात गोल
विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय लिगमा नवजनजागृति क्लबविरुद्ध सानदार जित निकालेको छ । बिहीबार नै भएको खेलमा पुलिसले ७–० को जित निकालेको हो । चेतकुमार घिमिरेको प्रशिक्षणमा रहेको पुलिसको लिगमा दोस्रो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धीरेन्द्रबहादुर शाह र सञ्जीव लामाले समान दुई गोल गरेका थिए । दशरथ गिरी, भरत शाह र विजय उरानले समान एक गोल गरेका थिए । पुलिसले पहिलो हाफमै पाँच गोल गरेको थियो । दोस्रो हाफमा दुई गोल सम्भव भयो । जितसँगै पुलिस सात खेलमा ७ अंक जोड्दै अंकतलिकाको ११औँ स्थानमा उक्लिएको छ । समान खेलमा जनजागृतिले खाता खोल्न सकेको छैन । टोली पुछारमा रहेको छ ।
जावलाखेललाई आर्मीले हरायो
राष्ट्रिय लिगको दिनको तेस्रो खेलमा विभागीय टोली आर्मीले जावलाखेल युथ क्लबलार्ई २–० ले हरायो । लिगमा आर्मीको यो चौथो जित हो । सात खेलमा १४ अंक जोडेको आर्मी पाँचौँ स्थानमा छ । जावलाखेल ९ अंकसहित आठौँ स्थानमा छ । आर्मीविरुद्ध जित निकालेको अवस्थामा जावलाखेललाई अंक दूरी घटाउने अवसर थियो ।