ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा व्यस्त रहेको मौकामा ट्राफिक नियम उल्लंघन गर्ने गतिविधि बढ्दा सडक अस्तव्यस्त बन्न थालेका छन् । सामान्यतया एक हजार ६ सय ट्राफिक प्रहरी खटिने उपत्यकाका सडकमा अहिले २५० मात्रै छन् । अधिकांश ठाउँमा निर्वाचन प्रहरीले ट्राफिक व्यवस्थापनमा भूमिका निर्वाह गरिरहे पनि कारबाहीको अधिकार नभएकाले प्रभावकारी छैन ।
यही वेला काठमाडौं महानगर क्षेत्रका सडकमा नगर प्रहरीको उपस्थिति पनि पातलो देखिन्छ । जसले सडकमा जथाभावी पार्किङसँगै फुटपाथ व्यापारसमेत बढ्न थालेपछि ट्राफिक व्यवस्थापन जटिल बनेको हो । न्युरोड, टेकु, चाबहिल, नयाँ बसपार्क, बागमती करिडोर, धोबीखोला करिडोरलगायत क्षेत्रमा सडक तथा फुटपाथमा पार्किङ बढेको छ । त्यस्तै, सुन्धारा, गौशाला, नयाँ बानेश्वर, कोटेश्वर, नयाँ बसपार्कलगायत क्षेत्रको सडकमा बेलुकी फुटपाथ व्यापार बढिरहेको छ । जसकारण कार्यालय समयमा जाम बढ्न थालेको छ ।
अनधिकृत पार्किङ हटाउने र पार्किङ व्यवस्थित गर्ने जिम्मा नगर प्रहरीको हो । ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएका वेला नगर प्रहरी परिचालन बढाउनुपर्ने हो । तर, ट्राफिक प्रहरीको उपस्थिति खासै देखिँदैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी अहिले ट्राफिक प्रहरी निर्वाचनमा खटिएकाले कारबाही कमजोर भएको स्वीकार गर्छन् । ‘अहिले सडक र फुटपाथमा पार्किङ अलि बढेको छ, हाम्रो जनशक्ति निर्वाचनमा केन्द्रित भएकाले जथाभावी पार्किङ गर्नेलार्ई चुस्त रूपमा कारबाही गर्न सकेका छैनौँ,’ उनले भने ।
नगर प्रहरीको उपस्थिति पातलिएको सम्बन्धमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने आफू अनभिज्ञ रहेको बताउँछन् । ‘नगर प्रहरी कति संख्यामा खटिएका छन् भन्ने विषयमा मलाई थाहा छैन । दिउँसोको समयमा पार्किङ र फुटपाथको अवस्था हिजो जस्तो थियो, त्यहीअनुसार व्यवस्थित गर्ने सवालमा महानगर कटिबद्ध छ,’ उनले भने, ‘तर, साँझ ५ बजेपछि भने हल्का खुकुलो गरौँ भन्ने निर्णय भएको छ । कार्यालय समय सकिएपछि पार्किङ गर्दा खासै फरक पर्दैन । दिउँसोमा त नगर प्रहरीले कडाइ गरिरहेको छ ।’
काठमाडौं महानगरकै एक कर्मचारी भने पछिल्लो समय नगर प्रहरीको सक्रियता कम भएको बताउँछन् । ‘अहिले नगर प्रहरी पहिलेजस्तो सक्रिय छैन, सोही कारण सडक अस्तव्यस्त हुन थालेको छ,’ ती कर्मचारीले भने, ‘नियम बसिसकेको कुरा पालना गर्नु, गराउनु नगर प्रहरीको दायित्व हो, त्यसलाई भत्काउनुहुँदैन ।’
ट्राफिक व्यवस्थापनमा खटिँदै निर्वाचन प्रहरी
ट्राफिक प्रहरी निर्वाचनमा खटिएपछि सडक व्यवस्थापनमा निर्वाचन प्रहरी खटाइएको छ । तर, जरिवाना तोक्नेलगायत कारबाही गर्ने अधिकारी नभएकाले उनीहरूको भूमिका प्रभावकारी छैन । अहिले काठमाडौंका ठुला चोकमा एक ट्राफिक प्रहरी र चारजनासम्म निर्वाचन प्रहरी खटाइएको छ । सवारीचालकले निर्वाचन प्रहरीको बेवास्ता गर्दै ट्राफिक नियम उल्लंघन गर्न थालेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी अधिकारीले हाल उपत्यकाका तीन जिल्लामा २५० ट्राफिक प्रहरी मात्रै खटिएको बताए । ‘अधिकांश जनशक्ति निर्वाचनमा खटिनुपर्दा ट्राफिक व्यवस्थापनमा उपत्यकाभर २५० मात्रै ट्राफिक प्रहरी खटाएका छौँ, साथै निर्वाचन प्रहरी पनि ट्राफिक व्यवस्थापनमा खटिएका छन्,’ उनले भने, ‘अन्य समयमा जस्तो पर्याप्त ट्राफिक प्रहरी सडकमा खटाउन सक्ने अवस्था अहिले छैन ।’ उपत्यकामा सामान्यतया एक हजार ६०० ट्राफिक प्रहरी खटाउने गरिएको थियो ।
पुल क्षेत्रमा मर्मत गर्न अवरोध
हाल उपत्यकाका केही सडकमा निर्माण तथा मर्मतको काम भइरहेको छ । यसले पनि सडकमा चाप बढाएको छ । टुकुचा खोलामाथि कल्भर्ट निर्माण गर्न लागिएका कारण एक सातादेखि बागबजार पिके क्याम्पस हुँदै पुतलिसडक निस्किने सडक बन्द छ । त्यस्तै, तीनकुनेस्थित पुलमुनिको सडक पनि बन्द नै छ । त्यसैगरी, ढल व्यवस्थित गर्न भन्दै वीर अस्पतालअगाडिको सडक खनिएको छ । चाबहिल, सिफल, पुरानो बानेश्वर, मैतीदेवी क्षेत्रका भित्री सडकसमेत मर्मतका कारण अवरोध छन् । ढल मर्मत, बिजुलीको तार भूमिगत गर्न ती सडक बन्द गरिएको हो ।