नेपाल र भारतले जैविक विविधता र वन्यजन्तुको अपराध नियन्त्रणमा सहकार्य गर्ने भएका छन् । दुवै देशका सरकारबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्र (एमओयू) भएसँगै संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तुको अपराध नियन्त्रणका लागि औपचारिक रूपमा समन्वय र सहकार्य गर्ने बाटो खुलेको छ ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले बुधबार नयाँदिल्लीमा एमओयूमा हस्ताक्षर गरेका हुन् । दुवै देशले वन्यजन्तुको सीमापार अपराध नियन्त्रण र नियमन गर्न दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन)लाई वन्यजन्तु अपराधसम्बन्धी सूचना आदानप्रदान गर्न सक्ने व्यवस्था समझदारीपत्रमा उल्लेख छ ।
वन मन्त्रालयका प्रवक्ता महेश्वर ढकालका अनुसार जैविक विविधता संरक्षणसँग यसबाट मिल्ने लाभ लिनका लागि यो समझदारीले बाटो खोलेको छ ।
एमओयू कार्यान्वयनले दुवै देशका सीमाआसपासको क्षेत्रमा नियमित गस्ती तथा बैठक आयोजना गरी अनुभव तथा ज्ञान आदानप्रदान गर्न, असल अभ्यासको विकास र विस्तार गर्न तथा वन्यजन्तु र वनपैदावारको चोरी निकासीबारे तत्काल सूचना आदानप्रदान गरी दुवै देशको जैविक विविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए । साथै, वन्यजन्तुबारे अध्ययन–अनुसन्धान तथा अनुगमन गर्न तथा स्थानीयस्तरमा जनचेतना र क्षमता विकास गर्न अपेक्षा गरिएको छ ।
नेपाल र भारत संयुक्त राष्ट्र संघअन्तर्गत जैविक विविधतालगायत विभिन्न वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र हुन् ।