रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका संवाददाता अर्जुन आचार्यमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका छन्। कमल गाउँपालिका– २ स्थित जीवन चोकमा भिडियो खिच्ने क्रममा आचार्यमाथि आक्रमण गर्दै मोबाइल खोसेका हुन्।
एमाले अध्यक्ष तथा झापा ५ का उम्मेदवार केपी ओलीको घरदैलोका क्रममा भिडियो खिच्दा आचार्यमाथि आक्रमण भएको हो। एमालेको नेसनल भोलेन्टियर्स फोर्सको टोपी लगाएका कार्यकर्ताले आक्रमण गरेको पत्रकार आचार्यले जानकारी दिए।
‘घरदैलोका क्रममा एमाले कार्यकर्ताहरूले भोट केमा भन्दै नारा लगाए। कमलका केही महिलाहरुले बाहिरबाट घण्टीमा भन्दै थिए। एमाले कार्यकर्ताले अश्लील शब्दले ती महिलालाई गाली गरे। त्यहाँ वादविवाद भयो,’ उनले भने, ‘त्यसक्रममा भिडियो खिच्दा मोबाइल खोसेर मलाई आक्रमण गरे।’
मोबाइल खोज्दै आचार्यलाई गाडी पछाडि लगेर एमाले कार्यकर्ताले कुटपिट गरेका थिए। एमाले कार्यकर्ताको आक्रमण गर्दा आचार्यको चस्मा फुटेको छ। उनीहरुको आक्रमणबाट शरीरका विभिन्न भागमा दुखाई भइरहेको आचार्यले बताए। आचार्यको शरीरमा निलडामसँगै घाउसमेत देखिएको छ। उनीहरुलाई एमाले कार्यकर्ताले ‘दमकमा देखाइदिने’ धम्की दिएपछि रातोपाटी टिम विराटनगर फर्किएको छ। आचार्यको खोसिएको मोबाइलसमेत फिर्ता दिएका छैनन्।
घटनाबारे प्रहरीलाई जानकारी गराएको पत्रकार आचार्यले जानकारी दिए। विराटनगर बसेर पत्रकारिता गर्दै आएका आचार्य रातोपाटीमा आबद्ध छन्। इलेक्सन इपिसेन्टर मानिएको झापामा आचार्यसहित रातोपाटी टिम बिहीबार रिर्पोटिङका लागि पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले घटनाबारे जानकारी पाएको बताइन्। यद्यपि औपचारिक रूपमा आचार्य प्रहरी कहाँ नगएको उनले बताइन्।
‘समाचार पढेपछि घटनाबारे जानकारी भयो। हामीले उहाँलाई सम्पर्क गर्यौँ। तर, औपचारिक रूपमा प्रहरीकहाँ आउनुभएको छैन,’ उनले भनिन्, ‘वास्तविक के भएको हो हामी बुझ्दैछौँ।’