सेमिफाइनल दौडबाट बाहिरियो श्रीलंका

लगातार दुई खेलमा पराजित श्रीलंका सुपर ८ को समूह ‘२’ मा अंकविहीन

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वविजेता श्रीलंका १०औँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिएको छ । विश्वकपअन्तर्गत सुपर ८ को समूह ‘२’ मा आयोजक श्रीलंका न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो । पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा सात विकेट गुमाएर १६८ रन जोडेको थियो । प्रत्युत्तरमा श्रीलंका आठ विकेट गुमाउँदै १०७ रनमै रोकियो । 

श्रीलंकाले लगातार दुई खेल गुमाएको छ । यसअघि श्रीलंका इंग्ल्यान्डसँग पनि पराजित भएको थियो । दुई खेलमा श्रीलंका अंकविहीन छ । जितसँगै ३ अंक जोड्दै न्युजिल्यान्डले सेमिफाइनल आशा बलियो बनाएको छ । समूह ‘२’ बाट अब पाकिस्तान र न्युजिल्यान्डमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ । यो समूहबाट इंग्ल्यान्ड लगातार दुई जितका साथ अन्तिम चारमा पुगिसक्यो । आगामी शनिबार पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ । इंग्ल्यान्ड र न्युजिल्यान्डबिच शुक्रबार खेल हुनेछ । न्युजिल्यान्डको जितमा रचिन रबिन्द्राले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा २२ बलमा ३२ रन जोडेका थिए । बलिङमा २७ रन खर्चेर चार विकेट हात पारे । 

श्रीलंकाले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो । ओपनर पाथुम निसांका हेन्रीको पहिलो बलमै बोल्ड हुन पुगे । त्यसपछि श्रीलंका खेलमा फर्कन सकेन । श्रीलंकाले ८.२ ओभरमा २९ रन बनाउँदा प्रमुख चार ब्याट्सम्यानलाई गुमागएको थियो । मध्यक्रमका कमिन्दु मेन्डिसले मात्र २३ बलमा ३१ रन बनाउन चार चौका प्रहार गरे । नवौँ क्रमका दुनिथ वालालागेले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरी २९ रन जोडे । यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि मिचेल सान्टरले २६ बलमा ४७ रनको योगदान दिएका थिए । उनले चार छक्का र दुई चौका प्रहार गरे । कोले म्याकले २३ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३१ रन जोडे । 

सुझावित समाचार