बालिका अपहरण प्रकरणमा जिल्ला अदालत मकवानपुरले रौतहटको दुर्गाभगवती गाउँपालिका– ४ का वडाध्यक्ष रामानन्द प्रसादलाई पुर्पक्षका लागि जेल जलान गरेको छ । अदालतका न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले उनलाई जेल चलान गर्ने आदेश गरेको हो । उनीमाथि दुर्गाभगवती गाउँपालिका– ४ छतौनाकी १४ वर्षीया बालिका अपहरणको अभियोग छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी ११ फागुनको बहसमा अदालत उपस्थित भएका थिए । अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई अहिले मकवानपुरस्थित भीमफेदी कारागारमा राखिएको छ ।
‘प्रतिवादी रामानन्द प्रसादलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षका लागि कानुनबमोजिम सिधा खान पाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिई कारागार कार्यालय भीमफेदी मकवानपुरमा थुनामा राख्न पठाइदिनू,’ अदालतको आदेशमा भनिएको छ ।घटनामा जोडिएका शंकर राय यादवलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ । रामाज्ञा राय यादव र बुचानी भनिने राजेश यादवलाई भने हाजिर जमानीमा छाडिएको छ । घटनामा संलग्न रान्धिर यादव, अनितादेवी यादव, मनतजिर यादव, मेनुकाकुमारी यादव र काजलकुमारी यादव भने फरार छन् ।
प्रहरीका अनुसार गत २ पुसदेखि बेपत्ता दुर्गाभगवती गाउँपालिका– ४ छतौनाकी १४ वर्षीया बालिकाको अवस्था अज्ञात छ । बालिकालाई छतौनाकै २० वर्षीय दिलीप यादवले भारतको बिहार लिएर गएको प्रहरीको भनाइ छ । बालिका फेला नपरेपछि प्रहरीले दिलीपका बुवा रामाज्ञा राय यादव र उनका साथी राजेश यादवलाई पक्राउ गरेको थियो ।
बालिकालाई छतौनाकै २० वर्षीय दिलीपले गत २ पुसको राति मकवानपुरको हेटौँडाबाट भगाएर लगेका थिए । त्यसयता बालिका र दिलीप सम्पर्कमा छैनन् । रामाज्ञा राय दिलीपका बाबु र राजेश उनका साथी हुन् । बालिका हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार एकाएक सम्पर्कविहीन भएलगत्तै बालिकाका बुवा नेमलाल राय यादवले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय रौतहटमातहतको इलाका प्रहरी कार्यालय गंगापिपरामा जाहेरी दिएका थिए ।