धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडामा भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्याउने स्थानीय अरुण थपलियालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्मान गरेको छ।
बुधबार एक कार्यक्रमका बिच प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले खादा लगाइदिएर सम्मान गरेका हुन्। बेनिघाट रोराङ गाउँपालिका–५, चरौँदीका स्थानीय र्याफ्टिङ व्यवसायी थपलियाले व्यक्तिगत र्याफ्टको प्रयोग गरी २४ जना घाइतेको उद्धारको काममा सुरक्षाकर्मीहरूलाई सहयोग गरेका थिए। यही फागुन ११ गते साँझ पोखराबाट काठमाडौं आइरहेको यात्रुवाहक बस सोमबार बिहान करिब १ः३० बजे धादिङको भैँसीगौँडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । गृह मन्त्रालयले समिति गठन गरी सो घटनाको छानबिन थालेको छ।