लामो खडेरीपछिकाे वर्षाले संखुवासभाका कृषक खुसी

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

हिउँदको लामो समयको खडेरीपछि पहाडी जिल्ला संखुवासभामा मंगलबार र बुधबार पानी परेको छ। जिल्लाको उच्च पहाडी भेगहरू किमाथांका, भोटखोला, मकालु, सिलिचोङ, सभापोखरी, तिनजुरे—मिल्के–जलजले (टिएमजे) क्षेत्रको गुफापोखरी, चौकी मंगलबारे र सदरमुकाम खाँदबारीआसपासका क्षेत्रमा पानी परेपछि कृषकहरू खुसी भएका छन्।

करिब पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्न थालेको अवस्थामा पानी परेपछि कृषकहरू खुसी भएका हुन्। कात्तिकदेखि फागुन दोस्रो साता बित्न लाग्दासमेत जिल्लामा वर्षा भएको थिएन।

जिल्लाको उच्च र मध्य पहाडी क्षेत्रमा पानीसहित असिनासमेत परेको छ। हिमपात र पानीका कारण चिसो बढे पनि घाम लाग्न थालेपछि गर्मी ह्वात्तै बढ्ने स्थानीयवासीहरू बताउँछन्। लामो समयपछि पानी परेकाले हिउँदे बालीनाली सप्रने भन्दै किसानहरू खुसी छन्।

लामो समयदेखि पानी नपर्दा तोरी, गहुँ, आलु, साग, गोभी नफस्टाइरहेको बेला वर्षाभएपछि तरकारी र बालीनाली राम्रो हुने आशा जागेको खाँदबारी–४ का स्थानीय कृषक मनबहादुर गुरुङले बताए। सिँचाइ गरेकोभन्दा आकाशबाट आएको पानीले सुक्खा जमिन भित्रैसम्म भिज्ने भएकाले मलजल पुग्ने उनको भनाइ छ।

यसैगरी, मकालु गाउँपालिकाका अनिश गुरुङले हिउँदमा पानी नपरेर अलैँचीसमेत बोटमा नै मर्न थालेको अवस्थामा पानी परेपछि अब फष्टाउने बताए। ‘अलैँची बगानमा हिउँ जम्यो भने चिसोका कारण त्यहाँ भएका किटाणुहरू मर्ने र अलैँची सप्रने गरेको पाइयो। हिउँदमा अलैँची बगानमा हिउँ परेन भने खाँसै अलैँची फल्दैन,’ गुरुङले भने।

सुझावित समाचार